- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
उदयपुर । ठूलै रस्साकस्सीका साथ नेकपा एमाले उदयपुरले सर्वसम्मत जिल्ला कार्यसमिति घोषणा गरेको छ । अध्यक्ष मण्डलका अध्यक्ष, नेकपा एमाले केन्द्रीय सदस्य, जिल्ला ईन्चार्ज तथा पूर्व शहरी विकास राज्यमन्त्री मंजु चौधरीले सोमबार अबेर सर्वसम्मत कार्यसमिति घोषणा गरेकी हुन् ।
गुट नभएको भनिए पनि स्थानीय स्तरबाटै नेताका फेर समातिएपछि अध्यक्षमा ३ जना, उपाध्यक्षमा दुई, सचिवमा दुई र सहसचिवमा तीन उम्मेदवार चुनावी मैदानमा थिए ।
पुस २३ गते उद्घाटन गरी शुरु भएको बन्द सत्र नेतृत्व छनोटको रस्साकस्सीका कारण तीन दिन लम्बिएको थियो । अध्यक्ष मण्डलमै मतविभाजनका कारण अधिवेशन लम्बिएको एक प्रतिनिधिले बताए । पेचिलो बन्दै गएको अधिवेशले अध्यक्षमा परमेश्वर घिमिरे, उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, सचिवमा कालु लामा, सहसचिवद्वयमा टेकबहादुर राउत र भरत थापा चयन गरेको छ ।
अध्यक्ष घिमिरे पार्टीलाई संकट पर्दा उदयपुरको नेतृत्व लिएका एक स्वाभिमानी युवाका रुपमा चिनिन्छन् । उपाध्यक्ष श्रेष्ठ कटारी नगरपालिकाका नगरप्रमुख हुन् । सचिव लामा युवा व्यवसायी तन्नेरीहरुबीच लोकप्रिय मानिन्छन् ।
सहसचिव राउत प्राध्यापन पेशाबाट अवकास लिएका हुन् भने थापा सामाजिक संघ संस्थामा परिचित छन् ।
सचिवका दुई उम्मेदवार शम्भु पौडेल र कुशलबाबु बस्नेतमध्ये पौडेलले सहमतिमा हस्ताक्षर गरे भने बस्नेत लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भए पनि चुनावमै जान पाएनन् । उनले न्यायको लागि ढोका ढक्ढक्याउने बताएका छन् ।
सहसचिवका उम्मेदवार सृजना दनुवार र महेश्वरी राईले महिलाहरुको प्रतिनिधित्व नभएकोमा आक्रोश पोखेका छन् । एक जना महिलालाई पनि पदाधिकारी नबनाइएकोमा प्रतिधिहरुले आक्रोश पोखेका हुन् ।