- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणसहित अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आइतबार दशवटा इजलास पेसी तोकेका थिए । त्यसमध्ये न्यायाधीशहरू कुमार रेग्मी र डा कुमार चुडालको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुुनुवाइ गरी रिट जारी गरेको छ ।
त्यस्तै, न्यायाधीशहरू तेजबहादुर केसी र डा मनोजकुमार शर्माको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण, आगो लगाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सुनुवाइ गरेको छ । तीनवटा मुद्दामा सुनुवाइ गरी अन्य आदेश जारी गरेको छ ।
सुनुवाइका लागि पेसी तोकिएका अन्य आठ, छवटा संयुक्त इजलास र बेन्च नबसेको र हेर्न नभ्याइएको पनि उल्लेख गरिएको छ । शुक्रबार कुनै पनि मुद्दामा सुनुवाइ नै भएको थिएन । प्रधानन्यायाधीश राणाले आज आफ्ना लागि कुनै पनि इजालास तोकेका थिएनन् ।
यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गरेका थिए ।
सर्वोच्च अदालतको यही कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशहरूलाई पनि संविधान र कानुनबमोजिम आ-आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन् ।
अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । बेन्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राहीहरू मर्कामा परेका छन् ।