arrow

जो कहिल्यै चुनाव हारेनन् 

logo
सन्जय भट्टराई, 
प्रकाशित २०७८ पुष ५ सोमबार
shashank-koirala-final1.jpg

कावासोती । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट कार्यकारी पद महामन्त्रीमा निर्वाचित भएका डा. शशांक कोइरालाको १४ औँ महाधिवेशनमा सभापति पदमा दावेदारी स्वाभाविक थियो । देश दौडाहाको क्रममा पटक–पटक शेरबहादुर देउवालाई आफू बाहेक अरु कसैले हराउन सक्दैन भनेर सार्वजनिक अभिव्यक्ति दिँदै आएका कोइरालाले संस्थापन इतर समूहबाट साझा उम्मेदवारको रस्साकस्सी चलिरहेका बेला टिमका सिनियर नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवारको रुपमा प्रस्ताव गरेर आफ्नो फराकिलो छाती र त्यागको उदाहरण त दिए तर उनले चाहे अनुसार रामचन्द्र पौडेल साझा उम्मेदवार भने बन्न सकेनन् ।

संस्थापन इतरका रामचन्द्र पौडेल साझा उम्मेदवार बन्न नसकेपछि निर्वाचन प्रक्रियाबाट बाहिरिएपछि शशांक सभापति पदका स्वभाविक दावेदार भए पनि आफ्ना दाजु शेखर कोइरालाले दाबी गरेपछि उनी रोकिएका थिए । संस्थापन इतरका अर्का नेता प्रकाशमान सिंह सहमतिमा आउन नसकेपछि पौडेलले मैदान खाली गरे भने संस्थापन इतरले उनै शशांकका दाजु शेखरलाई उम्मेदवार बनायो । 

शशांक तटस्थ बसे । दाजुलाई सघाएनन् । तर शशांकले पहिलेदेखि भन्दै आएजस्तै संस्थापन इतर नमिल्दा पार्टी सभापति सहज रुपमा शेरबहादुर देउवाको पोल्टामा पुग्यो । दोस्रो जनआन्दोलन ०६२–६३ पछि आफ्ना काका गिरिजाप्रसाद कोइरालाको इच्छाअनुसार कोइरालाहरुको विरासत धान्नका लागि राजनीतिमा आएका शशांक यसअघि चिकित्सा पेशामा रमाएका थिए । पार्टी भित्र आफ्नो आवश्यकता महसुस गरिएको र आफ्ना काकाको इच्छाको कारणले राजनीतिमा आएका उनको व्यक्तिव भने सरल छ ।

नेपालका जननिर्वाचित प्रथम प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला २०१५ सालको चुनावमा खट्ने तयारीमा रहेका बेला शशांकको जन्म भएको हो । र, उनी दुई वर्ष पुग्दा नपुग्दै वीपी प्रधानमन्त्रीबाट हटाइए । २०१७ साल पुस १ गते राजा महेन्द्रले कू गरेपछि वीपी जेल परे । शशांक भारतको बनारसमा पुर्याइए । उतै उनले विद्यालय तहको अध्ययन पूरा गरे । शशांकले भारतमै आइएस्सी उत्तीर्ण गरे र उतै एममीबीबीएस अध्ययन गरे ।

एमबीबीएस पढ्दै गर्दा थाइल्याण्डकी युवतीसँग शशांकको प्रेम सम्बन्ध भयो । भारतीय पिता र थाई आमाबाट जन्मेकी सुपात्रा भाटिया भारतमा छात्रवृत्ति पाएर अध्ययनरत थिइन् । पछि उनीहरुले नेपालमै आएर विवाह गरे र भारतबाटै शशांक र सुपात्रा दुवै जना एमडीसम्मको अध्ययन पूरा गरी डाक्टर बने । भारतमा रहँदा शशांक र सुपात्रा आमा सुशीलासँगै बसेका थिए । उनीहरु उतै हुँदा वीपी कोइरालाको निधन भएको थियो ।

शशांक पत्नी डा. सुपात्रा कोइराला प्रसुती सम्बन्धी नेपालकी चर्चित डाक्टर हुन् । सुपात्राले डा. भोला रिजालको ओम अस्पतालमा काम गर्दा प्रसुती सेवामा राम्रो नाम कमाएकी छिन् । उनी कुशल सर्जन मानिन्छिन् । डा. शशांकचाँहि आँखाका विशेषज्ञ हुन् । 

राजनीतिमा लाग्नुपूर्व शशांकले काठमाडौंको शिक्षण अस्पताल एवं वीपी कोइराला मेमोरियल अस्पतालमा काम गरेका थिए । चिकित्सा पेशाबाट राजनीतिमा होमिएका कोइरालाले २०६४ सालको चुनावमा नवलपरासीबाट ३ हजारको फराकिलो मतान्तरले माओवादीका ठाकुरप्रसाद चापागाईँलाई हराएका थिए । 

कोइरालाले त्यसबेला १७ हजार ४ सय ३० मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी चापागाईले १४ हजार ९ सय ७२ मत पाएका थिए । सो क्षेत्रमा २०६४ सालमा एमालेको मत साढे ८ हजार मात्रै आएको थियो । दोस्रो संविधानसभामा पनि शशांकले नवलपरासी १ नै रोजे र त्यहाँबाट जित हात पारेर संविधानसभामा आए ।

संविधान जारी भएपछिको २०७४ सालको निर्वाचनमा पनि नवलपरासी १ बाट वाम गठबन्धनका उम्मेदवार भविश्वर पराजुलीलाई ४ हजार बढी मतान्तरले हराउँदै कोइरालाले तेस्रो पटक आम निर्वाचन जितेका थिए ।

आँखाको शल्य चिकित्सकबाट राजनीतिमा होमिएका कोइरालाले निर्वाचन कहिल्यै हारेनन् । पार्टीको १३ औ महाधिवेशनमा पनि लोकप्रिय मतका साथ महामन्त्रीमा निवार्चित उनी १४ औं महाधिवेशनमा सभापतिको दावेदारी गरिरहँदा दावेदार धेरै भएपछि पछाडि सर्नुपर्यो । त्यसपछि उनी केन्द्रीय सदस्यमा लडे । 

लो प्रोफाइलमा बसेर पनि योगदान गर्न सकिने बताएका कोइरालाले केन्द्रीय सदस्यमा खुल्लातर्फ सर्वाधिक मत ल्याएर विजयी भएका छन् । कोइरालाले ३ हजार ८ सय ३६ मत पाए । जुन कूल खसेको मतको करिब ८२ प्रतिशत हो ।

स्वभाविक सभापति पदको दावेदारका रुपमा रहेका शशांकले शालिन रुपमा सिनियर नेतालाई मार्गप्रशस्त गरे । त्यसले उनको उचाइलाई अझै अग्ल्याएको छ । उनी पार्टीको १४ औं महाधिवेशनसम्म आइपुग्दा एक शालीन र त्यागी नेताको रुपमा देखिए पनि शेरबहादुर देउवासँग मिलेर शेखर कोइरालालाई असहयोग गरेका आरोपहरु चिर्न र तितर बितर भएको कोइराला परिवार र संस्थापन इतर समूहलाई एक बनाउन भने राम्रै कसरत गर्नुपर्ने देखिन्छ ।

सम्भवतः वीपीको रुप देखेर जसरी मतदाताले उनलाई लोकप्रिय मत दिए त्यसरी नै मतदाताको भावना बुझेर वीपीको विचार अंगाल्दै उनले काम गरिदिए हुन्थ्यो भनी कामना गर्नु अन्यथा नहोला । 

 



नयाँ