arrow

महिला वडासदस्यमाथि दुर्व्यवहार अभियोगमा पक्राउ परेका माओवादी नेता 'डाईमण्ड' १० हजार धरौटीमा रिहा

logo
राम धामी,
प्रकाशित २०७८ मंसिर २२ बुधबार
CPN-maoist.jpg.jpeg

डडेलधुरा । नेकपा (माओवादी केन्द्र) परशुराम नगर कमिटीका अध्यक्ष शेरसिँह माल 'डाइमण्ड' १० हजार धरौटी बुझाएर बुधबार रिहा भएका छन् । परशुराम नगरपालिका वडा नं. ३ मा माओवादी केन्द्रका तर्फबाट निर्वाचित महिला वडा सदस्य राजमती ऐरले अभद्र व्यवहार गरेको भन्दै गत शुक्रवार दर्ता गरेको मुद्दामा मङ्गलवार डडेलधुरा सदरमुकामबाट पक्राउ परेका नगर अध्यक्ष माललाई डडेलधुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको आदेशमा १० हजार धरौटीमा रिहा गरिएको जिल्ला प्रशासन कार्यालय डडेलधुराले जनाएको छ । 

यस सम्बन्धमा थप जानकारीका लागि प्रजिअ जोशीसँग पटक पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन । गत मङ्सिर १० गतेका दिन नेकपा-माओवादी केन्द्र) बाट निर्वाचित महिला वडा सदस्य ऐरलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले अध्यक्ष माललाई पक्राउ गरेको हो । 

डडेलधुरा सदरमुकामबाट पक्राउ गरेर हिरासतमा लिई अनुसन्धान गरिएको र अनुसन्धानपछि मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । 

परशुराम नगरपालिका वडा नम्बर ३ मा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित वडा सदस्य र ऐरले आफ्नो घर शीर्षबाट लालढुंगा बजार हिँडेका बेला नगर अध्यक्ष डाईमण्डले दुर्व्यवहार गरेको भन्दै गत शुक्रवार जिल्ला प्रहरी कार्यालय डडेलधुरामा उजुरी दर्ता गराएकी थिएन । 

डडेलधुरामा उजुरी लेख्न कुनै कानून व्यवसायी तयार नभएपछि राजमतिले धनगढीबाट उजुरी लेखाउनु परेको र इलाका प्रहरी कार्यालय जोगबुडाले उजुरीसमेत दर्ता नगरेको गुनासो गरेकी छन् ।
 
नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष 'डायमण्ड' लाई वडा सदस्य ऐर नेपाली काँग्रेसमा प्रवेश हुन गइरहेको भन्ने गलत सूचना दिएकाले उनले आफूमाथि दुर्व्यवहार गरेको वडा सदस्य ऐरले बताइन । 

अध्यक्ष डायमण्डले जबरजस्ती मोटरसाइकलबाट उतारेर हातपात र गालीगलौज गरेको उनको आरोप छ । त्यसपछि डायमण्डले परशुराम–४ कटाल बजारमा रहेको आफ्नो पसलमा राखेको र लामो समयपछि शौचालय जाने बहानामा त्यहाँबाट भाग्न सफल भएको पीडित राजमती बताउँछिन् । 

माओवादीको क्रियाशील सदस्य रहेकी वडा सदस्य राजमतीमाथि दुर्व्यवहार नगरेको नगर अध्यक्ष डाईमण्डले जिकिर गर्दै आएका छन् । अध्यक्ष मालले सो दिन ऐरसँग आफ्नो भेटघाटसमेत नभएको दाबी गरेका छन् । 

अभद्र व्यवहार सम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका माललाई चाँडो रिहा गर्न जिल्लास्थित न्यायिक निकायहरूले राती अबेरसम्म काम गरेको प्रत्यक्षदर्शी बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ