- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। पार्टीको गण्डकी प्रदेश कमिटीले बुधबार पोखरामा पत्रकार सम्मेलन गरि पोखरामा हुने प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
माओवादी केन्द्रले यहि मंसिर २५ र २६ गते सातै प्रदेशमा एकैसाथ पार्टीको प्रदेश अधिवेशन गर्दैछ ।
अधिवेशनको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एकैसाथ सात प्रदेशसहित भुगोलका तीन गरि कुल १० वटा प्रदेशको भर्चुअल रुपमा उद्घाटन गर्ने जनाइएको छ ।
गण्डकी प्रदेशको अधिवेशन प्रदेश राजधानी पोखरामा रहेको पोखरा सभागृहमा गर्ने तयारी गरिएको छ ।
नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश इञ्चार्ज तथा केन्द्रीय सदस्य हितराज पाण्डेले अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
पार्टीको प्रथम अधिवेशनमा प्रदेशका ८४६ जना प्रतिनिधिहरु सहभागी हुने ईञ्चार्ज पाण्डेले बताए ।
उनका अनुसार अधिवेशनमा एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकासहित प्रदेशका ८५ वटै स्थानीय तहबाट ६०० प्रतिनिधि सहभागी हुनेछन् ।
यस्तै, मनोनित ६० जना, आयोजक कमिटीका ९६ जना, ज्येष्ठ कम्युनिष्ट मञ्च गण्डकी प्रदेशबाट ४३ जना र प्रदेश सल्लाहकार ४७ जना सहभागी हुने उनले बताए ।
माओवादीले अधिवेशनमा प्रतिनिधिबाहेक अन्य कार्यकर्ता तथा सर्वसाधारणलाई सहभागी नगराउने भएको छ ।
प्रदेश कमिटी २२९ सदस्यीय हुने पाण्डेले बताए । उनका अनुसार कमिटीमा नौ पदाधिकारी हुनेछन् । कमिटीमा कम्तिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १९ प्रतिशत दलित, मुस्लिम तथा सीमान्तकृतको प्रतिनिधित्व रहने उनले बताए ।
अधिवेशनको अवसरमा माओवादी केन्द्रको प्रदेश कमिटीले कम्युनिष्ट आन्दोलनलाई यहाँसम्म ल्याइपुर्याउन र जनयुद्धका क्रममा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्ति र उनीहरुको परिवारलाई सम्मान गर्ने प्रदेश सचिव देवेन्द्र पराजुलीले जानकारी दिए ।
माओवादी केन्द्रमा शुरुमा सदस्य मात्र चयन गर्ने र सो समितिका सदस्यले अध्यक्षसहित पदाधिकारी चयन गर्ने प्रावधान रहेको छ । माओवादीले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने र सहमति नभएमा मात्र निर्वाचनमार्फत नेतृत्व चयन गर्ने तयारी गरेको छ ।