arrow

एमालेले सत्ता गठबन्धनलाई एक ध्रुवको शत्रु मान्यो, सच्यायो योगेश र गोकर्णको वरियता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
ncp-uml-party-head-office-hq-oli.jpg

काठमाडौं । एमालेको दोस्रो केन्द्रीय कमिटीको बैठकले सत्ता गठबन्धन र एमाले आमुन्ने सामुन्ने भएको निष्कर्ष निकालेको छ । बिहीबार राति नेता कार्यकर्ताको नाममा जारी भएको ४९ पृष्ठ लामो अन्तरपार्टी निर्देशन (अपानी–१) मा केपी शर्मा ओलीले एकातिर सत्ता गठबन्धन र अर्कोतिर आफ्नो पार्टी रहेकाले राजनीति नै दुई ध्रुवमा विभाजित भएको उल्लेख गरेका छन् ।

‘सत्ता गठबन्धनले नेपालको राष्ट्रिय राजनीतिलाई दुई ध्रुवमा विभाजित गरिदिएको छ । एउटा ध्रुवको नेताका रुपमा हाम्रोपार्टी खडा भएको छ र अर्को ध्रुवका रुपमा नेपाली कांग्रेसको नेतृत्वमा पाँचदलीय सत्ता गठबन्धन छ । सत्ता गठबन्धनका राष्ट्र, जनता र कम्युनिष्ट आन्दोलन विरुद्धका गतिविधिहरूको सामना गर्ने क्रममा हामीले आफ्नो शक्तिलाई थप सुदृढ र एकताबद्ध बनाउन सफल हुनेछौं’, उनले जारी गरेको अपानीमा भनिएको छ ‘अबको एकवर्ष भित्रमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाका निर्वाचनहरू आयोजना हुनेछन् । स्थानीय तहको निर्वाचन बैशाखभित्रै गर्नुपर्ने संवैधानिक र कानुनी व्यवस्था छ । नेपालमा अस्थिरता सिर्जना गर्ने र राजनीतिक स्थायित्व कायम हुन नदिने प्रपञ्च अनुरुप हाम्रोपार्टी र नेतृत्वका विरुद्धमा नियोजित हमला हुँदै आएका छन् ।’
 
उनले जारी गरेको अपानीमा स्वाधीनता र स्वाभिमानको पक्षमा उभिने सम्पूर्ण देशभक्त नेपालीहरूको साझा पार्टीका रुपमा, विकास र समृद्धिको आकांक्षा राख्ने सबै नेपालीहरूको बलियोसाथ र समर्थन प्राप्त भएको पार्टीका रुपमा एमाले मात्रै भएको दावी समेत गरेका छन् ।

‘जबजको मार्गदर्शनमा समाजवादको आधार तयार गर्ने कुरामा सहमत सबै प्रगतिशील र वामपन्थी शक्तिकोसाझा पार्टीका रुपमा नेकपा (एमाले) को विकास गर्नुपर्दछ । त्यसका लागि दोस्रोपूर्ण बैठकबाट महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश एमालेको दसौं राष्ट्रिय महाधिवेशनपछि बसेको पहिलो र दोस्रो बैठकपछि पहिलो अन्तरपार्टी निर्देशन–१ (अपानी) जारी भएको छ । 

अपानीमा बैठकमा भएका सबै निर्णयहरुमा गोकर्णराज विष्ट र योगेश भट्टराईको वरियताक्रम सच्याएर पठाइएको छ । केन्द्रीय कमिटीको बैठकमा छविलाल विश्वकर्मा र रघुवीर महासेठभन्दा पछि राखिएको थियो । 

अहिले माओवादीबाट आएका दुई टोपबहादुर रायमाझी र लेखराज भट्टपछि गोकर्णराज विष्ट र योगेश भट्टराईको वरियताक्रम निर्धारण गरी सर्कुलर गरिएको छ । केन्द्रीय कमिटीबाट गरिएको जिम्मेवारी वाँडफाँड, वरियता निर्धारण, केन्द्रीय सदस्यहरुको मनोनयनसम्म समेटिएको र जनवर्गीय संगठनको अधिवेशन, जिल्ला र प्रदेश अधिवेशनहरुको मिति समेत समेटिएको छ । 

पार्टीका निर्णय तथा निर्देशलाई तल्ला कमिटीमा पठाउन एमालेले अन्तर पार्टी निर्देशन जारी गर्ने गर्दछ । एमाले महासचिव शंकर पोखरेलले अन्तर पार्टी निर्देशन– १ केन्द्रीय पदाधिकारी तथा सदस्यहरु र प्रदेश तथा जिल्ला कमिटीले पाउनेगरी इमेल गरिएको गरेका छन्  । 

एमालेले महाधिवेशनपछिका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार (आज) नै पत्रकार सम्मेलन पनि गर्दैछ । एमालेले पार्टी इतिहासमा पहिलो पटक विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन अलग–अलग रुपमा आयोजना गरेको थियो ।

 विधान महाधिवेशनबाट राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पारित गरी कार्यान्वयनमा आइसकेका छन् । अपानिमा राष्ट्रिय महाधिवेशनले पार्टी विधानमा आंशिक संशोधन गर्नुका साथै ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो । 

अन्तर पार्टी निर्देशनमा महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको चितवनमा बसेको पहिलो पूर्ण बैठक र मंसिर २५ र २६ गते जर्मन होम्स हस्पिटालिटी, भक्तपुरमा बसेको दोस्रो पूर्ण बैठकका निर्णयहरु पठाइएको एमालले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ