arrow

घोलक र सिरिन्ज नआएपछि स्थगित भयो बालबालिकाको फाइजर खोप अभियान, कहिले आउँछ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १३ मंगलबार
moderna.jpg

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका विभिन्न ८ जिल्लामा आज (पुस १३ गते) देखि शुरु हुने भनेको कोरोना भाइरसविरुद्धको फाइजर खोप अभियान स्थगित गरेको छ । मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै सिरिन्ज प्राप्त नभएको भन्दै खोप अभियान स्थगित गरेको जानकारी दिएको हो ।

यसअघि मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेत गरी ८ जिल्लामा मन्त्रालयले १२ देखि १७ वर्षका बालबालिकालाई पुस १३ गतेदेखि खोप लगाउने निर्णय गरेको थियो । तर अहिले खोपसँगै आउनुपर्ने ०.३ एमएमको सिरिन्ज प्राप्त नभएको भन्दै मन्त्रालयले खोप अभियान स्थगित गरेको जानकारी दिएको हो ।

कोभ्याक्स सुविधामार्फत उपलब्ध भएको ६ लाख ६४ हजार ६० डोज खोपको सिरिन्ज र डाइलुएन्ट (घोलक) प्राप्त नभएका कारण खोप अभियान स्थगित हुन पुगेको खोप शाखा प्रमुख डा. सागर दाहालले जानकारी दिएका छन् ।

‘सिरिन्ज र घोलक प्राप्त नभएका कारण फाइजर खोपको अभियान स्थगित भएको हो, अन्य सबै खोप अभियान भने जारी छ’, उनले भने ।

घोलक भोलि बुधबार १४ गते नै प्राप्त हुने भनिएको र सिरिन्ज पनि चाँडै (हप्ता १० दिन सम्म) प्राप्त हुने उनले बताएका छन् । ‘डाइलुएन्ट २९ तारिकमा आउने भनिएको छ, सिरिन्ज पनि चाँडै आउँला’, खोप शाखा प्रमुख दाहालले भने ।

सिरिन्ज प्राप्त हुने बित्तिकै खोप लगाउने कार्यक्रम शुरु गरिने मन्त्रालयले जानकारी दिएको छ । खोपसँगै आउने सिरिन्ज आउन ढिलाइ हुँदा मन्त्रालयले खोप अभियान स्थगित गरेको हो ।

देशभर अन्य तोकिएका ५७ जिल्लामा १२ देखि १७ वर्षका बालबालिका लागि चलिरहेको मोर्डना खोप अभियान, विदेश जान लागेका १८ वर्षभन्दा माथिका लागि जोन्सन एण्ड जोन्सन र १८ वर्षमाथिका नागरिकका लागि भेरोसेल र एस्ट्राजेनेका खोप अभियान भने जारी रहेको मन्त्रालयले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ