arrow

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा सोमवारबाट बाघ गणना

logo
रासस,
प्रकाशित २०७८ मंसिर १९ आइतबार
tiger1.jpg
फाइल तस्बिर

चितवन। चितवन र पर्सा राष्ट्रिय निकुञ्ज आज (सोमवार)देखि राष्ट्रिय बाघ सर्वेक्षण (गणना) सुरुआत हुँदैछ। चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित र आसपासका वन क्षेत्रमा बाघ पाइन्छ। चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर सर्वेक्षण गरिँदै छ। देशैभरका सर्वेक्षणको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जको सौराहामा आज विशेष कार्यक्रमका बिच सुरु गर्न लागिएको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा रामचन्द्र कँडेलका अनुसार यही मङ्सिर २९ गतेबाट बर्दिया र बाँकेलाई समेटेर एउटा ब्लक बनाएर सर्वेक्षण गरिँदै छ। यहाँको टोलीले पहिलो दुई साता काम गरेपछि शुक्लाफाँटा र लालझाडी क्षेत्रमा सर्वेक्षण गर्ने छ।

उनका अनुसार बाघ गणना सम्पन्न गर्न करिब रु चार करोड खर्च हुने अनुमान गरिएको छ। गणकको सुरक्षाका लागि विशेष ध्यान दिइएको उनले बताए। उनीहरूको प्रतिव्यक्ति रु १० लाखको बिमा गरिएको छ भने सुरक्षाका लागि निकुञ्ज सुरक्षार्थ नेपाली सेनासँगै रहने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए। सुरक्षित ठाउँ छनोट गरी क्याम्प खडा गर्न लगाइएको छ। तालिमका समयमा कसरी सुरक्षित भई काम गर्ने भन्ने विषयमा समेत विशेष प्रशिक्षण दिइएको छ।

महानिर्देशक कँडेलका अनुसार वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवसहितका उच्च अधिकारीहरूको उपस्थितिमा सर्वेक्षणको शुभारम्भ गरिँदै छ। सो अवसरमा वन सचिव डा पेमनारायण कँडेल, वन मन्त्रालयअन्तर्गत विभिन्न विभागका महानिर्देशक, बागमती प्रदेशका वन सचिव, मन्त्रालयका महाशाखा प्रमुख, साझेदार संस्थाका अधिकारीहरूको उपस्थितिमा कार्यक्रमको शुभारम्भ गरिने उनले जानकारी दिए।

बाघ गणना सुरु हुनुअघि दुई दिन गणनामा सहभागी हुनेहरूलाई तालिम दिइएको थियो। चितवन राष्ट्रिय निकुञ्जमा मात्र १२० प्राविधिक र सहयोगीहरूसँगै केही हात्ती गणनामा परिचालन हुनेछन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार गणकहरू निकुञ्जभित्र आफ्नो कार्यक्षेत्रमा क्याम्प खडा गर्ने काम सुरु गरेका छन्। कतिपय स्थानमा शनिवार क्याम्प खडा गरेर प्राविधिकहरू बसेका छन् भने कतिपय अहिले बिहान जाँदै छन्। १६ स्थानमा क्याम्प खडा गरेर प्राविधिकले आजबाट गणना थाल्ने उनले जानकारी दिए।

क्यामेरा ट्रयापिङ विधिबाट गरिने बाघ सर्वेक्षण गरिने छ। चितवनमा मात्र ३६० जोडी क्यामेरा जडान गरिने छ। उनका अनुसार दुई हप्ता एक ठाउँमा राखेर बाघको तस्बिर लिइने छ। दुई निकुञ्जको एउटा ब्लकमा १६ वटा क्याम्प बनाइएको छ। आधा मिटरको उचाइमा क्यामेरा राखिने छ। कतिपय ठाउँमा रुखमा र नमिलेमा घोचो गाडेर स्वचालित क्यामेरा जडान गरिने छ।

क्याप्चर रिक्याप्चड विधिबाट बाघ गणना गरिन्छ। दुई-दुई ग्रिड अर्थात् चार वर्ग किलोमिटरमा एक जोडी क्यामेरा राखेर गणना गरिन्छ। बाघ वरिपरि आएमा क्यामेराले तस्बिर लिने छ । झन्डै दुई महिनामा फोटो खिच्ने काम सम्पन्न हुने अनुमान गरिएको छ।

तस्बिर अध्ययनपछि थप चार महिनाभित्रमा नतिजा आउने छ। सन् २००८ देखि यहाँ राष्ट्रिय स्तरको बाघ गणना सुरु गरिएको हो। दोस्रो पटक सन् २०१३, तेस्रो पटक सन् २०१८ र अहिले चौथो पटक बाघ गणना गर्न लागिएको हो। प्रमुख संरक्षण अधिकृत आचार्यका अनुसार हिउँद याममा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयुक्त मानिन्छ।

झाडी सुक्दै गएपछि बाघ घाँसे मैदानमा बस्ने हुँदा गणना कठिन हुने भएकाले यो मौसम छानिएको हो। चितवन र पर्सालाई एउटा कम्प्लेक्स, बाँके र बर्दियालाई दोस्रो कम्प्लेक्स र सुक्ला र नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स अर्थात् ब्लक बनाएर बाघको गणना गर्न लागिएको हो। सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ फेला परेका थिए। यति बेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लमा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए। यो सङ्ख्या बढेको अनुमान छ।

सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्ग भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखहरूको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको थियो। तत्कालीन समयमा नेपालका निकुञ्जमा १२१  बाघ रहेको तथ्याङ्क थियो। दोब्बरभन्दा बढी सङ्ख्या बनाउने नेपालको प्रतिबद्धता पूरा हुनेमा संरक्षणविद् विश्वस्त छन्। यस वर्ष बाघको सङ्ख्या बढेको अनुमान गरिएको छ। नेपालमा हरेक चार-पाँच वर्षका अन्तरमा बाघ गणना गर्ने गरिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ