arrow

रौतहटमा एमाले अध्यक्षमा पूर्व माओवादीलाई, असन्तुष्ट पक्षको रडाको, ओली मौन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ३ सोमबार
CPN-UML-Flag.jpeg

रौतहट । माधव नेपालले पार्टी फुटाएको झ्वाँकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रौतहट जिल्लाको अध्यक्ष पूर्व माओवादी समूहलाई दिएका छन् । माओवादीबाट एमालेमा आएका स्थायी कमिटी सदस्य प्रभु साह पक्षले रौतहटमा एकलौटी रुपमा रौतहटमा नयाँ नेतृत्व घोषणा गर्दा पनि ओली मौन बसेपछि पूर्व माओवादीलाई दिएको पुष्टि भएको छ । 

रौतहटमा एकलौटी जिल्ला कब्जा गरेको भन्दै अर्को पक्षले विद्रोह गरेको छ । साह पक्षले त्रिभुवन साहलाई जिल्ला अध्यक्ष चयन गरेपछि निवर्तमान अध्यक्ष तुल्सीराज गिरी पक्षले अस्वीकार गरेको हो ।

एमाले नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनको घोषणा गरिएको थियो । तर गिरीले ‘अध्यक्ष मन्डलद्वारा घोषित एकलौटी जिल्ला कमिटीलाई ‘अवैध’ भनेका छन् । 

अधिवेशनको हलले जिल्ला कमिटीलाई अनुमोदन गरेको छैन । गिरीले रौतहटमा  सोमबार गरुडा पार्टी कार्यालयमा उपस्थित हुन सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षकलाई बोलाएका छन् । 

प्रभुले अध्यक्षमा त्रिभुवन साह, उपाध्यक्षमा दिपक यादव, सचिवमा बालबिक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेलसहित १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको जानकारी दिएपछि रौतहटमा चरम विवाद भएको छ । 

देशभर स्याङजाबाहेक कुनै पनि स्थानमा पूर्व माओवादीहरुले जिल्ला अध्यक्षको नेतृत्व पाएका छैनन् । स्याङ्जामा सूर्यप्रसाद गैरेले जिल्ला अध्यक्षको चुनाव जितेका थिए । आइतबार भने रौतहटमा पनि जिल्ला अध्यक्ष पूर्व माओवादी समूहबाट भएका छन् । 

प्रभु शाहले पार्टी अध्यक्ष ओलीलाई भेटेर नै रौतहटमा आफू निकट रहेका नेतालाई अध्यक्ष बनाउने बताएका थिए । त्यो विषयमा पूर्व एमालेहरु भने सहमत थिएनन् ।

एमालेभित्र रौतहटमा माधव नेपाल समूहको पनि राम्रो उपस्थिति रहेका बेला ओलीले त्यहाँ नेपाल समूहलाई तिररवितर पारेका थिए । अहिले आफ्नै समूहलाई बेवास्ता गर्दै ओलीले रौतहटमा एमाले पूर्व माओवादीलाई जिम्मा लगाएको पूर्व एमालेहरुले आरोप लगाएका छन् । 

उनीहरुले प्रभु साहले घोषणा गरेको कमिटीलाई मान्यता नदिने भन्दै समानान्तर कमिटी घोषणा गर्ने चेतावनी दिएका छन् । तराईका जिल्लामा एमालेभित्र प्रभु साह हावी हुने कि पूर्व एमालेहरु हावी हुने भन्ने होडवाजी रहेका बेला रौतहटमा विवाद देखिएको हो । रौतहटको विवादले पूरै प्रदेश २ लाई असर गर्ने एमालेले जनाएको छ ।

‘अहिले रौतहटमा जे अभ्यास भयो त्यो निकै गलत छ, थोरै संगठन बोकेर आउने अनि पार्टी कब्जा गर्ने यो नीति ठीक छैन अध्यक्ष उनीहरुले लिने हो भने पदाधिकारी सबै एमालेहरुले पाउनुपर्ने हुन्छ हामीले पहिलादेखि नै यही कुरा उठाउँदै आएका थियौँ’, रौतहटका एक एमाले नेताले भने । उनका अनुसार पर्सा, महोत्तरी, सिराह जस्ता जिल्लामा पनि यसको असर पर्नेछ ।



नयाँ