arrow

कांग्रेस १४औं महाधिवेशन

बागमती प्रदेश सभापतिमा आधा दर्जन आकांक्षी : को कस्ता ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
congress-bagmati-province-president-candidatessss.jpg
congress

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश तहको संरचना चयनका लागि भोलिदेखि प्रदेश अधिवेशनको प्रक्रिया शुरु हुँदैछ। निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार सातै प्रदेशमा भोली बिहीबार प्रदेश अधिवेशनका लागि मतदाता नामावली प्रकाशित हुँदैछ । यस्तै पर्सि १७ गते उम्मेदवारको मनोनयन दर्ता हुने तालिका छ। कांग्रेसले हालको विधान अनुसार आफ्नो संरचनालाई पहिलो पटक प्रदेश तहमा कार्यान्वयन गर्न लागेको हो ।

प्रदेश तहको अधिवेशनका लागि कांग्रेसमा गुट अनुसार नै उम्मेदवार बन्ने सम्भावना बढेको छ। केन्द्रीय राजनीतिमा प्रभाव पार्ने बागमती प्रदेशमा त झनै गुटको प्रभाव बढी देखिने सम्भावना छ। बागमती प्रदेशमा सभापति बन्ने दौडमा काठमाडौं कांग्रेसका पूर्व सभापतिसमेत रहेका पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानदेखि नुवाकोट कांग्रेसका निवर्तमान सभापति जगदीशनरसिंह केसी, काभ्रेका निवर्तमान सभापति मधु आचार्य, धादिङका निवर्तमान सभापति रमेश धमला र मकवानपुर सभापति ईन्द्र बानियाँसम्मको नाम चर्चामा छ। 

यसैगरी पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता मोहन बस्नेतको नाम पनि बागमती प्रदेशको सभापतिका लागि सुनिन थालेको छ। प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट आएको परिणामपछि उम्मेदवारी दिने गरी आन्तरिक रुपमा नेताहरुको गुट अनुसारको जोड घटाउ भइरहेको छ। 

भीमसेनदास प्रधान

उनी कांग्रेसभित्र नेता कृष्णप्रसाद सिटौला समूहमा आबद्ध छन् । उनी नेपाल प्राध्यापक संघको पूर्व अध्यक्षसमेत हुन् । यसैगरी उनी यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा रक्षामन्त्रीसमेत भइसकेका छन् । बौद्धिक क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका उनी हाल काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्यसमेत छन् ।

प्रधान पहिलो संविधान सभाको निर्वाचनमा २०६४ मा नेपाली कांग्रेसका तर्फबाट क्षेत्र नम्बर ६ काठमाडौंबाट उम्मेदवार बनेका थिए भने दोस्रो संविधान सभाको निर्वाचन २०७० मा सोही क्षेत्रबाट निर्वाचित बनेका थिए ।

प्रधानसँग काठमाडौं कांग्रेसमा जिल्ला सदस्य, सचिव, उपसभापति पदमा रहेर काम गरेको अनुभव छ। उनी काठमाडौंको उपसभापति हुँदा दोस्रो जनआन्दोलनको काठमाडौं संयोजक बनेका थिए। त्यसपछि उनी १२औं महाधिवेशनका समयमा काठमाडौं कांग्रेसको सभापति निर्वाचित बनेका थिए।

उनी २०३३ पछि गणेशमान सिंहसँग निकट रहेरसमेत काम गर्ने नेता हुन्। २०४६ सालको आन्दोलनमा प्रधान नेता सिंहसँग नै उनको सहयोगी बनेर जिल्ला दौडाहामा पुगेका थिए। 

जगदीशनरसिंह केसी

केसीले नुवाकोट कांग्रेसको नेतृत्वमा चार कार्यकाल बिताइसकेका छन्। उनी नेता अर्जुननरसिंह केसीका भाइ हुन्। यस पटक भने उनी विधानको बाध्यताका कारण जिल्ला सभापतिको रेसबाट बाहिरिएका छन्।

उनीसँग नेपाल विद्यार्थी संघको केन्द्रीय समितिमा रहेर काम गरेको अनुभन छ। केसी २०४२ सालमा सरस्वती क्याम्पसको सचिवसमेत बनेका थिए। त्यसबखत उनी नेविसंघबाट जित्ने एक्ला उम्मेदवार थिए।

कांग्रेसको जिल्ला राजनीतिमा भने उनी सदस्य, सचिव र उपसभापति हुँदै अघि बढेका नेता हुन्। उनी २०६४ र २०७० मा संविधान सभाको सदस्यसमेत निर्वाचित बनेका थिए। 

ईन्द्र बानियाँ

बानियाँ हाल मकवानपुर कांग्रेसको सभापति हुन् । उनी अहिले बागमती प्रदेशको कांग्रेसको संसदीय दलको नेतासमेत छन्। उनी २०६४ को संविधान सभा निर्वाचनमा मकवानपुरबाट उम्मेदवार बनेका थिए। यस्तै उनी २०७० को संविधान सभा निर्वाचनमा भने निर्वाचित बनेका थिए।

बागमती प्रदेशको संसदीय दलको नेता भएकै कारणले गठबन्धन सरकारमा उनी बाँकी रहेको आधा कार्यकाल मुख्यमन्त्री हुने सहमति यसअघि नै भइसकेको छ। 

उनी विद्यार्थी राजनीतिमा रहँदा नेविसंघ मकवानपुर क्याम्पसको उपाध्यक्ष, अध्यक्ष हुँदै तरुण दल मकवानपुरको सचिव र अध्यक्षसमेत बनेका थिए । उनी कांग्रेसको केन्द्रीय राजनीतिमा सभापति शेरबहादुर देउवासँग निकट छन्। 

मधु आचार्य

आचार्य कांग्रेस काभ्रेको निवर्तमान सभापति हुन् ।  उनी २०५७ देखि २०६२ सालसम्म पहिलो पटक जिल्ला सभापति बनेका थिए भने दोस्रो पटक २०७२ मा सभापति बनेका थिए। त्यसअघि उनी २०४८ सालमा पहिलो पटक काभ्रेमा क्षेत्रीय सभापतिसमेत बनेका थिए।

२०५१ सालमा जिल्ला कार्यसमितिमा रहँदा उनले त्यसबखत भनिने गरिएको संगठन मन्त्रीको जिम्मेवारी पनि पाएका थिए । यस्तै १२औं महाधिवेशन पछि नेता रामचन्द्र पौडेल कांग्रेस उपसभापति हुँदा आचार्य कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकसमेत बनेका थिए । उनी कांग्रेस भित्र इतर समूहसँग निकट छन्।

रमेश धमला

धमला धादिङ कांग्रेसका निवर्तमान सभापति हुन् । २०३७ सालबाट नेविसंघको राजनीतिक यात्रा सुरु गरेका उनी २०३९ सालमा पहिलोपटक नेविसंघ विद्यालय समितिको सभापतिहुँदै राजनीतिमा लागेका थिए।

त्यसपछि उनी नेविसंघको जिल्ला सहसचिव हुँदै २०५२ मा नेपाली कांग्रेसको क्षेत्रीय सचिव बनेका थिए। धमला २०७२ मा पार्टीको जिल्ला सभापति बनेका थिए भने उनी २०६२ देखि २०६७ सम्म कांग्रेसको विदेश विभागको सदस्यका रुपमासमेत कार्यरत थिए।

यसैगरी उनले २०५४ देखि २०७४ सम्म गाउँविकास समिति राष्ट्रिय महासंघको केन्द्रीय सदस्यसमेत भएका थिए। हाल भने उनी बागमती प्रदेश सभापतिका लागि अघि बढेका छन् । उनी संस्थापन इतर समूहसँग निकटता राख्छन् । 

मोहन बस्नेत 

बस्नेत सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्छन्। उनी यसअघिका निर्वाचित सांसद हुन्। उनी संचारमन्त्रीसमेत भए । त्यसपछि उनी नेपाली कांग्रेसको खेलकुद विभाग प्रमुख भएर पनि काम गरिरहेका छन् ।

उनलाई हक्की स्वभावका नेताका रुपमा विश्लेषण गरिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ