arrow

नाकाबाट बढ्दो स्पेयर पार्टस अवैध आयातले राजश्वमा धक्का

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
nepal-border.jpeg

भैरहवा । भारतसँग खुला सीमानाका कारण अवैध रुपमा नेपालमा मालसामान ओसारपसार भइरहेको छ । केही महिना यता भने यो क्रम ह्रवात्तै बढेर गएको छ जसको प्रत्यक्ष असर सरकारको राजश्वमा पर्ने देखिएको छ । विशेष रुपमा नेपालको मुख्यनाकामध्ये एक सुनौली नाकाबाट अवैधरुपमा ठूलो मात्रामा गाडीमा लाग्ने पार्टसहरु भित्रिने गरेको पाइएको छ । जसबाट राज्यलाई दिनहुँ ठूलो मात्रामा राजश्व नोक्सानी पर्न गएको छ । 

आधिकारिक रुपमा गाडीमा लाग्ने पार्टसहरु भित्र्याउँदा मूल्य अभिवृद्धि करसहित ४३ प्रतिशतसम्म राजश्व बुझाउनु पर्ने हुन्छ । तर यी सामान अवैध तवरबाट भित्रिँदा सरकारलाई दैनिक लाखौँको राजश्व नोक्सानी हुँदै आइरहेको छ । जबकि सम्बन्धित निकाय मौन बसिदिँदा यो क्रम दिनानुदिन बढ्दै गइरहेको छ । 

भैरहवा क्षेत्रमा अटो पार्टस व्यवसाय गरी बसेका जमुना एण्ड सन्सका संचालकका अनुसार सम्बन्धित निकायले कुनै चासो नदिँदा दैनिक खपतको ६० प्रतिशत बढी पार्टसहरु अवैध तवरले आयात भइरहेका छन् । जसले अवैध आयातलाई प्रोत्साहन गर्नुका साथै सरकारको राजस्व संकलनमा पनि असर पुगेको छ । 

शुरुआती चरणमा सीमा आसपासमा मात्र यस्ता गतिविधि भए पनि हाल आएर रुपन्देही, कपिलवस्तु एवं नवलपरासीका सम्पूर्ण क्षेत्रसम्म विस्तार भएको बताइन्छ । श्री कृष्ण अटोमोवाइलका संचालक सुरज रेश्मी मगर सम्बन्धित निकायलाई निरुत्साहित गर्न जतिसुकै झक्झक्याए पनि कुनै ठोस पहल नगरेको बताउँछन् । 

त्यस्तै प्रतिक्रिया दिन्छन् बुटवल इन्जिनियारिड एसोसिएसनका उपाध्यक्ष बाबुराम आचार्य । उनले सरकारलाई दैनिक लाखौँको नोक्सानी हुनु भनेको जनतालाई नोक्सानी हुनु भएको बताउँछन् । 

स्थानीय व्यापारीका अनुसार गाडी धनी स्वयंले सीमापारीका व्यापारीलाई सम्पर्क गर्ने र एजेन्टको सहयोगमा विभिन्न किसिमको सेटिङ्गमा ग्यारेजसम्म मालसामान खुलेआम उपलब्ध गराउने गरेका छन् । 

यसले राजस्वमा प्रत्यक्ष असर त गरेको नै राज्यलाई कर तिरेर व्यवसाय सञ्चालन गरिरहेका स्थानीय व्यापारीहरु विस्थापित हुनुपर्ने अवस्था आएको छ ।

यस्तो किसिमको भयावह स्थिति आइसक्दा पनि सम्बन्धित निकायले नजरअन्दाज गर्नुले सो निकायको कार्यशैलीप्रतिसमेत प्रश्न चिन्ह खडा गरेको सम्बन्धित व्यवसायीहरुको आरोप छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ