- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारमा गएपछि पार्टीभित्र झनै भाँडभैलो भएको छ । सरकारमा सहभागी हुन नपाएर निराश भएका जसपाका सांंसदहरु पार्टी अध्यक्ष उपेन्द्र यादवसँग टाढिएका छन् ।
दशैंअघि अध्यक्ष यादवले जसपाका ४ नेतालाई सरकारमा पठाएका थिए । ४ जनामध्ये महेन्द्र यादव, रेणु यादव र रामसहाय यादव यादव समुदायकै छन् । एक जना राजेन्द्र श्रेष्ठ मात्र पहाडी समुदायका हुन् । मधेसबाट अन्य समुदायको प्रतिनिधित्व नगराएको भन्दै गैर यादव समुदायका सांंसदहरु अध्यक्ष यादवसँग आक्रोशित भएका छन् ।
अध्यक्षसँग आक्रोशित भएका प्रदीप यादवले पार्टी कार्यालयमा पार्टी अध्यक्षको पुत्ला जलाए र आफ्ना कार्यकर्ताहरुलाई काठमाडौंमा बोलाएर नारावाजी गर्न लगाए । प्रदीप यादवलाई अध्यक्ष यादवले ३ दिने स्पष्टिकरणसमेत सोधे । प्रदीपले स्पष्टीकरण त दिए, तर त्यसपछि उनी पार्टी अध्यक्ष यादवसँग चिढिएका छन् –स्रोतले भन्यो ।
यहाँसम्म कि दशैं तिहारको बेला अध्यक्ष यादव वीरगञ्ज गएको बेला उनले अध्यक्षसँग भेट गरेनन् । जसपा सरकारमा गएपछि प्रदीप यादव पार्टी कार्यालयमा टेकेका छैनन् । जसपाका अन्य नेताहरूलाई पनि उनले भेटेका छैनन् । प्रदीप यादव निकट एक नेताले भने, ‘आफ्नो कुरा राख्न पाउने लोकतान्त्रिक अधिकारसमेत पार्टी अध्यक्षले खोसेका छन् । त्यसैले अध्यक्षसँग उहाँ (प्रदीप यादव) निराश हुनुहुन्छ ।’
अध्यक्ष यादवसँग प्रमोद साह तथा अमृता अग्रहरी पनि असन्तुष्ट भएका छन् । उनीहरू यसअघि महन्थ ठाकुरसँग निकट थिए । मन्त्री हुने आशाले कित्ता परिवर्तन गरी उपेन्द्र यादवतिर गएका थिए ।
कित्ता परिवर्तन गर्ने बेला अध्यक्ष यादवले जसरी पनि मन्त्री बनाउने आश्वासन दिएका थिए । त्यसैले मन्त्री हुनेमा उनी ढुक्क थिए । तर अन्तिम समयमा प्रमोद साहको नाम मन्त्रीको सूचिबाट हटाइयो । त्यसैले प्रमोद साह पनि अध्यक्ष यादवसँग निराश भएको स्रोतले बतायो ।
यसैगरी बाँकेबाट चुनाव जितेका इस्तियाक राई पनि अध्यक्ष यादवसँग अहिले टाढिएका छन् । आगामी चुनावको बेला उनले पार्टी फेर्न सक्ने आसंका जसपाकै नेताहरूले गरेका छन् । उनी पनि मन्त्री हुनेमा ढुक्क थिए । ‘भूगोल र समुदायको प्रतिनिधित्व गर्दै आफू मन्त्री हुनेमा उहाँ (इस्तिायक ) ढुक्क जस्तो हुनुहुन्थ्यो’ इस्तिायक निकट एक नेताले भने ।
२०७४ को प्रतिनिधि सभाको चुनावमा राजेन्द्र श्रेष्ठको गृह जिल्ला काठमाडौमा पार्टीले समानुपातिकमा १–२ सय भोट ल्याउँदा पनि श्रेष्ठलाई मन्त्री बनाइएको भन्दै तराई मधेसमा अध्यक्ष यादवको विरोध भएको जसपाका अर्का एक नेताले बताए ।
‘उहाँ (राजेन्द्र श्रेष्ठ) लाई समानुपातिक सांंसद बनाउनु नै ठूलो कुरा हो । भोट नै नभएको ठाउँको मान्छेलाई मन्त्री बनाइयो । भोट भएको ठाउँमा के गर्ने ?’ ती नेताले प्रश्न गरे ।
मन्त्री हुन नपाएका अर्का एक सांसदले भने,‘राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएको भए अहिलेसम्म २–४ जना सांसदहरुले पार्टी छाडिसक्थे । तर अहिले पार्टी छाड्ने बित्तिकै सांसद पद जाने भएकोले मन नहुँदा नहुँदै पनि पार्टीमा बस्नु परेको छ ।’