arrow

मन्त्री झाँक्रीका १०० दिन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ३ सोमबार
ram-kumari-jhakri.PNG

काठमाडौं ।  शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शहरी पूर्वाधारसम्बन्धी कानुन निर्माण र नीति सुधारमा कार्यभार सम्हालेको १०० दिनमा उल्लेखनीय काम भएको बताएकी छन् । मन्त्रालयको नेतृत्व सम्हालेको १०० दिन पूरा भएका अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले शहरी नीति संशोधन अन्तिम चरणमा पुगेको बताइन् । 

मस्यौदा तयार भएको शहरी विकास विधेयकमा युटिलिटी कोरिडोरको विषय पनि राखेर अन्तिम रुप दिई संसद्को चालु अधिवेशनमै दर्ता गर्न लागिएको मन्त्री झाँक्रीले जानकारी दिइन् ।

नगर विकास कोषको सङ्गठन संरचनालाई नयाँ स्वरुपमा परिवर्तन गर्न लागिएको जानकारी पनि उनले दिइन् । काठमाडौं उपत्यकाको सभ्यताको स्रोतका रुपमा रहेको वाग्मती नदीलाई स्वच्छ र सफा बनाउने अभियानमा पनि मन्त्रालय जुटेको मन्त्री झाँक्रीको भनाइ थियो । 

“वाग्मतीको नयाँ गुरुयोजना बनाउन आवश्यक छ, वाग्मती नदीलाई स्वच्छ बनाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको विधेयक मस्यौदा पनि अन्तिम चरणमा पुगेको छ, धापमा निर्माण भएको जलाशयमा यसै वर्षको वर्षादेखि पानी जम्मा गरी वाग्मतीमा हिउँदमा पनि बहाव बढाउने तयारी भएको छ”, उनले भनिन् ।

नेपाल आवास कम्पनी लिमिटेडको प्रबन्धपत्र र नियमावली संशोधन गरेर नयाँ स्वरुप दिने गृहकार्य पनि मन्त्रालयले अघि सारेको छ । लिमिटेडको जग्गामा बसेका १२ हजार ६६० परिवारलाई जग्गाको पुर्जा दिने क्रममा १०० परिवार लाभान्वित भइसकेका छन् । बाँकी परिवारलाई पनि दिने तयारीमा मन्त्रालय लागेको छ । 

दुई वर्षदेखि बैठकसमेत बस्न नसकेको काठमाडौँ उपत्यका विकास प्राधिकरण भौतिक विकास समितिका बैठक बसी उपत्यकामा चार नयाँ सहर निर्माणको काम अघि बढाउने निर्णय गरिएको छ । समितिको अर्को बैठक बाहिरी चक्रपथ निर्माणको कामसमेत अघि बढाउने तयारी भएको छ ।संविधानमा पहिलोपटक समावेश भएको आवासको हक कार्यान्वयनका लागि पनि मन्त्रालयले काम गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

पत्रकार सम्मेलनमा अधिकार सम्पन्न वाग्मती समितिका आयोजना निर्देशक नवराज प्याकुरेलले नदीको सार्वजनिक क्षेत्रमा अतिक्रमण बढेकाले निर्मम रुपमा प्रस्तुत हुन लागेको बताए । नदी किनारमा अव्यवस्थित रुपमा बसेका सुकुम्वासीलाई व्यवस्थित गर्न लागिएको छ । 

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले तीनमहिने अवधिमा राउटेलाई आवास निर्माणको सुरुआतदेखि प्रधानमन्त्री निवासको काम सम्पन्न गरेर प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ निवासमा सर्नुभएको प्रसङ्गसमेत उपलब्धिका रुपमा रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ