arrow

दिनेश शर्माले दिए टेक्सस राज्यको सांसद पदमा उम्मेद्वारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
dinesh-sharma-Texas.jpg

काठमाडौं । नेपाली मूलका दिनेश शर्माले टेक्सस राज्यको सांसद पदमा उम्मेदवारी दिएका छन् । अमेरिकाको टेक्सस राज्यमा लामो समयदेखि बस्दै आएका सूचना प्रविधि(आइटी) बिज्ञ, सामाजिक अभियन्ता शर्माले टेक्सस राज्यको प्रतिनिधि सभा सदस्यको लागि निर्वाचन क्षेत्र ९२ (हाउस डिसट्रिक्ट९२)बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले नोभेम्बर २० शनिबारका दिन टेक्ससको समय अनुसार दिउसो ४ बजे डेमोक्र्याटिक दलको टेरन्ट काउन्टीको फोर्ट वर्थ कार्यालयमा उम्मेदार मनोनयन पत्र बुझाएका हुन् । उनी डेमोक्र्याटिकका हुन् या हैनन भनि दलले अनुमोदन गरेपछि निर्वाचन आयोगलाई डेमोक्र्याटिक दलले उनको उम्मेदवारी आफैं पठाउने छ ।

उनी आम निर्वाचनको लागि उम्मेदवार नभई उनले प्राथमिक निर्वाचनमा आफ्नै दलका उम्मेदवारहरुसंग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । उनले डेमोक्र्याटिकको तर्फबाट प्राथमिक निर्वाचनमा बाजी मारे भने उनको भिडन्त आम निर्वाचनमा रिपब्लिकन दलका उम्मेदवारसंग हुनेछ ।

उनी डेमोक्र्याटिक दलसंग आबद्ध भएकोले डेमोक्र्याटिक दलको तर्फबाट लड्ने छन् । टेक्सस राज्यको तल्लो सदन प्रतिनिधि सभामा हाल रिपब्लिकनका ८५ र डेमोक्र्याटिक दलका ६५ जना प्रतिनिधि सभा सदस्य (सांसदहरु) छन् ।

टेक्सस प्रतिनिधि सभाको निर्वाचन आगामी २०२२ मा हुनेछ । अर्थात् आम निर्वाचन नोभेम्बर ८,२०२२ मा तोकिएको छ । टेक्ससको प्रतिनिधि सभाको प्राथमिक निर्वाचन मार्च १, २०२२ मा हुनेछ । साथै सर्वाधिक मत प्राप्त गर्ने दुई जना शीर्ष उम्मेदवारहरु बीचको निर्वाचन मे २४ ,२०२२ राखिएको छ ।

चुनाव लड्नेले आगामी डिसेम्बर १३,२०२१ सम्म मनोनयन दर्ता गराई सक्नुपर्ने छ । टेक्सस हाउस अफ रिप्रिजेन्टेटिभ्स(प्रतिनिधि सभा) २०२२ मा चुनाव हुने ८८ राज्य विधायिका च्यामबर्स (सदनहरु)मध्ये एक हो। अमेरिकाभरी ९९ वटा सदनहरू छन्।

शर्मा हाल टेक्सस राज्यको फोर्ट वर्थमा बसोबास गर्छन भने उनको नेपाल घर धरान हो । नेपाली समाज टेक्सस(एनएसटी)का अध्यक्ष शर्मा विभिन्न संघ/संस्था संग आबद्ध रहेका छन् ।

उनले सूचना प्रविधि(आइटी)मा उच्च शिक्षा भारतबाट प्राप्त गरेका छन् भने अमेरिकामा एपल,भेराइजन जस्ता ठूला संस्थाहरुसंग आबद्ध छन् । यसरी बिस्तारै नेपालीहरु पनि अमेरिकी मुलधारमा प्रवेश गर्ने क्रम जारी छ ।

अमेरिकामा मूलधारको राजनीतिमा नेपाली समुदायको ईतिहासमा सबैभन्दा पहिले नगरपालिकाको निर्वाचनमा उपप्रमुखमा निर्वाचित हुने किरण सिटौला हुन । उनले मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड नामक नगरपालिकाको उप प्रमुखमा खाता खोलेका हुन् भने उनि दोस्रो कार्यकालको लागि समेत निर्वाचित भएका छन् ।

मुलधारमा प्रवेश गर्नेहरुमा सिटौला पछि क्रमशः मेरिल्याण्ड राज्यको बिधानसभा सदस्यमा एचबि ह्यारी भण्डारी, भर्जिनिया हे मार्केटका लागि नगर परिषद सदस्यमा मधु पन्थी, भर्जिनिया हर्नडन शहरका लागि नगर परिषद सदस्य प्रदीप ढकाल ,टेक्सस ड्यालसका नगर परिषद सदस्य टिका पौडेल र पछिल्लो चरणमा रामचन्द्र श्रेष्ठ छैठौं निर्वाचित नगर परिसद सदस्य भएका छन् ।

साथै एक अर्का नेपाली भाषी भुटानी पनि नगर परिषदमा निर्वाचित भएको इतिहास छ । अमेरिकाको इतिहासमा श्रेष्ठ मूलधारमा पुग्ने नेपाली मूलका र नेपाली भाषी समेत गरि नाम लेख्ने सातौं नेपाली हुन् । -जिएनएन



लोकप्रिय समाचार
नयाँ