'पार्टीको ध्यान आगामी निर्वाचन जिताउन केन्द्रित गर्नुपर्छ'
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
721
Shares
काठमाडौँ । नेपाली काँग्रेसका सह महामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशनपछि पार्टीको समग्र ध्यान आगामी निर्वाचन जिताउन केन्द्रित गर्नुपर्ने बताएका छन् । आगामी वर्ष स्थानीय तह,प्रदेश सभा र सङ्घीय संसद्को प्रतिनिधिसभाको निर्वाचन हुँदै छ ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको क्रममा शुक्रवार काठमाडौँ क्षेत्र नं ५ को प्रदेश “क” र “ख”का प्रदेश सभा क्षेत्रीय अधिवेशनलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेपाली काँग्रेसको काठमाडौँ क्षेत्र नं ५ को प्रदेश “क” को प्रदेश सभा अधिवेशन विशाल मिलन केन्द्रमा भइरहेको छ भने प्रदेश “ख” को अधिवेशन अनुप्रस्थ पार्टी प्यालेसमा भइरहेको छ ।
सह महामन्त्री डा.महतले पार्टीको आन्तरिक निर्वाचनमा भरसक सहमतिमा नेतृत्व चयन भए अझ राम्रो हुने उल्लेख गर्दै भने, “यो पार्टीको अधिवेशन हो । नेतृत्वका लागि हामीबिच प्रतिस्पर्धा भइरहेको छ । तर हामीले निर्वाचनमा वास्तविक प्रतिस्पर्धा त अन्य राजनीतिक दलसँग गर्नुपर्दछ । तसर्थ निर्वाचनमा सहभागी हुने सम्पूर्ण साथीहरू लगायत निर्वाचित हुने प्रदेश समितिले आफ्नो सम्पूर्ण ध्यान आउने निर्वाचनमा पार्टीलाई जिताउन लगाउनु पर्दछ ।”
सह महामन्त्री डा.महतले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका क्रममा विभिन्न तहको नेतृत्वका लागि प्रतिस्पर्धा गरेका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई खेलको जसरी सहज रूपमा लिन आग्रह गर्दै भने, “निर्वाचनको परिणाम आएपछि पनि प्रतिस्पर्धी साथीहरूबिच रहेको सद्भाव र एकता पूर्ववत् रहनु पर्दछ । अझ सौहार्द र घनिष्ठ बन्नुपर्दछ । यो निर्वाचनको नतिजा आएपछि कुनै तिक्तता र रिक्तता नरहोस् ।”
उनले १४ औँ महाधिवेशनका क्रममा नेपाली काँग्रेसका क्रियाशील सदस्य, भातृसंगठनका सदस्य, शुभेच्छुक,समर्थक र मतदाताहरूमा देखिएको उत्साहलाई पार्टीको ऊर्जाको रूपमा लिएको बताउँदै यसले आफूलाई ठुलो प्रेरणा दिएको पनि बताए ।
नेपाली काँग्रेसको १४ महाधिवेशनको क्रममा शुक्रवार देशभरका ४६ जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन हुँदै छ ।
महाधिवेशनको क्रममा मङ्सिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुँदै छ । त्यस्तै एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरूको जिल्ला अधिवेशन मङ्सिर १० गते हुँदै छ भने प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते हुँदै छ । केही हिमाली जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न भैसकेको छ ।
नेपाली काँग्रेसको १४ औँ केन्द्रीय महाधिवेशन यही मङ्सिर २४ देखि २६ सम्म काठमाडौँमा हुँदै छ ।