arrow

कांग्रेसका यी ‘हेभिवेट’ अब के गर्छन् ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
congress neta.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चुनावको मतपरिणाम अन्तिम चरणमा छ । कांग्रेस महाधिवेशनमा सभापतिमा चर्चामा रहेका दुई नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला अन्तिम समयमा मैदानमा उत्रिएनन् । पौडेलले आफ्नो समूहबाट साझा उम्मेदवारी दिने विषयमा अन्तिम समयसम्म पनि प्रयत्न जारी राखे। नसकेपछि उनी आफू मैदानबाटै बाहिरिए। सिटौला शेरबहादुर देउवासँगको तालमेलमा अघि बढे र आफू ब्याक भए । यी त महाधिवेशन अघिका कांग्रेस राजनीतिका कुरा भए । अब भने कांग्रेस भित्रको हेवी वेट मानिएका नेता पौडेल र सिटौला के गर्छन् त ?

पौडेल भन्छन्, ‘मैले महाधिवेशनमा इमान्दारितालाई बन्धक बनाइन, मेरो प्रयास भलै विफल भयो, तर मैले धोकाघडी गर्न जानिन, अब पनि कांग्रेसलाई बचाउन लाग्छु, धोकाघडी जान्दिन ।’

उनी पछिल्लोसमय आफूप्रति नेताकार्यकर्ताबाट भएको व्यवहारबाट भने दुःखी छन् । पौडेलले आफू निकटकाहरुसँग राजनीतिबाटै अलग हुने संकेत पनि गर्दै आइरहेका थिए । तर उनीसँग सन्निकट रहेका केहीले उनलाई सो निर्णयबाट रोकिन सुझाएसँगै उनी पार्टीलाई एकतावद्ध बनाउने दिशामा केन्द्रीत हुने सोचमा पुगेका छन् । तर सबै कुरा छर्लङ्ग भने उनले खोलिसकेका छैनन् ।

‘उहाँको सोच कांग्रेस मजबुत होस् भन्ने छ, निर्वाचित सभापतिको स्वेच्छाचारिता र पदाधिकारी तथा सिंगो केन्द्रीय समितिमा रहेका युवाहरुको आवेगलाई रोक्दै कांग्रेसलाई बलियो बनाउने गरी भूमिकामा रहन्छु भन्ने उहाँको आशय छ,’ पौडेल निकट नेता ताराबहादुर कोइरालाले भने ।

नेता सिटौलाले भने चुनावी मैदानमा सहभागी हुँदै गर्दा नै आफूले सभापतिमा देउवालाई सडकबाटै सहयोग गर्ने बताएका थिए । सो बखत उनले आफू अब झनै सक्रिय रुपमा अघि बढ्ने बताएका थिए । पछिल्लो समय भने सिटौलाले सभापतिले गर्ने व्यवहार अनुसार अघि बढ्ने मनस्थिति बनाएका छन् ।

‘१३औं महाधिवेशनमा पनि सिटौलाजीले देउवालाई खुलेरै समर्थन गर्नुभयो, १४औं महाधिवेशनमा त उहाँ आफू ब्याक हटेरै देउवालाई समर्थन दिनुभयो, अहिले उहाँको सोच सभापतिले गर्ने व्यवहार र उहाँको आवश्यकता हेरेर अघि बढ्ने भन्ने छ,’ सिटौला निकट एक नेताले हाम्राकुरासँग भने ।

यी दुई नेता बाहेक सभापतिमा पराजित भएका विमलेन्द्र निधी, प्रकाशमान सिंह, उपसभापतिमा पराजित विजयकुमार गच्छदार लगायतका नेताहरु कसरी अघि बढ्छन् भन्ने चासो कांग्रेस वृत्तमा छ।

सभापतिमा निधीले कसरी अघि बढ्ने भन्ने विषयमा मुख खोलेका छैनन् । उनी प्रदेश २ को अधिवेशन र जिल्ला अधिवेशन नै बाँकी रहेकाले प्रदेश अधिवेशन र जिल्ला अधिवेशन सकिएपछि थप रणनीति बनाउने तयारीमा रहेको उनी निकट नेताहरु बताउँछन् । निधीले पहिलो चरणमा सभापतिमा पराजितत भएपछि दोस्रो चरणको निर्वाचनमा देउवालाई सहयोग गरेका थिए ।

यसैगरी सभापतिमा पराजित सिंहले भने पार्टीलाई विधिसंगत रुपमा चलाउन सभापतिलाई खबरदारी गर्ने बताए । उनले सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा देउवालाई सहयोग गरेका थिए । ‘पार्टीलाई विधिसंगत रुपमा चलाउनु पर्छ, मेरो कुरा हिजो पनि त्यही हो, आज पनि त्यही हो, मेरो खबरदारी निरन्तर रहन्छ’, सिंहले भने ।

यस्तै उपसभापतिमा पराजित बनेका गच्छदार भने निर्वाचन परिणामपछि निराश छन् । उनी २ मत मात्रै कम भएका कारण उपसभापतिमा धनराज गुरुङसँग पराजित भएका थिए । उनलेसमेत आगामी राजनीतिक बाटोबारे केही खुलाइसकेका छैनन् ।

यसअघि महामन्त्री रहेका डा. शशांक कोइराला भने केन्द्रीय सदस्यमा सर्वाधिक मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनी कांग्रेस राजनीतिमा सक्रिय रहने संकेत उनका पछिल्ला भेटघाटले पनि गरिरहेको छ ।

यसैगरी महामन्त्रीमा पराजित डा. मिनेन्द्र रिजालले भने रक्षामन्त्री पदबाट राजीनामा दिइसकेका छन् । उनले अब राजनीतिमा सक्रिय नरहन पनि सक्ने आशय संचारकर्मीहरुसँग व्यक्त गर्दै आइरहेका छन् । उनले आफ्नो राजीनामा पत्रमा ‘पार्टीभित्र आफ्नो समर्थनको आधार अत्यन्त संकुचित भएको’ उल्लेख गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ