- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेले जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा तीन बुँदे निर्देशन दिँदै प्रतिस्पर्धामा रोक लगाएको भए पनि केही जिल्लाहरुमा प्रतिस्पर्धाबाटै नेतृत्व चयन भएको छ । संगठन विभाग खगराज अधिकारीले जारी गरेको निर्देशमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिँदै प्रतिस्पर्धा गर्न रोक लगाएपछि जिल्ला जिल्लामा सहमतिको प्रयास भएको तर केही जिल्लामा प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको हो ।
प्रतिस्पर्धाबाट हुँदा सबैभन्दा घाटा सूर्य थापालाई भएको छ । पहिलो पटक भूगोलको जिम्मेवारी लिएर गएका थापालाई घाटा लागेको हो । जिल्ला अधिवेशनमा इन्चार्जसहित सहभागी भएका थापाले आफू निकट उम्मेदवार खडा गरेर जिल्लालाई विवादित बनाउन खोजेका थिए । तर लामो समयदेखि भूगोलमै बसेर काम गरेका विजयविराज विष्टले जीत हात पारे ।
थापाले नेहरसिंह केसीलाई उचालेर विष्टविरुद्ध खडा गरेपछि निर्वाचन भएको थियो । निर्वाचनमा विष्टले ३ सय १४ मत ल्याउँदा थापाका उम्मेदवार नेहरसिंह केसीले १७६ मत मात्रै ल्याए । त्यस्तै निर्वाचन उपाध्यक्षमा पनि थापा पक्षका उम्मेदवारको हार भएको थियो ।
२९५ ल्याएर झगबहादुर विश्वकर्मा निर्वाचित भएका छन् । सचिवमा माधव शर्मा २७२ ल्याएर विजयी भएका छन् । उपसचिवमा माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोकाले ३ सय ७२ र दिपा घर्तीले ३ सय ८४ मतका साथ विजयी भए । उपसचिवका अर्का प्रत्याशी बिनोद ओलीले १ सय ७१ मत ल्याएका थिए ।
त्यसैगरी खुल्ला दलित सदस्यमा राजेन्द्र गौतमले २७९ र पुर्ख सिंह सुनारले १७६ मत ल्याएर विजयी भए । निकटतम प्रतिद्वन्द्वी गिरबहादुर सुनारले जम्मा ९२ मत ल्याएका थिए । विजय विराज विष्ट लामो समय वामदेव गौतमको सचिवालयमा बसेर काम गर्दै आएका थिए ।
उनी गौतम निकट नेता मानिन्छन् । गौतम एमालेमा निष्कृय हुँदा विष्ट भने एमालेमै सक्रिय भएका थिए । गौतम निकट भएकै कारण थापाले विष्टलाई जिल्ला अध्यक्षमा ल्याउन खोजेका थिएनन् । दशौं महाधिवेशनपछि पोलिटव्यूरो सदस्य भएर पार्टी अध्यक्ष केपी ओलीको आशीर्वादसहित पहिलो पटक भूगोलको राजनीतिमा प्रवेश गरेका थापालाई विष्ट जिल्ला अध्यक्ष भएपछि पहिलो गाँसमा ढुङ्गा लागेको छ ।
विष्टको विजयप्रति उनले कुनै प्रतिक्रिया जनाएका छैनन् । नाम उल्लेख नगरी बधाई मात्रै भनेका छन् । सामाजिक सञ्जालमा सधै नाम उल्लेख गरेर बधाई दिने गरेका थापाले विष्टको विजयमा भने निर्वाचित पदाधिकारीहरुलाई बधाई मात्रै लेखेका छन् ।
आगामी निर्वाचनमा प्यूठानबाट उम्मेदवार हुने मनशायसहित जिल्ला प्रवेश गरेका थापाले आफू अनुकुलको जिल्ला कमिटी बनाउन असफल भएका छन् । ‘स्थानीय साथीहरुलाई विभाजन गर्नुभयो यसले अन्ततः उहाँलाई नै बेफाइदा गर्छ’, प्यूठानका एक जिल्लास्तरीय नेताले भने ।
ओली प्रधानमन्त्री हुँदा स्वकीय सचिव हुँदा जिल्लावासीलाई वास्ता नगरेका थापाले प्यूठान इन्चार्ज भएर गएपछि उनलाई स्वीकार्न सकिरहेका छैनन् भन्ने यो अधिवेशनले देखाएको प्यूठानका नेताहरुले बताएका छन् ।
सूर्य थापाले अध्यक्षमा विष्टलाई स्वीकार्न नसक्दा एमालेको केन्द्रीय समझदारीका विपरीत निर्वाचनमा जानुपर्ने परिस्थिति उत्पन्न भएको थियो । अध्यक्षमा मात्रै होइन सूर्य थापा समूह अघोषित रूपमा प्यानल बनाएरै निर्वाचनमा सहभागी भएको थियो । तर केही बाहेक सबै पदमा उनी निकट रहेकाहरु पराजित भएका छन् ।