arrow

कांग्रेसका आठ जिल्ला सभापतिहरु दोहोरिए, कुन पक्षलाई फाइदा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
congress-district-president.gif

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तिथि नजिकिँदो छ । तर अझै १६ जिल्लाको अधिवेशन भने हुन सकेन । ती जिल्लाहरुको अधिवेशन अब केन्द्रीय महाधिवेशनपछि हुने भएको छ । 

अहिलेसम्म ६१ जिल्लाको छिनोफानो भएको छ । ८ जिल्ला सभापतिहरु दोहोरिएका छन् । जसमा संस्थापन अर्थात् शेरबहादुर देउवा पक्षलाई फाइदा भएको छ । 

कांग्रेसको विधानले नै दुई पटकभन्दा बढी जिल्ला सभापति हुन नपाउने भएपछि कतिपय तेस्रो पटक भने उम्मेदवारी दिन पाएनन् । अहिलेसम्म काठमाडौं, भक्तपुर, म्याग्दी, पूर्वी रुकुम, पश्चिम रुकुम, दार्चुला, रसुवा र मोरङ्गमा सभापति दोहोरिएका छन् । 

काठमाडौंका कृष्ण बानियाँ (सबुज), भक्तपुरका दुर्लभ थापा, म्याग्दीका खमबहादुर गर्बुजा (खमवीर), पूर्वी रुकुमका केशरमान रोका, पश्चिम रुकुमका प्रेमप्रकाश ओली, दार्चुलाका ललितसिंह बोहोरा, रसुवाका पेम्बा छिरिङ तामाङ र मोरङका डिकबहादुर लिम्बू दोहोरिएका हुन् । 

थापा, गर्बुजा, ओली, रोका र तामाङ संस्थापन अर्थात् शेरबहादुर देउवा पक्षका सभापति हुन् । त्यस्तै बानियाँ, बोहोरा र लिम्बू इतर पक्षका हुन् । इतरभित्र जाँदा बानियाँ प्रकाशमान सिंह पक्षका हुन् । जसलाई गगनकुमार थापाको पनि समर्थन रहेको छ । 

त्यस्तै बोहोरा रामचन्द्र पौडेल पक्षका हुन् । त्यस्तै लिम्बू डा. शेखर कोइराला पक्षका हुन् ।   


यसपालि देउवालाई अझ बढी फाइदा भएको छ । २०७२ सालको १३ औं महाधिवेशनका बेलामा देउवा इतर पक्ष रहेका थिए । १२ औं महाधिवेशन सुशील कोइरालाले जितेका थिए । 

१३ औं महाधिवेशन अगाडि नै सुशील कोइरालाको निधन भयो । त्यसपछि रामचन्द्र पौडेल पक्ष संस्थापन बन्न पुग्यो । त्यतिबेला संस्थापनमा भएका सभापति पश्चिम रुकुमका ओली यसपालि संस्थापनमा आएजसरी देउवामा आएका छन् । पूर्वी रुकुमका रोका पनि पहिले संस्थापन (पौडेल) मा रहेकामा अहिले संस्थापन (देउवा) मा आएका छन् । 

तर मोरङका लिम्बूले अर्को छलाङ मारेका छन् । उनी देउवा क्याम्प छाडेर संस्थापन इतर क्याम्पमा जोडिएका छन् । उनी डा. शेखर कोइराला पक्षमा आएर समेटिएका हुन् । 

मोरङमा देउवालाई नोक्सान भए पनि समग्रमा भने फाइदा भएको छ । फेरि इतर पक्षमा पनि व्यक्तिपिच्छेका सभापति भएकाले पनि त्यसले समग्रमा संस्थापन इतर पक्षलाई फाइदा पुग्छ कि पुग्दैन भन्ने प्रश्न भने जन्मिएको छ । 



नयाँ