arrow

विमला बनिन् माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
bimala-kc.PNG

कर्णाली । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्षमा विमला केसी निर्वाचित भएकी छन् । माओवादी केन्द्र कर्णाली प्रदेश सदस्यमा निर्वाचित २११ सदस्यमध्येबाट केसी अध्यक्षमा निर्वाचित भएकी हुन् । 

माओवादी केन्द्रको यही मङ्सिर २५ गतेदेखि सुरु भएको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’बाट केन्द्रीय सदस्यबिच प्रदेश अध्यक्षमा सहमति जुट्न नसकेपछि प्रदेश समिति सदस्यबाट अध्यक्षसहितका पदाधिकारी चुन्ने विधि तय गरेको थियो । त्यही विधिअनुसार केसी अध्यक्षमा निर्वाचित भएको बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष रामदीप आचार्यले जानकारी दिए ।

पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहेकी रुकुम पश्चिम जिल्ला निवासी अध्यक्ष केसी कर्णाली प्रदेशसभा सदस्य हुन् । अध्यक्षबाहेक माओवादी केन्द्रको अन्य पदाधिकारी चयनका विषयमा छलफल चलिरहेको जनाइएको छ । अध्यक्ष आचार्यका अनुसार प्रदेश समितिमा केन्द्रीय सदस्य पदेन रहने व्यवस्था गरिएको छ । 

माओवादी केन्द्रका १० जिल्ला क्रमशः रुकुम पश्चिमबाट ३२, सल्यानबाट २९ कालिकोटबाट २९, जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्लाबाट १८, हुम्लाबाट १८, दैलेखबाट १७, डोल्पाबाट ११ र मुगुबाट १० गरी २११ जना प्रदेश सदस्यमा चयन भएका छन् । केन्द्रले प्रदेश समितिमा महिला ३५, दलित २५, युवा २० र अल्पसङ्ख्यक पाँच प्रतिशत समेट्ने गरी विधान निर्माण गरेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ