arrow

लुम्बिनीमा मस्जिद बनाउने खिमलालको अभिव्यक्ति विवादमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १ शनिबार
khimlal-bhattarai-uml-upper-house.jpg
फाइल तस्बिर

कपिलवस्तु। राष्ट्रिय सभाका सचेतक एवम् नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले एक कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिएका छन्। भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा राम जानकी हनुमान मन्दिरको शिलान्यास कार्यक्रममा एमालेका केन्द्रीय सदस्य भट्टराईले लुम्बिनीमा बुद्ध र राम जानकी हनुमान मन्दीरसगै मुस्लिम समुदायको लागि अत्याधुनिक मस्जिद पनि निर्माण गर्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका हुन्।

हिन्दु धर्मावलम्बीको कार्यक्रममा मुस्लिम समुदायको मदरसा निर्माण हुनुपर्ने धारणा राखेपछि भट्टराईको चर्को आलोचना भएको छ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले मन्दिरको शिलान्यास गरे। उनले कुनै विवादास्पद अभिव्यक्ति दिनबाट बचे पनि भट्टराईले लुम्बिनीमा मस्जिद निर्माण हुनुपर्ने बताएर विवादलाई निम्तो दिएका छन्। 

भट्टराईको उक्त अभिव्यक्ति पछि हिन्दु परिषद् नेपालका अध्यक्ष सन्तोष पटेलले चर्को विरोध गर्दै भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा मस्जिद र मदरसा बनाउने अभिव्यक्ति दिनु आपत्तिजनक भएको बताए।

पटेलले आफू मुस्लिम धर्मको विरोधी नभएको बताउँदै मस्जिद र मदरसाको लागी उक्त ठाउँ उपयुक्त नभएको बताए।

एक बिगाहा एक कट्ठा क्षेत्रफलमा ५ करोड ४८ लाख ७४ हजार ४९ को लागतमा सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ६५ प्रतिशत रकम र नगरपालिकाको ३५ प्रतिशत रकमको लगानीमा सो मन्दिर एक वर्ष ६ महिनामा तयार गरिने योजना रहेको बताइएको छ।

यसमा मुख्य रूपमा रामजानकी हनुमान मन्दिर निर्माण गरिनेछ, जुन २ हजार वर्ग फिटमा रहनेछ। धर्मशाला, क्यान्टिन, बाउण्ड्रीवाल, जलाशय र चर्पी निर्माण गरिनुका साथै सो स्थानमा माटो पुर्ने कार्य गरिनेछ।

यस कार्यको ठेक्का यसै मङ्सिर महिना १५ गते स्वीकार भएर निर्माणका लागि ठेकदार कम्पनी सित सहमति भइसकेको नगरपालिकाका इन्जिनियर राजेश कोहारले बताए।

शिलान्यासका लागि लुम्बिनीस्थित मायादेवी पोखरीबाट जल भरेर सुरु भएको कलश यात्रा नगर परिक्रमा गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न.१ स्थित खुनगाई भगवानपुरमा निर्धारित मन्दिर परिसरमा सो शिलान्यास गरिएको हो। यसका लागि भारतको अयोध्याबाट राम जन्मभूमिको पवित्र माटो र सिताराम नामक इँटा समेत ल्याइएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ