arrow

शिखर नजिक डा. शेखर

logo
संजिव कार्की, 
प्रकाशित २०७८ पुष १ बिहिबार
263546862_940980099953623_9182641248080235660_n.jpg

डा. शेखर कोइराला नेपाली कांग्रेसको राजनीतिमा अलिपछि जोडिएका व्यक्ति हुन् । आफ्नो व्यवसायिक चिकित्सा जीवनको अवकाशपछि मात्र सक्रियतापूर्वक राजनीतिको मैदानमा लागेका कोइराला परिवारका सदस्य, दुई पटक कांग्रेसको केन्द्रीय सदस्य भन्दा बाहेक उनको अरु पदाधिकारी तहको अनुभव र एकपटक संसद हुनु बाहेक अरु राजकीय हैसियतमा रहेको उलेख्य योग्यता छैन । कोइराला परिवारका भाइ डा. शशांक र बहिनी सुजाता तथा कोइराला इतरबाट पनि ‘अन्डर इस्टिमेट’ गरिएका राजनैतिककर्मी हुन् । उनको राजनीतिक हैसियतबारे आफ्नै र धेरै सिनियर नेताले प्रश्न गरिरहन्थे । आज शेखर जहाँ र जसरी आइपुगे त्यो देखेर उनका परिवार र देउवा खेमाले समेत आश्चर्यमा जिब्रो निकालेको हुनुपर्छ । शेखर यति बलियो होलान् भन्ने कसैको अनुमान थिएन । प्रकाशमान र शेखर एकै खेमाबाट प्रतिस्पर्धामा आउँदा देउवालाई पहिलो राउण्डमा नै रिंग आउट गरिदिन सक्छु भन्ने विश्वास थियो । तर शेखरले आफ्नो क्षमता जसरी देखाए त्यो चानचुने र मूल्यांकन भएको उपलब्धी होइन ।

एउटा कुरा शेखरसँग अवश्य थियो पैतृक राजनीतिक विरासत । यद्यपि भाइ डा. शशांक कोइराला जो वीपी पुत्र नै परे  । बहिनी सुजाता जो जीपी पुत्री हुन् । उनीहरुको तुलनामा र राजनीतिमा अलि पछिमात्रै सक्रिय भएको कारण शेखर ओझेलमै थिए । तर उनी पनि आफ्नी आमा नोना र बाबु केशव कोइरालाका छोरा र राजनीतिक खानदान कोइराला परिवारकै मान्छे हुनुको एउटा आकर्षण शेखरमा रहने नै भयो । संरचनात्मक राजनीतिक लाभांश उसै मिल्ने मनोविज्ञान भएको समाजमा शेखरलाई सो मिलेन भनियो भने वास्तविकताको नजिक नपुगी गरेको विश्लेषण ठहर्छ । त्यसैले राजनीतिक, जातीय संरचनागत लाभांशको स्टेकहोल्डर डा. शेखर कोइराला हुन् भन्दा अत्युक्ति हुँदैन । जसको कारण पछि आएर पनि शेखर नपत्याउँदो पाराले शिखरको नजिक अर्थात् कांग्रेसको केन्द्रको मियो बन्ने स्थितिमा आइपुगे । जबर्जस्त उदाउँदो नेता भएर देखिए ।

हुन त १३ औं अधिवेशनमा नै दोस्रो लोकप्रिय मत पाएर केन्द्रीय सदस्यमा विजयी बनेका शेखर विरासतको बलमा मात्रै यहाँसम्म आइपुगेको निष्कर्ष निकालियो भने त्यो उनको योगदान र परिश्रम देश दौडाहा र सक्रियताको अवमूल्यन हुन्छ । भाइ शशांक र बहिनी सुजाता भन्दा भिन्न र बढी क्रियाशील हुनु नै उनको जबर्जस्त उदयको कारण हो । कसैलाई केही दिने र कसैले अपेक्षा राख्ने स्थान भन्दा पर बसेर कांग्रेस राजनीतिमा शेखरले जुन सक्रियता देखाए त्यो सक्रियता र शेखर झैं कार्यकर्तासँग नजिकिने र घुलमिल हुने गुण शशांकमा हुन्थ्यो भने राजनैतिक संरचनाको संरचनागत लाभको पनि लाभ शशांकको भागमा पर्ने थियो । 

देउवा इतरमा उनको उदय र लक्ष्यलाई तगारो बन्ने कोही हुन्थेन । सुजाता गिरिजाप्रसादकी छोरी भएर जुन लाभांश प्राप्त गरिन् त्यसको थोरै मात्र सदुपयोग गरेको भए आज जति निरीह बन्नुपर्थ्यो शायद त्यति नाजुक बनेर प्रकाशमानसँग शरणागत हुने स्थिति बन्दैनथ्यो । आफ्ना भाइ बहिनीको निस्कृयता र बदनामी शेखरको लागि आफूलाई अलग र अब्बल देखाउने अवसर बनेर आयो जसको फाइदा लिन उनी निरन्तर खटिइरहे । देश दौडाहा गरिरहे । कार्यकर्ता भेट गरिरहे । जनसम्पर्क स्थापना गरिरहे । शेखरले जसलाई आफ्नो सहयोगी बनाए तिनीहरुबाट अपेक्षित सहयोग र साथ पाइरहे । शेखरका सहयोगी  र किचेन क्याबिनेटमा जो थिए तिनको साथ सहयोग विवेक र बुद्धिमतापूर्ण सल्लाह शायद शेखरले आफूले आर्जन गरेका पुँजी पनि हुन् ।

कुनै पनि राजनीतिक विषय र सबालमा शेखर विवादित बनेका छैनन् । कुनै पनि धारणा र सामयिक स्टेटमेन्टको कारण शेखरलाई पछाडि फर्कनु परेको स्थिति आजसम्म छैन । सन्तुलित, सहज, सरल र दृढ अभिव्यक्ति शेखरका आफ्ना विशेषता हुन् । बोलीकै कारण भाइ र बहिनी विवादमा पटक पटक परेको देखेर पनि होला शेखर सन्तुलित देखिन्छन् । ‘एग्रेसिभ’ नहुनु र विचार मन्थन गरेर थोरै बोल्नु शेखरका सवल पक्ष हुन् । कम बोल्ने प्रायः कोइरालाहरूको विशेषता नै देखिएको छ । तर सन्तुलित दृढ र विवादरहित बोलेर शेखरले आजसम्म आफ्नो विश्वसनीय गुम्न र प्रश्न उठाउने ठाउँ छोडेका छैनन् ।

बहालवाला पार्टी सभापति, बहालवाला प्रधानमन्त्रीसँग कहिल्यै मन्त्री नभएको पार्टीको पदाधिकारी नबनेको र ढिलोगरी सक्रिय राजनीतिमा आएको मान्छेको रुपमा शेखरले जुन स्थान र उचाइ हासिल गरेका छन् यो निःसन्देह हाम्रो जस्तो राजनीतिक संस्कारको लागि अनौठो दृश्य हो । कांग्रेस भित्रका थुप्रै स्थापित पटक पटक अवसर पाएर पदाधिकारी भइसकेका नेताहरुको अघि शेखर कनिष्ठ नै हुन् ।  तर क्षमता र सुझबुझ पूर्ण नेतृत्व शैली सरल स्वभाव अनि निरन्तर क्रियाशीलताले उनको नेतृत्व क्षमता छिटो खारिएको देखिन्छ । सक्रिय राजनीतिमा ढिलो जोडिए पनि वीपी कोइरालाको समीप बसेर उनले लाए अर्हाएको काम गर्ने मान्छेहरु भेट्ने र सन्देश आदानप्रदान गर्ने सन्देश वाहकको काम गरेका थिए ।

चन्द्र शेखरलगायत भारतका थुप्रै नेताहरूको सन्देश र कांग्रेस निर्वासनमा रहेको बेला विभिन्न सेल्टरको सन्देह लिने ल्याउने काम शेखरको थियो । यसका अतिरिक्त सरकारी सेवामार्फत धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बनेर दक्षिण एशियामा नै राम्रो स्वास्थ्य संस्था स्थापना गरेर आफ्नो व्यवस्थापकीय क्षमता प्रदर्शन गरेका छन् । नेपालको शान्ति प्रक्रियामा माओवादीलाई सहमत गराउन गिरिजाप्रसादको सहयोगी भएर पनि शेखरले आफ्नो क्षमता देखाएका थिए । कोइराला परिवारमा आर्थिक मामलामा पनि बेदाग शेखर आफ्नो क्षमतामा विश्वास गर्ने र आफ्नो बढाइ चढाइ खासै नरुचाउने प्रचारको भोक नभएका कुटनीतिक शैलीका नेतामा गनिन्छन् ।

संस्थापन इतरको साख र सान भए पनि आफ्नै भाइको तटस्थता, बहिनीको विद्रोह र स्वयं रामचन्द्रको उदासिनताले शेखर पराजित बने । राजनीतिमा सबै हार मूल्यहीन हुँदैनन् । शेखरले हारेर पनि मूल्य र मानक स्थापना गर्दैछन् । सम्भावनालाई रोक्ने र छेक्नेको घैंटोमा घाम लाग्ने गरी आफ्नो उपस्थिति र अपरिहार्यतालाई अनुमोदन गराएका छन् । रामचन्द्रले आफ्नो समूह पक्षधरतालाई साथ दिएको भए शशांक र सुजाताले बन्धुघात नगरेको भए शेखरको उदय सुनिश्चित थियो । अब समयको बाढी पर बगिसक्यो यसैलाई फर्काउन सकिन्न तर पाठ सिक्न भने मजाले सकिन्छ । यो पाठ कांग्रेसभित्र मात्रै होइन कांग्रेस इतरले समेत सिक्नुपर्ने देखिन्छ ।

कोइराला परिवारको हुनु नै कांग्रेसमा योग्यता हुनु चाहिँ होइन । तर राजनीतिक परिवारको हुनु र सुझबुझपूर्ण राजनीतिको आरोहअवरोह देखेको हुनु अतिरिक्त योग्यता हो जुन विरासतमा लिएर शेखर उदाएका छन् । नव युवा समूह र केही पुराना नेता लिएर शेखरले एक्लै जे गरे जति राजनीतिक योग्यता देखाउन सके त्यो एक्लो प्रयासबाट छोटो समयमा प्राप्त उपलब्धी हो । संगठन निर्माण र दौडधूपमा समूह बनाएर जान सकेको भए त्यो उदारता पहिले नै विकास गरेको भए शायद शेखरलाई यो पटक नै कांग्रेस पार्टीको सत्ताको चावी हात लाग्न सक्थ्यो । कांग्रेसभित्र शेखरलाई साथ दिने सहयोग गर्ने थुप्रै नेता कार्यकर्ता खिया लागेका छन् । बोधो र भुत्ते भएका छन् । अल्छी र निकम्मा छन् । ती सबैको संरक्षण गर्ने तिनका दिमागमा राजनीतिक विचारको पाइन हाल्ने अर्जाप्ने धार लाउने आरन निर्माण पनि अब शेखरका लागि चुनौतीका विषय छन् ।

हिजो एक्लै हिंडे हुन्थ्यो । अब एक्लै हिंडेर कहिँ पुगिन्न । देश भरका ४० प्रतिशत नेताहरूको मतलाई संरक्षण गरेर अरु थुप्रै नेता कार्यकर्ता आफ्नो नजिक राख्नुपर्ने र शेरबहादुर देउवाले गराउने राजनीतिक क्षतिको जिम्मेवारी पनि पार्टीको नेता हुनुको कारण लिनुपर्ने अवस्था कोइरालाको काँधमा सरेको छ ।  राजनीतिक नेतृत्व परिवर्तनको एजेण्डा छोडेका प्रकाशमान र निधीको अस्थिरता, विरोधाभाषपूर्ण शैली र बदलिइरहने स्वभावलाई पनि व्यवस्थापन गर्दै जानुपर्ने चुनौती छ । पार्टीको केन्द्रीय सभापतिमा उपविजेता बन्नु भनेको सभापति मात्रै नहुनु हो । नेतृत्वको गुण र त्यो लेवलको नेतृत्व दिन हरदम तयार बन्नु र बस्नु हो ।

अनेकन घेराबन्दी र मोर्चाबन्दीलाई परास्त गर्ने रणनीति बनाई राख्नुपर्ने तिनलाई अध्यावधिक गर्नुपर्ने, स्वार्थ र सत्ताको लेनदेनलाई पार्टीको पक्षमा र जनतामा देखिने गरि लागु गराउनु पर्ने यावत जिम्मेवारी अब शेखरको लागि एकैपटक आएका छन् । पार्टीमा परिवर्तनको पक्षधरता पार्टी उन्नतिको एकनिष्ठ गन्तव्य शेखर मार्फत बिम्बित हुनुपर्छ । राजनीतिको सहजयात्रा सकियो । अब ठूलो व्यवस्थापकीय भूमिका र जिम्मेवारीको भारी बहन गर्नुपर्ने हुन्छ । जितेर मात्रै नेता हुने परिपाटी होइन यो । तसर्थ हारेर पनि नेता जन्मिने र उदाउने प्रक्रिया चलिरहन्छ । सिद्धान्त, नीति, नैतिकता र इमान हार्नु हुँदैन चुनावको जय पराजय क्षणिक हो ।  



नयाँ