arrow

लहरो सेयरको

कालोसूचीका एनबी ग्रुपका लक्ष्मीबहादुर र जीतबहादुर आईएफआईसीको सेयर खरिद गर्नबाट वञ्चित 

दुगड र अग्रवालसँग मिसिदा गोल्छा र मुरारका पनि तानिए विवादमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
nabil-bank-nb-bank.jpg

काठमाडौं। नेपाल बंगलादेश (एनबी) बैंकको प्रमुख सेयरधनी आईएफआईसीले २०७७ असार २९ गते आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने सूचना जारी गर्यो । यस्तो अवस्थामा हकदार मानिन्छन् सोही बैंकका प्रमोटरहरु । त्यसैले बंगालदेशको आईएफआईसी बैंकको सेयर किन्ने हकदार थिए एनबी बैंकका सेयरधनी । 

एनबी बैंकको संस्थापक प्रवर्द्धक रहेको एनबी ग्रुपका सदस्यहरुले आईएफआईसी बैंकको सेयर किन्ने प्रस्ताव गरे । एनबी ग्रुपका जितबहादुर श्रेष्ठ, लक्ष्मीबहादुर श्रेष्ठ, एल्सन श्रेष्ठ, बिल्सन श्रेष्ठदेखि लिएर उनीहरुको स्वामित्व कम्पनी हिमालयन क्यापिटल मार्केट्स एण्ड इन्भेष्टमेन्टले प्रस्ताव हालेका थिए । तर नियामक निकाय नेपाल राष्ट्र बैंकले एनबी बैंकमा रहेको आईएफआईसीको सेयर किन्न एनबी ग्रुपका सदस्य तथा कम्पनीहरु ‘फिट एण्ड प्रोपर टेस्ट’ मा अयोग्य ठहर गर्यो । 

राष्ट्र बैंकको नियमअनुसार यसरी संस्थापक सेयर किन्नका लागि बैंकका सेयरधनीहरु ‘फिट एण्ड प्रोपर टेस्ट’मा योग्य हुनुपर्छ । एनबी ग्रुपका लक्ष्मीबहादुर र जितबहादुर परिवारका सदस्य कालोसूचीमा परेको हुँदा राष्ट्र बैंकको नियमअनुसार योग्य भएनन् । लक्ष्मीबहादुर र जितबहादुरले प्रस्ताव दर्ता गरे पनि उनीहरुको पछाडि भने अरु व्यवसायिक घरानाहरु थिए ।

एनबी ग्रुप अयोग्य भएपछि सो सेयर चौधरी ग्रुपले किन्ने र नबिल बैंकमा एनबीलाई एक्विजेशन गर्ने प्रक्रिया अघि बढायो । नेपाल राष्ट्र बैंकले पनि नबिलसँग एनबी बैंकको मर्ज भएमा बैंकिङ क्षेत्रमा एउटा सफल उदारहण कायम हुने अपेक्षा गरेको थियो । 

एनबी बैंकलाई बदनाम गर्ने पात्रहरु

एनबी बैंकमा लफडा हुनु कुनै नौलो विषय होइन । २७ वर्षको इतिहास बोकेको एनबी बैंक लफडै लफडाको खानी हो भन्दा फरक पर्दैन । यसका लगानीकर्ताहरु लफडामा रुमल्लिँदा २७ वर्षमा पनि व्यवसाय विस्तार गर्न र राम्रो प्रतिफल दिन नसकेपछि ४१ प्रतिशत स्वामित्व भएको बंगाली लगानीकर्ता आईएफआईसी आफ्नो सेयर बेचेर बाहिरिने निर्णयमा पुगेको हो । 

पछिल्लो दशक व्यवसायमा सफलता पाउँदै गएको शंकर ग्रुपलाई एउटा वाणिज्य बैंक चाहिएको थियो । शंकर ग्रुपले शुरुमा एक्लै बंगलादेशी बैंकको सेयर किनेर बैंकमा प्रवेश गर्ने योजना बनाएको थियो । उद्योग र ट्रेडिङमा रहेको शंकर ग्रुपले पछिल्लो ४ वर्षमा सेवा क्षेत्रमा जीवन बिमा कम्पनी ल्याएको छ भने गत वैशाखमा हिमालयन रि इन्स्योरेन्स लाइसेन्स पाउन सफल भएको छ । 

शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले बैंकमा आफूहरुले लगानी गर्न चाहेको सार्वजनिक रुपमा बताउँदै आएका थिए । तर शंकर ग्रुप र  त्यसका प्रबन्ध निर्देशक साहिल अग्रवालसँग बैंक सञ्चालन गरेको अनुभव थिएन । 

एनबीजस्तो कमजोर बैंकलाई नबिल जस्तो बलियो बैंकले लिइदिओस् भन्ने राष्ट्र बैंकको चाहना थियो । र अझै पनि छ । जसकारण शंकर ग्रुपलाई  लाग्यो कि आईएफआईसीको सेयर सीधै किन्न पाइँदैन । त्यसैले शंकर ग्रुपले सेयर किन्नका लागि सनराइज बैंकका अध्यक्ष मोती दुगडको साथ लियो । 

मोती दुगड पछिल्लो समयमा नेकपा एमालेका अध्यक्ष केपी शमौ ओलीको दाहिने हात भएर राज्यका स्रोत साधनमा कब्जा जमाउने अभियानमा छन् । उनले नून जस्तो संवेदनशील विषयमा पनि निजी क्षेत्रको प्रवेश दिलाएर एकलौटी व्यापार गर्ने प्रपञ्च मिलाइरहेका छन् । 

उनले नेतृत्व दिएको सनराइज बैंक पनि नेपालको कमजोर बाणिज्य बैंक मानिन्छ । सञ्चालक समितिमा धेरैजसो समय लफडा भइरहने सनराइजलाई राष्ट्र बैंकले पनि मर्जरमा जाने दबाब दिँदै आएको छ ।
 
परिवारभित्र भतिजा मालचन्द्र दुगडसँगको विवादले सनराइजमा सँधै लफडा हुन्छ । र त्यो लफडा बेलाबेलामा छताछुल्ल हुँदै आएको छ । आफू अध्यक्ष भएको सनराइज बैंककै अवस्था दयनीय भएका बेला दुगड किन एनबी बैंकको सेयरमा लफडा मच्चाइरहेका छन् ? 

विश्वस्त स्रोत भन्छ, ‘‘दुगड त बाहिर देखिएका पात्र मात्रै हुन्, लक्ष्मीबहादुर श्रेष्ठको डिजाइन र शंकर ग्रुपका साहिल अग्रवालको ब्याकिङमा यो सबै काम भइरहेको छ ।’

एनबी बैंकमा रहेको आईएफआईसी बैंकको सेयर किन्नका लागि दुगडलाई शंकर ग्रुपसहित शेखर गोल्छा तथा पशुपति मुरारकाले पनि सहयोग गरेका छन् । हिमालयन क्यापिटल मार्केट्स एण्ड इन्भेष्टमेन्टले आईएफआईसीको सेयर ७ अर्ब रुपैयाँमा किन्ने भनेर सम्झौता गरेको बताएको छ । 

तर उसको सम्झौतालाई राष्ट्र बैंकले अयोग्य सावित गरिसकेको छ । राष्ट्र बैंकले अयोग्य सावित गरेपछि मात्रै चौधरी ग्रुपले त्योभन्दा कममा डिल फाइनल गरिसकेको बुझिएको छ । स्रोतका अनुसार उक्त इन्भेष्टमेन्ट कम्पनीमा मोती दुगडले ३ अर्ब, साहिल अग्रवालले अढाई अर्ब, शेखर गोल्छाले ३० करोड, पशुपति मुरारकाले २० करोड र अन्य केही व्यवसायीले करिब १ अर्ब रुपैयाँ हाल्ने प्रतिबद्धता जनाउँदै राष्ट्र बैंकमा स्वीकृतिका लागि पत्राचार गरेका थिए । 

तर अहिलेसम्म पनि राष्ट्र बैंकले उनीहरुलाई सेयर किन्नका लागि स्वीकृत दिएको छैन । दुगडले हाल्ने भनेको ३ अर्बमा पनि अग्रवालकै ब्याकिङ रहेको स्रोतको दाबी छ । तर कसैले पनि नगद भने हालेका छैनन् । 

साहिल र शेखरको साझेदारी युनियन लाइफमा छ भने हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष शेखर गोल्छा छन् ।

कालोसूचीमा परेको तथा बैंकको ऋण तिर्न बाँकी भएको एनबी ग्रुप कुनै पनि हालतमा चौधरी ग्रुपलाई सेयर किन्न दिने पक्षमा थिएन । नबिल बैंककै ऋण नतिरेका कारण एनबी ग्रुपका लक्ष्मीबहादुर र जितबहादुरका परिवार र कम्पनी कालोसूचीमा परेका हुन् । 

अहिले पनि श्रेष्ठ परिवारले नबिल बैंकसँग डेढ दशकअघि लिएको ५० करोडभन्दा बढी ऋण तिर्न बाँकी छ ।

यस्तो छ राष्ट्र बैंकको व्यवस्था
एनबी बैंकका सेयरधनीलाई मात्र आइएफआइसी बैंकको सेयर किन्ने पहिलो हकदार हुन्छ । त्यही हकको फाइदा उठाएर एनबी ग्रुपको कम्पनी हिमालयन क्यापिटलमा मोती दुगड, साहिल अग्रवाल, शेखर गोल्छा र पशुपति मुरारकाको प्रवेश भएको छ । जबकि नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंकको संस्थापक सेयरधनी रहेको कम्पनी तथा फर्मको सेयर किनबेच हुँदा त्यसको स्वीकृति नेपाल राष्ट्र बैंकबाट लिनुपर्छ ।

हिमालयन क्यापिटल मार्केट्स एण्ड इन्भेष्टमेन्टको एनबी बैंकमा ०.७० प्रतिशत सेयर स्वामित्व छ । यो कम्पनीको सेयरधनी परिवर्तन गर्न राष्ट्र बैंकको अनुमति नलिइ दुगड र शंकर ग्रुप प्रवेश गरेर अहिले रडाको मच्चाएका हुन् ।

आईसीआईसी बैंकको सेयर आफूहरुले किन्ने सम्झौता भएको भन्दै काठमाडौं जिल्ला अदालतमा दुगडले एनबी बैंकविरुद्ध मुद्दासमेत हालेका छन् । दुगडले हालेको मुद्दामा मंगलबार मात्रै जिल्ला अदालत काठमाडौंका न्यायाधीश रामचन्द्र पौडेलको एकल इजालसले सेयर बिक्री गर्ने कार्य नगर्नु नगराउनु भन्ने आदेश जारी गरेको छ । 

अदालतले ७ दिनभित्र विपक्षी नेपाल बंगलादेश बैंकलाई लिखित जवाफ पेश गर्नसमेत आदेशमा भनिएको छ । यसको अर्थ चौधरी ग्रुपलाई सेयर किन्न नदिएको अर्थमा प्रचार गरिएको छ । जबकि राष्ट्र बैंकले यस बारेमा अदालतलाई स्पष्ट पार्नासाथ सबै कुरा यो प्रचार पानीको फोका सावित हुने अवस्था छ ।
 
‘नेपाल बंगलादेश बैंक लिमिटेडको ३६८२७४२६ कित्ता सेयर १५७ रुपैयाँका दरले खरिद गर्न गत मार्च ३१ तारिखमा राखिएको प्रस्ताव स्वीकार गरी विपक्षीबाट अप्रिल २ मा स्वीकृत गरी करार गरी अघि बढिसकेको भन्ने उजुरी साथ पेश गरेको पत्रबाट देखिँदा सो बमोजिम सेयर विपक्षीबाट लिखित जवाफ प्राप्त नभएसम्म सो सेयर अन्य व्यक्तिलाई बिक्री गर्ने कार्य नगर्नु नगराउने’ आदेशमा भनिएको छ ।

एनबी बैंकलाई नबिल बैंकसँग मर्ज हुन नदिने उद्देश्यले गैरकानूनी रुपमा दुगड र अग्रवाल एनबी बैंकको सेयरधनी बनेको एनबी बैंकका उच्च अधिकारीहरुको भनाइ छ ।
‘अदालतमा मुद्दा हाल्ने दुगडजीहरु एनबी बैंकको सेयरधनी नै होइनन् । यसरी गैरसेयरधनीले हालेको मुद्दामा अदालतले सेयर बिक्री नगर्नु नगराउनू भन्ने आदेश आएपछि हामी छक्क परेका छौं’, एनबी बैंक स्रोतले भन्यो, ‘हामी ७ दिनभित्र लिखित जवाफमात्रै दिँदैनौं शुक्रबारसम्ममा उक्त निर्णय खारेजीको माग गर्दै भ्याकेट हाल्छौं ।’
 
नियामक निकाय राष्ट्र बैंकको स्वीकृति बिना गैरकानूनी रुपमा एनबी बैंकको सेयरधनी बनेर लफडा मच्चाउँदै हिँड्ने अधिकार कसैलाई पनि नभएको ती अधिकारीले बताए । 
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र पूर्व अध्यक्ष पशुपति मुरारका ब्ल्याक लिस्टेड एनबी ग्रुपका साझेदारसँग मिलेर आफ्नो इज्जतमा धक्का लागेको महसुस गरेका छन् । 

स्रोतका अनुसार उनीहरू अहिले बेकारमा यो लफडामा जोडिनु परेको र यसले भविष्यमा समेत आफ्नो छविमा नकारात्मक प्रभाव पर्ने भन्दै पर्दा बाहिर आउन चाहिरहेका छैनन् ।  उनीहरु यो विवादबाट टाढिने अवसर खोज्ने अवस्थामा पुगेको स्रोतको दाबी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ