arrow

नेपालमा कोरोना फैलिँदै गए बुस्टर डोज लगाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
Covid-vaccine-corona.jpg

काठमाडौं । नेपालमा कोरोना महामारी फैलिँदै गए बुस्टर डोज लगाइने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बताएका छन् । उनले बुस्टर डोज लगाउनका लागि सरकारले नीतिगत र व्यवहारिक रुपमा तयारी गरिसकेको जानकारी दिए । 

'महामारी फैलिँदै गयो भने बुस्टर डोज आवश्यक रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि बुस्टर डोज लगाउने बारेमा मेरो सल्लाह भइसकेको छ', मन्त्री खतिवडाले भने, 'थप सुरक्षित हुनका लागि दुई मात्रा लगाएका व्यक्तिले ६ महिनापछि बुस्टर डोज लगाउने हो । आवश्यक पर्दा यसका लागि सरकार तयार छ ।' 

खतिवडाले बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाउने बताए । उनले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा नै खोप केन्द्र राखेर खोप लगाइने बताए । उनका अनुसार यही पुस ४ गतेदेखि बालबालिकालाई खोप लगाइने छ । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि मोडर्ना खोप ल्याएको छ । 

नेपालमा भेरोसेलको दुई मात्रा लगाएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने सरकारले अतिरिक्त एक मात्रा खोप दिने यसअघि नै निर्णय गरिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले ज्येष्ठ नागरिक, अशक्त बिरामी, मुटु रोगी, मिर्गौला, दीर्घरोगीलाई मात्र बुस्टर डोज लगाउनका लागि सिफारिस गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ