arrow

प्रकृतिलाई बिगारेर होइन सिँगारेर विकास गर्नुपर्दछ : राष्ट्रपति भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
bidhyadevi.jpg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई बिगारेर होइन सिँगारेर मुलुकको विकास गर्नुपर्दछ भन्ने भावना नीति निर्माणका सबै तहमा गहिरोसम्म स्थापित गर्नुपर्नेमा जोड दिएकी छन् । 

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आज यहाँ आयोजना गरेको राष्ट्रिय कार्यक्रममा उनले मानव र प्रकृति एक अर्कासँग जोडिएको उल्लेख गर्दै हाम्रो अस्तित्व पर्यावरणको सन्तुलनसँग गाँसिएको हुन्छ भनिन् । उनले भनिन्, “यसलाई गहिरोसँग आत्मसाथ गर्दै जलवायु परिवर्तनले ल्याउने चुनौतीको सामना गर्न समुदाय स्तरदेखि नै गरिने प्रयासमा महासङ्घजस्ता संस्थाको महत्त्वपूर्ण भूमिका रहन्छ ।” 

राष्ट्रपति भण्डारीले वन जङ्गलको संरक्षणद्वारा प्रकृतिलाई जोगाउने कार्यभार र अर्कोतिर महिला हिंसा उन्मूलनलगायत विविध सामाजिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकामा महासङ्घलाई धन्यवाद दिइन् । उनले वनको दिगो व्यवस्थापनका माध्यमबाट गरिने जनताको जीविकोपार्जनजस्ता कार्यले वातावरण र जैविक विविधताको संरक्षणका साथै जलवायु अनुकूलन र न्यूनीकरण, सामुदायिक विकास तथा आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् । 

महासङ्घले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा विभिन्न चेतनामूलक सामाजिक कार्यक्रम सञ्चालन गरेकामा खुसी व्यक्त गर्दै राष्ट्रपति भण्डारीले अभियानमा सक्रिय भई सभ्य समाज निर्माण गर्ने कार्यमा सफलता मिलोस् भन्ने शुभकामना दिइन् । उनले उक्त अभियानमा आफ्नो क्षेत्रबाट योगदान गर्न सरोकारवाला सबै सरकारी निकाय तथा सामाजिक सङ्घसंस्थालाई आह्वानसमेत गरिन् ।

समाजमा अझै पनि लैङ्गिकंहिंसा विभिन्न रूपले अस्तित्वमा रहिरहनु चिन्ताको विषय भएको उल्लेख गर्दै उनले भनिन्, “एकातिर छाउपडी, बोक्सी, दाइजोजस्ता कुप्रथा निर्मूल गर्न सङ्घर्ष गर्नुपरेको छ भने अर्कोतिर कार्यस्थल तथा सार्वजनिक क्षेत्रमा हुने दुर्व्यवहार एवं प्रविधिका माध्यमबाट महिलाविरुद्ध हुने हिंसा तथा शोषणका नयाँ रूप प्रकट भइरहेका छन् । यी विकृतिको अन्त्य गर्न नीति र कानुनको निर्माण एवं तिनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकातर्फ सम्बद्ध सबै निकायको ध्यानाकर्षण गराउँदछु ।” राष्ट्रपति भण्डारीले समाजबाट लैङ्गिक हिंसा उन्मूलन गर्न महिला र पुरुष दुवैको उत्तिकै सक्रियता आवश्यक रहेकोमा जोड दिइन् । 

कार्यक्रममा महासङ्घका अध्यक्ष भारती पाठकले लैङ्गिक हिंसा उन्मूलनका लागि कानुनको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला सरकारी निकाय र सामाजिक संस्था जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताइन् । नगरपालिका सङ्घका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्यञ्जुले महासङ्घले वन संरक्षणका साथै सामाजिक सशक्तीकरणमा पनि योगदान गरेकामा खुसी व्यक्त गरे । कार्यक्रममा महासङ्घका पूर्व अध्यक्ष घनश्याम पाण्डे, सचिव ठाकुर भण्डारीलगायतले महासङ्घले नाङ्गा डाँडालाई वन जङ्गल संरक्षणमार्फत हरियाली बनाउने काम मात्र नभई आर्थिक, सामाजिक तथा सचेतनामूलक कार्यसमेतमा विभिन्न कार्य गर्दै आइरहेको जानकारी गराए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ