arrow

कांग्रेस नेतृत्वमा किन चाहिन्छन् डा. शेखर कोइराला ? 

logo
सुजन बन्जारा,
प्रकाशित २०७८ मंसिर २६ आइतबार
shekhar-koirala-article-by-sujan-banjara.jpg

मुलुकको राजनीति यतिबेला नेपाली कांग्रेसको १४ औं महाधिवेशनको माहोलले तरङ्गित छ । केन्द्रीय नेतृत्वका लागि नेताहरू आ–आफ्नो तयारीमा जुटेका छन् । वडा, गाउँ, नगर, क्षेत्र, जिल्ला हुँदै प्रदेश तहको अधिवेशन सकेर यतिबेला केन्द्रीय नेतृत्व चयनको रस्साकस्सी चल्दैछ । नेतृत्वका लागि वडादेखि केन्द्रसम्म नै प्रतिस्पर्धाको चित्र र चुनौती रोचक देखियो । करिब ४ हजार ७ सय केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू नेतृत्व चयनका लागि काठमाडौंमा छन् । ती प्रतिनिधि कांग्रेस मात्र नभइ मुलुकको भविष्य निर्माता हुन् । लोकतान्त्रिक व्यवस्था, गणतन्त्र र संविधानका संरक्षक हुन् । कांग्रेसको आन्तरिक जीवनका लागि यो महाधिवेशन जति महत्त्वपूर्ण छ, मुलुकको राजनीतिक कोर्स निर्धारणमा पनि यो त्यति नै अर्थपूर्ण हुनेछ । कांग्रेस महाधिवेशनको प्रभाव र परिणामबारे मुलुकभित्र मात्र चासो र चर्चा छैन, अन्तर्राष्ट्रिय समुदायले पनि निकै नजिकबाट नियालेका छन् । यो महाधिवेशनले चयन गर्ने नेतृत्व र नीतिले मुलुकको राजनीतिलाई पनि डोहोर्याउनेछ ।

२०७२ सालको फागुनमा भएको कांग्रेसको १३औं महाधिवेशनबाट निर्वाचित नेतृत्वको चार वर्षे अवधि २०७६ सालको फागुनमा सकिएको थियो । पार्टीको विधान अनि संविधानले दिएको सुविधा उपयोग गर्दै म्याद थपिएको र पटक पटक सर्दै आएको कांग्रेसको यो महाधिवेशनलाई आम जनमानसले निकै महत्वका साथ प्रतीक्षा गरिरहेको छ । 

इतिहासलाई फर्केर हेर्यौं भने जतिबेला लोकतन्त्र खतरातिर उन्मुख हुन्छ, मुलुक सङ्कटमा पर्छ, त्यतिबेला मुलुकले नै कांग्रेसको भूमिका माग्छ अनि जनताले पनि कांग्रेसकै अग्रसरता खोज्छन् । २००७ सालदेखि पछिल्लो पटकको संसद् पुनः स्थापनाको राजनीतिक घटनाक्रमसम्म हेर्ने हो भने हरेक परिवर्तनमा कांग्रेसकै अगुवाइ देखिन्छ । त्यसकारण पनि कांग्रेस सबैको केन्द्रबिन्दूमा पर्दै आएको छ । यसकारण यो पार्टीको नेतृत्व तहमा सफल र असल नेतालाई लैजान अत्यावश्यक छ ।

नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत चुनावमा संस्थापन इतर मानिएको रामचन्द्र पौडेल पक्षले सभापति पदका लागि डा. शेखर कोइरालालाई उम्मेदवार बनाएको छ । पौडेल पक्षको बैठकले कोइरालालाई आधिकारिक उम्मेदवारको रुपमा टुंगो लगाएको हो । कोइराला पार्टीको पदाधिकारीमा पहिलो पटक प्रतिस्पर्धामा छन् । पार्टीमा निकै लोकप्रिय र स्पष्ट वक्ता, पार्टी र कार्यकर्तालाई सर्वोपरी ठान्ने उनको प्यानलको उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरूङ, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगनकुमार थापा  प्रतिस्पर्धामा छन् । जुन आमनेपालीकै लागि एउटा उत्साहको विषय हो । केही गर्न सक्ने जोश, जाँगर अनि अनुभवसमेत भएका नेताहरूको यो टिमले साँच्चै कांग्रेसको काँचुली फेराउन सक्छ । नेतृत्व गर्न तयार युवा पुस्तालाई प्रतिनिधिले परीक्षण गर्ने मौका पाएका छन् ।

हामी अत्यन्त संवेदनशील र जटिल भूराजनीतिक परिवेशबाट घेरिएका छौं । बीचमा हाम्रो विदेश सम्बन्धमा केही अलमल र असन्तुलन पनि देखियो । खल्बलिने खतरामा रहेको विदेश सम्बन्धलाई सन्तुलनमा ल्याउने र अन्तर्राष्ट्रिय समुदायको विश्वास एवं सद्भाव हासिल गर्न ठोस कदम चाल्न आवश्यक छ । वीपीको विचारलाई व्यवहारमै कार्यान्वयन गर्न आवश्यक छ। यस्तै पार्टीको भ्रातृ संगठनलाई आवधिक राख्न, समयमै केन्द्रीय विभागहरुको गठन गर्न, अझ महत्त्वपूर्ण कुरा त आउँदो तीनवटै निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बनाउन, युवालाई आगामी नेतृत्व हस्तान्तरण गर्न र सरकार र सदनमा सशक्त नेतृत्व दिन यो पटक सभापतिमा डा. शेखर कोइराला उपर्युक्त पात्र हुन सक्छन् । पुराना अनुहारप्रति आम कांग्रेसजनमा त्यति धेरै भरोसा छैन । किनकि विगतका आम चुनावमा कांग्रेसले भोगेको पराजय पुराना अनुहारहरुको रुप झल्किएको प्रष्ट देखिन्छ । राष्ट्रिय स्तरका मुद्दामात्र होइन गाउँ घरका साना तर प्रभावकारी मुद्दाहरुमा पुराना अनुहारले सशक्त भूमिका निर्वाह गर्न नसक्दा आम कार्यकर्ताले कांग्रेस नेतृत्वमा नयाँ अनुहारको परीक्षण खोजिरहेका छन् ।

१४ औं महाधिवेशनमा सभापतिमा दोहोरिन चाहेका शेरबहादुर देउवाको कार्यकालमा कांग्रेसले तीनै तहको निर्वाचनमा पराजय भोग्नु परेको छ । राष्ट्रिय निर्वाचनमा उनले नेतृत्व दिन सकेनन् । पार्टी महाधिवेशन र भ्रातृ संगठनलाई आवधिक राख्न सकेनन् । हुनत यसमा उनको मात्र दोष छैन । तर नेतृत्वको भूमिका यही परीक्षण भइसकेको छ । उनले व्यक्तिगत स्वार्थका लागि कांग्रेस कार्यकर्तालाई कम्युनिष्टमा भोट हाल्न लगाए । जुन क्रियाशील कार्यकर्ताका लागि शोभनीय कुरा होइन । यतिमात्र होइन देउवाको नीति, रणनीति सबै फेल खायो । निर्धारित समयमा महाधिवेशनसमेत गर्न सकेनन् । 

देउवासँग इतिहास छ, तर उनले भविष्यको कांग्रेस बनाउन सकेनन् भन्ने कुराको सन्देश तल्लो स्तरसम्म पुगिसकेको छ । विगतको ५ वर्ष ९ महिनामा उनले आफ्नो परीक्षण प्रमाणित गरिसकेका छन् । त्यसले गर्दा कांग्रेसको भविष्य  पुनः देउवाको हातमा सुम्पने प्रयास आम प्रतिनिधिले गर्नु त्यति शोभनीय लागेको छैन । मत हाल्नुअघि कांग्रेससँग जोडिएको मुलुक र भावी सन्ततिको भविष्य सोच्न प्रतिनिधिहरुले सक्नुपर्छ ।

महाधिवेशन प्रतिनिधिमार्फत् ३ करोड नेपालीको विश्वासको नेता बनाउने दायित्व हो । भोलि हुने राष्ट्रिय निर्वाचनमा नयाँ विचार, भिजन दिन सक्ने नेतृत्व कांग्रेसमा आयो है भन्ने हुन्छ नि । नेपालमा भइरहेका समस्यालाई सम्वोधन गर्छ, पार्टीमा भइरहेका बेथितिलाई राम्रोसँग अन्त्य गर्छ भन्ने कार्यकर्तालाई लागेको हुन्छ । एकपक्षीय नभइ, गुटको पछि लागेर कसैलाई काखापाखा गर्दैन भन्ने विश्वासका साथ शेखर डा. सापका नाममा मत हाल्न हात कमाउनु हुन्न भन्ने विश्वास छ । परिवर्तित कांग्रेस र समुन्नत नेपाल निर्माणको यो ठूलो परीक्षण हो ।

कांग्रेसमा नेतृत्व परिवर्तनको प्रशव वेदनामा छ । छटपटी छ। नेतृत्व परिवर्तन त्यो पनि  एउटा फ्रेस नेतृत्वको खोजी छ। यसमा डा. कोइराला त्यसमा अरु भन्दा अग्रपंक्तिमा देखिन्छन् । अर्को कुरा उनीसँग युवा टीम छ। अहिले अधिकांश महाधिवेशन प्रतिनिधिहरु धेरैजसो युवाहरु छन् । ती युवाहरुलाई लिएर कांग्रेस रुपान्तरणको अभियानमा लागिरहेको हुनाले  शेरबहादुर देउवाको विकल्प डा. कोइराला नै भएको कुरा उनी आफैंले पटक पटक भन्दै आएका छन् । 

यति मात्र होइन उनीसँग इतिहास छ । त्याग छ । यसले गर्दा उनले कांग्रेसलाई सशक्त, बलियो  र भरोसायोग्य पार्टी बनाउन सक्छन् । नेतृत्व भनेको त त्यो ‘फेज’ मा, त्यो विचारमा लागेका सबैलाई गतिशील पार्नसक्ने हुनुपर्छ। अहिलेको नेतृत्वबाट त्यस्तो महसुस नै गर्न पाएका छैनन् । यसो हुँदा फेरि पनि उनलाई दोहोर्‍याउनु आम कार्यकर्ताका लागि धोका हो । मुलुकका लागि दुर्भाग्य हो । अन्तमा सबै महाधिवेशन प्रतिनिधिमा सादर अनुरोध ‘अरुलाइ हेर्यौं पटकपटक डा. शेखर कोइरालालाई हेरौं यसपटक ।’
 



नयाँ