- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
वाल्यकालदेखि नै कांग्रेस नेपाल विद्यार्थी संघ(नेविसंघ)को राजनीतिमा सक्रिय उर्मिला थपलिया राम्रो संभावना बोकेकी महिला नेतृ हुन । धादिङको निलकन्ठ उच्च माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्दा नै स्कुल इकाइको उपाध्यक्ष भएकी उनी यतिबेला नेविसंघको केन्द्रीय महामन्त्रीका रुपमा काम गरिरहेकी छन् । विद्यार्थी हक हित साथै नागरिक अधिकार प्राप्तीका आन्दोलनहरुमा अग्रमोर्चामा देखिने गरेकी थपलिया नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यकी प्रत्यासी हुन ।
नेविसंघको धादिङ जिल्ला कार्य समिति सदस्य, जिल्ला कोषाध्यक्ष, जिल्ला सचिब साथै काठमाडौं विश्वभाषा क्याम्पसमा स्ववियू सचिब, नेविसंघको केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्षको समेत भूमिका निर्वाह गरिसकेकी उनले अब पार्टीको सक्रिय राजनीतिमा आफ्नो समय व्यथित गर्ने योजना सुनाउँछिन् । अबको कांग्रेस र कांग्रेसमा सक्रिय राजनीतिको योजनाबारे उनले हामीसँग छोटो कुराकानी गरेकी छन् ।
नेपाली कांग्रेस १४औं महाधिवेशनमा होमिएको छ, तपाईको तयारी के छ ?
निश्चय नै कांग्रेस यतिबेला महत्वपूर्ण अवस्थामा छ । नयाँ नेतृत्वको प्रक्रियामा छ । सांरसमा हेर्नुपर्दा अहिलेसम्म कांग्रेसमा युवाहरुको सहभागिता उल्लेख्य छ । यो देश र पार्टीका लागि सुनौलो अवसर हो । आफू पनि युवा विद्यार्थी भएकाले युवाहरुकै प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारको रुपमा अघि बढेको छु । संभवत देशभरबाट प्रतिनिधिका रुपमा आउनुभएका युवा तथा अग्रजहरुले मलाई उचित अवसर दिनुहुन्छ भन्ने अपेक्षा लिएको छु ।
कांग्रेसको विधान देशको नयाँ संरचना अनुसार बनेको छ । महिला सहभागितालाई कसरी हेर्नुभएको छ ?
समग्रमा हेर्नुपर्दा विधानले दिएको अधिकार प्रयोग गरेर पार्टीमा महिलाहरुको सहभागिता उल्लेख्य छ । क्लष्टरका रुपमा पनि तल्लो तहदेखि केन्द्रसम्म महिलाहरुको सहभागिता बढ्दो छ । अब केन्द्रीय समितिमा पनि युवा तथा महिलाहरुको सहभागिता बढ्ने नै छ । विधानलाई अक्षरस पालना गर्ने हो भने पार्टीको समग्र संरचना समावेशी र लोकतान्त्रिक देखिएकोछ । समावेशी सहभागिताको अवसर प्राप्त गरेको छ । त्यसैले यो ऐतिहासिक घढीमा विधान कार्यान्वयन र विधान पालनाका लागि केन्द्रीय समितिमा मेरो सहभागिता आवश्यक ठानेको छु ।
कतिपय महिला अधिकारकर्मीले विधानमा आरक्षणको मात्र व्यवस्था गरेर होइन पुरुष सरह महिलालाई नेतृत्वमा ल्याउनुपर्छ भनिरहेका छन् नि ?
हुनत विगतमा पनि हाम्रा दिदीहरु खुल्ला रुपमा नेतृत्वका लागि लड्नु भएकै हो । हामी कोहीपनि नेतृत्व लिन र पदाधिकारीमा लड्न डराएका छैनौं । पुरुषहरुले पनि आफ्नो भाग खोज्न आएको हो कि जस्तो गरेर महिलाहरुलाई अवसर दिन नसक्नु दुर्गाग्य हो र त्यो लोकतान्त्रिक संस्कार होइन । पुरुषहरुले महिलाहरुलाई उपेक्षा गर्नु हुँदैन । क्लष्टरवाइज जाँदा महिलाहरु सुरक्षित हुन्छौं भन्ने हो तर खुल्लामा लड्न कोही महिलाहरु डराएका छैनन् । सम्मानजनक रुपमा जिताउन पुरुषहरु तयार हुनुपर्छ ।
जिल्ला, प्रदेश र स्थानीय तहका अधिवेशनमा महिलाको सहभागिता कस्तो पाउनु भयो ?
सहभागिता राम्रो छ । विधानले नै बाध्यकारी बनाएको छ । तर नेतृत्वमा महिलाहरु अन्यन्तै न्यून छन् । हक, अधिकार र समावेशीको कुरा गर्नेहरुले नै महिलाहरुलाई रोक्ने गरेको पाइएको छ । आरक्षण कोटा भएकाले मात्र महिलाहरु सुरक्षित भए नत्र त्यहाँ पुरुष नै हावी हुने थिए । महिला अनिवार्य नभएको भए पुरुष नै प्रतिस्पर्धामा आउने थिए र महिला पछि नै पर्ने थिए । तर सहभागिताका हिसाबले महिलाहरुको सम्मान भएको छ ।
कांग्रेसको महाधिवेशन सकिएलगत्तै आम चुनावको तयारी गर्नुपर्ने देखिएको छ । यसमा कांग्रेसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?
अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन गर्दै पार्टीका महत्वपूर्ण स्थानहरुमा युवालाई अवसर दिनुपर्छ । त्यही सहभागिता र युवाहरुको उर्जाले आम चुनावमा कांग्रेस बलियो बन्नेछ । फेरि पुरानै तरिकाले अघि बढ्ने र युवालाई अवसर नदिने हो भने कांग्रेस झनै कमजोर बन्नेछ । पार्टीभित्र धेरै कुरामा परिवर्तन देखिएको छ । गाउँलाई केन्द्रीकृत गर्नु जरुरी छ । किनकी गाउँहरुमा कम्युनिष्टहरुले झुटको खेती गरिरहेका छन् । त्यसलाई चिर्न र परास्त गर्न कांग्रेसभित्र युवाहरुलाई उचित जिम्मेवारी दिएर परिचालन गर्नु जरुरी छ ।