arrow

अर्जुननरसिंह केसीले तोडेनन् आफ्नो वाचा, दिए केन्द्रीय सदस्यमा उम्मेदवारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
congress-arjun-narasingh.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उम्मेदवारी दिने समयमा संस्थापन इतरमा सहमति नभए पनि आफ्नो अडानमा कायम रहेका नेता अर्जुननरसिंह केसीले भने गरेको वाचा पूरा गरेका छन् । उनले अन्तिम समयसम्म संस्थापन इतरको टिम मिलाउन प्रयास गरेका थिए । 

उनी आफूलाई उपसभापतिमा लड्न दबाब आएको भए पनि टिम मिलाउने हकमा केन्द्रीय सदस्यमै झरेर पार्टीका लागि त्याग गर्न तयार देखिएका थिए । उनले शनिबार बिहानमात्रै हाम्राकुरासँग सभापतिदेखि महामन्त्रीसम्मको मिल्दो र चित्त बुझ्दो टिम बनाएर एकताको सन्देश दिइ मैदानमा उत्रने योजनामा आफू अन्तिम समयसम्म लडिरहने बताएका थिए । 

१३ औं महाधिवेशनमा महामन्त्रीमा लडिसकेका नेता केसीले एकता बिना मैदानमा उत्रिएर नजितिने सन्देश दिँदै आफ्नो योजना सुनाएका थिए । उनले इतर पक्षमा एकसे एक नेता भए पनि नेतृत्व लिनका लागि टिम मिलाउनुको विकल्प नभएको बताउँदै भनेका थिए ‘उपसभापतिमा मलाई लड्न ब्यापक दबाब आइरहेको छ । म लड्दिन यो समूहको ब्यापक एकताका लागि । मैले प्रस्तावित गरेको रामचन्द्रजी सभापति लड्नुस्, उपसभापति प्रकाशमान र शशांक लड्नुस्, महामन्त्री शेखर र गगन गराएर टिम बनाउँ भनेर अन्तिमसम्म मेरो प्रयास यस्तो रहेको छ । त्यसकारण केन्द्रीय सदस्यमा लड्छु । मेरो अन्तिमसम्मको प्रयत्न यही हो ।’

नभन्दै उनले केन्द्रीय सदस्यमै उम्मेदवारी दिएका छन् । केसीले जनआन्दोलन २०६२–६३ का बेलामा कांग्रेस प्रवक्ताको भूमिका निकै कुशलपूर्वक र संचारमाध्यमसँग सधै नजिक भएर पूरा गरेको भन्दै उनको प्रशंसा हुने गरेको छ । 

लामो समयदेखि इतर पक्षको टिम मिलाउन दर्जनौं बैठक भए पनि सफलता हात लागेन । 

केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान १० देखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय रहेको छ । 

हिजो भृकुटीमण्डपमा उद्घाटन सत्र कार्यक्रम गरेको कांग्रेसले मनोनयन दर्ता भने राष्ट्रियसभा गृहमा गरेको छ । 

 उम्मेदवार मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय आजै बेलुकी ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन आजै राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय भोलि बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन भोलि दिउँसो दिउँसो १२ः१५ बजे र मतदान पर्सी सोमबार बिहान ८ बजेदेखि हुनेछ । 

यस महाधिवेशनमा कांग्रेस नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका हुन् । 

हिजै महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ