arrow

एमाले प्रधान्यायाधीश जबरालाई महाभियोग लगाउने पक्षमा छैन: टोपबहादुर रायमाझी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २७ शनिबार
top-bahadur-rayamajhi.JPG

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउने पक्षमा नभएको स्पष्ट पारेका छन् ।

उनले भने,‘उहाँमाथि महाभियोग लगाउनेतिर हामीले सोचिरहेका छैनौं । यो पाँच दलीय गठबन्धन जो छ, यो अपवित्र गठबन्धन हो । यो सरकारका समर्थक, जसले आफूलाई न्यायमूर्तिहरु ठान्नुहुन्छ, वकिल मान्नुहुन्छ, उहाँहरुले ल्याएको विषय हो । यो बीचमा यति धेरै जात्रा गरियो नेपालमा, यो दुनियाँमा नभएको, राजनीतिक रुपमा त धेरै नै एउटा दुनियाँमा नभएको नकारात्मक नजिर कायम गरिएको छ। यो परमादेशबाट सरकार बनाउने, जनादेशलाई अपमान गर्ने, जनादेशलाई कदर नगर्ने, जनादेशको विरुद्धमा परमादेशबाट सरकार बनाउने काम भयो, यो दुनियाँमा नभएको काम हो ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेपालमा पछिल्लो समय एकपछि अर्को गरेर संविधानविरोधी काम भएको गुनासो पोखे । उनले भने,‘जनादेशको सरकारलाई हटाएर परमादेशबाट सरकार बनाईयो, दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने काम भयो, यो संविधानविोधी काम हो । संविधानलाई धाराशयी बनाउने काम गरियो । यो बेठिक हो । पार्टी फुटाउनको लागि अध्यादेश ल्याईयो, यो दुनियाँमा नभएका काम हो । कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकालाई कमजोर बनाउने काम यो गठबन्धनको सरकारले गरेको छ । कार्यपालिकालाई पनि कुनै सिस्टममा चलाईएन । सत्तापक्षले विपक्षीविरुद्ध महागठबन्धन बनाउने जस्तो दुनियाँमा नभएको काम यहाँ नेपालमा भैरहेको छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानन्यायाधीश जबराको मात्रै राजीनामा मागेर समस्याको समाधान नहुने पनि जिकिर गरे । उनले न्यायापालिकालाई गिजोल्नेतर्फ सरकार र सत्तापक्षीय गठबन्धन अग्रसर रहेको पनि गम्भीर आरोप लगाए ।

त्यस्तै, रायमाझीले एमसीसीमा भएका गलत प्रावधान हटाएरमात्रै संसद्बाट पारित गरिनुपर्ने अडान सुनाए । उनले भने,‘मैले त पहिले पनि भनेको छु, एमसीसीमा भएका राष्ट्रका अहितका प्रावधान हटाएर पास गर्नुपर्छ । होईन भने खारेज गर्नुपर्छ । मैले हुबहु पास गर्ने भनेकै छैन् । यो मेरो व्यक्तिगत कुरा हो । तर, एमसीसीलाई लिएर सरकार यसमा अलमलिएर बसिरहेको छ। झुण्डिएर बसिरहेको  छ। हामीले त आफ्नो धारणा रोखका छौं । सरकारले कसरी विषयवस्तु ल्याउँछ ? आफ्नो धारणा ल्याओस ।’

उनले पछिल्लो समय भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरे । तर, आफूहरुको लागि यो नौलो कुरा नभएको उनको प्रतिक्रिया छ । उनले भने,‘यो नौलो कुरा होईन् । यो सरकार देशको विकास र समृद्धि गर्न आएको नै होईन । यो त जनतामाथि महँगी थुपार्न, अन्याय र अत्याचार गर्न आएको हो । यो कुरा दुनियाँलाई थाहा छ नि, अहिले विकास र समृद्धिको विषयमा कुनै चर्चा छ त ? यदि चर्चा छ भने त्यो कि महँगीको विषयमा चर्चा छ, कि जनतामाथि सरकारले अत्याचार गरेको विषयमा चर्चा छ । सरकार त न्यायालय ध्वस्त पार्नतिर उद्धत छ । संसद्लाई बाईपास गरियो । न्यायालयलाई ध्वस्त पार्न सरकार नै लागिरहेको छ । जनताको अधिकार ध्वस्त पार्न सरकार मतियारको रुपमा काम गरिरहेको छ । यो कुरा सबै घट्नाक्रमले पुष्टि गरेको छ । जति दिन बित्दै जान्छ, त्यति नै राष्ट्र र जनताले दुःख पाउने हो । अब त व्यवस्था, संविधान र प्रणाली रक्षाको जरुरी भैसक्यो ।’

नेता रायमाझीले आफूहरुको १०औं महाधिवेशनमार्फत सर्वसम्मत रुपमा केपी शर्मा ओली अध्यक्षमा चयन हुने विश्वास दिलाए । उनले भन,‘हामीले विधान महाधिवेशन ललितपुरको गोदावरीमा भव्य रुपमा सम्पन्न गर्यौं, विधान पनि सर्वसम्मतीले पारित गर्यौं  । अब नेतृत्व चयन गरिने हो । मंसिर १० गते उद्घाटन हुन्छ । अब पार्टीमा नयाँ नेतृतवको निर्माण गर्छौं । सायद, केपी शर्मा ओली सर्वसम्मत् अध्यक्ष हुनुहुन्छ ।

विधान अधिवेशनले पनि यो कुराको संकेत गरिसकेको छ । त्यो महाधिवेशनमा आउने प्रतिनिधिहरुको निर्वाचन मूलतः आज सम्पन्न हुन्छ । एकाध, जिल्ला बाँकी रह्यो भने भिन्न कुरा हो । तर, एकै दिन २ हजार प्रतिनिधि आज निर्वाचित हुँदैछन् । ७७ वटै जिल्लामा प्रतिनिधिहरु छान्न सक्ने हैसियत राख्ने पार्टी एमालेमात्रै हो । यो पार्टी एकताकै निरन्तरतामा छ । हामीले वडाको अधिवेशन एकै दिनमा गर्यौं । एमालेले आफ्नो आन्तरिक काम सम्पन्न गरेको छ। अब संगठन विस्तारमा अघि बढ्छौं । स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा केन्द्रित भएर अघि बढ्छौं ।’
 



नयाँ