arrow

धनुषामा भेरोसेल खोप एक लाखलाई दिने

logo
निरंजनकुमार साह, 
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
263811292_325911539100280_432378302065135719_n.jpg

जनकपुरधाम । जिल्ला स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेव यादवले कोरोना भाइरस विरुद्धको भेरोसेल खोप १ लाख व्यक्तिलाई दिने कार्यक्रम रहेको जानकारी दिएको छ । कोरोना विरुद्धको खोप प्रत्येक पालिकामा रहेको खोप केन्द्रमार्फत लगाइने र  धनुषा जिल्लामा ६ सय ३१ वटा खोप केन्द्रहरु  रहेका छन् । 

एउटा खोप केन्द्रमा १ जना खोप लगाउने कार्यकर्ता र २ जना सहयोगी परिचालित रहेको छ । जिल्लाका १ सय ६९ वडामा त्यति नै संख्यामा खोप सुपरभाइजरसमेत परिचालन गरिएको  खोप अधिकृत यादवले  बताए ।

जनकपुरधाममा जिल्ला स्वास्थ्य कार्यालय धनुषाले पत्रकार अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । 

धनुषामा १८ वर्ष भन्दा माथि उमेर समूहका व्यक्तिलाई मंसिर २४ देखि २८ गतेसम्म कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने जानकारी दिए । यसअघि खोप लगाउन छुटेका सबै नागरिकलाई खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालय धनुषाले आग्रह गरेको छ ।

विगतमा १ डोज लगाएका व्यक्तिहरुले पनि दोस्रो डोज लगाउन सक्ने छन् । स्वास्थ्य कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख युगलकिशोर यादवले निर्धक्क भएर खोप लगाउन सर्वसाधारणमा आग्रह गरे।

१८ वर्ष र सोभन्दा माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्ध खोपको पहिलो र दोस्रो मात्रा मंसिर १६ देखि २९ गतेसम्म स्वास्थ्य कार्यालयमा नै लगाइरहेको हो । 

धनुषा जिल्लाको कूल जनसंख्या ८ लाख ४७ हजार ८ सय रहेकोमा अहिलेसम्म खोपको पहिलो मात्रा १ लाख ७३ हजार ८४ र दोस्रो मात्रा १ लाख ३७ हजार ६४ जना गरी जम्मा ३ लाख १० हजार १४८ जनाले लगाइसकेका छन् । 

जिल्लामा कोभिशिल्ड, भेरोसेल, जोनसन एण्ड जोनसन, एस्ट्राजेनेका र फाइजर गरी पाँच प्रकारका खोप लगाइएको छ । 

जसमध्ये १८ वर्षभन्दा माथिको उमेर समूहका १ लाख ३७ हजार ६४ जना र १२ देखि १७ वर्ष उमेर समूहका १ हजार ७ सय व्यक्ति रहेको स्वास्थ्य कार्यालयले रिपोर्ट सार्वजनिक गरेको छ ।  

जिल्लामा १८ वर्षभन्दा माथिको उमेर समूहका ४ लाख १८ हजार ९सय २३ र १२ देखि १७ वर्ष उमेर समूहका ९४ हजार ४ सय ३२ जना अझै खोप लगाउन बाँकी रहेको छ । 

अहिलेसम्म जिल्लाका ३२ प्रतिशत नागरिकले पूर्ण र ३६ प्रतिशतले एक डोज खोप लगाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ