- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । नेपाली कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौंमा शुरु हुँदैछ । सातमध्ये ६ प्रदेशले नेतृत्वसमेत पाइसकेको छ । अब प्रदेश २ मात्र बाँकी रहेको छ ।
प्रदेश २ को निर्वाचन अहिलेसम्म अन्योलमा छ । प्रदेश २ ले अहिलेसम्म जिल्ला अधिवेशन पनि गर्न सकेको छैन । जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि गर्ने निर्णय भएको छ । तर प्रदेश अधिवेशन नभई महाधिवेशन गर्न भने समस्या हुन सक्छ ।
यसका लागि भोटर लिष्ट भने केन्द्रले पठाइसकेको छ । केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठका अनुसार हिजो नै भोटर लिष्ट प्रदेश २ मा पठाइसकिएको छ ।
यसका आधारमा प्रदेश २ को कार्यसमितिको निर्वाचन हुन सक्नेछ । श्रेष्ठले भने, ‘हिजो राति ८ बजेतिर भोटर लिष्ट पठाइएको छ । अब के गर्ने भन्ने प्रदेश २ कै निर्वाचन प्रमुखले भन्ने कुरा हो । केन्द्रबाट रोकिएको छैन ।’
यसअघि भने केन्द्रीय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा निर्वाचन प्रक्रिया अन्योलमा परेको बताइएको थियो ।
प्रदेश २ का निर्वाचन अधिकृत प्रह्लाद गौतमका अनुसार सात निर्वाचन क्षेत्रमा प्रदेश अधिवेशन नभएकाले प्रदेश प्रतिनिधिको नामावली नभएकाले चुनाव गराउन अप्ठेरो भएको हो । सर्लाहीका चार, बाराको प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नं ४ र रौतहटको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि छनोट हुन सकेको छैन ।
गौतमले भने, ‘रौतहटको मात्र नामावली आएको छ । अन्यको आएको छैन । अन्यौलमा छौंं ।’
जनकपुरधाममा रामजानकी विवाह महोत्सव प्रारम्भ भइसकेको र पार्टीको महाधिवेशनको मूल समारोह २२ मंसिरमा रहेकाले प्रदेश २ को प्रदेश अधिवेशन महाधिवेशनपछि नै धकेलिने अनुमान गरिएको छ ।
यद्यपि अहिलेसम्म चुनावका लागि उम्मेदवारीको ठूलो क्याम्पेन हुन सकेको छैन । र पनि आकांक्षीहरुले उम्मेदवारी भने घोषणा गरेका छन् ।
प्रदेश सभापतिका लागि रौतहटका कृष्णा यादव र प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
प्रदेश २ का संयोजक रमेश रिजाल हुन् ।
सर्लाहीमा भने पटक पटक समस्या हुँदै आएको छ । झडप पनि भएको छ । गोली पनि चलेको छ । तर अन्य जिल्लाको हकमा चर्को विवाद देखिएको छैन ।
प्रदेश २ का सबैसहित १६ जिल्लाको अधिवेशन हुन सकेको छैन । ती जिल्लामा महाधिवेशनपछि अधिवेशन हुनेछ ।
यी हुन् अन्य प्रदेशका नेतृत्वकर्ताहरु ?