arrow

कर्मभूमि समाज र सीबीफीनबीच समझदारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
karmabhumi-cbfin-binod-chaudhary.jpg

काठमाडौं । देशभर लघु, साना तथा मझौला उद्यम विकास एवं विस्तारका लागि आवश्यक पर्ने सबै खाले सहजीकरण गर्न कर्मभूमि समाज र बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफीन) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

समझदारीपत्रमा कर्मभूमि समाजका तर्फबाट अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरी र सीबीफीनका तर्फबाट वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार बेरोजगार युवा तथा महिला, आर्थिक जोखिममा रहेका तथा सीमान्तकृत समुदाय, वैदेशिक रोजगारबाट फर्केका नेपाली तथा उद्यमशील बन्न चाहने र सम्भावना बोकेका क्षेत्रमा नयाँ उद्यम स्थापना गर्न चाहने सबैलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । 

कर्मभूमि समाजले उद्यमशील बन्न आकांक्षीहरूलाई व्यवसाय दर्ता, सम्भाब्य परियोजना सम्बन्धी सोच प्रदान गर्दै त्यस्ता परियोजनालाई बैंक तथा वित्तीय संस्थामार्फत सहुलियत ऋणका लागि प्रस्ताव तयार गर्न सहयोग गर्ने र सीबीफीनले त्यस्ता योग्य प्रस्तावलाई सहज वित्तीय पहुँचका लागि पहल गर्ने समझदारी भएको छ । 

साथै स्थानीय स्तरबाट छनोट हुने यस्ता परियोजना कर्मभूमि समाज र सीबीफीनले स्थानीय गाउँपालिका वा नगरपालिकाहरु समेतको सहकार्य–समन्वयमा कार्यान्वयन गराउने समझदारीपत्रमा उल्लेख छ । 

कर्मभूमि समाजले स्थानीय तहमा सञ्चालन गरिने उद्यमी प्रशिक्षण तथा सीप विकास तालिमको प्रभावकारिताका लागि प्रशिक्षकको प्रशिक्षण सञ्चालन गर्ने र सम्बन्धित उद्यम, व्यवसायका उत्पादनको बजारीकरणका लागि स्थानीय साझेदारसँग सहकार्य तथा मूल्य श्रृंखला विकासका लागि काम गर्ने भएको छ । 

गत वर्षदेखि उद्यमशीलता तथा सीप विकासका क्षेत्रमा काम गर्दै आएको कर्मभूमि समाजले ३७ जिल्लाबाट एक हजार ४६ वटा प्रस्ताव प्राप्त गरेकोमा एक सय १६ परियोजना बैंक तथा वित्तीय संस्थाबाट स्वीकृत भई सहुलियतपूर्ण कर्जा प्राप्त गरिसकेका छन् भने छिट्टै उद्यमशीलता विकास अभियानलाई सबै जिल्लामा विस्तार गर्ने योजना रहेको अध्यक्ष चौधरीले बताए ।
 
सीबीफीनले लघु, साना तथा मझौला उद्यममा लगानी सम्बन्धी मेलामार्फत् बैंक तथा वित्तीय संस्था र सम्भाब्य उद्यम सञ्चालन गर्न चाहनेहरूलाई एउटै प्लेटफर्ममा ल्याएर दुई पक्षबीच अन्तक्र्रिया गराउने तथा यस्ता परियोजनामा लगानीका लागि बैंक तथा वित्तीय संस्थामा फोकल पर्सन (सम्पर्क व्यक्ति) तोक्न लगाउने, वित्तीय साक्षरता तथा ‘नो योर बिजनेस’ कार्यक्रमहरू सञ्चालनमा सहकार्य गर्ने र कर्मभूमि समाज समेतको परामर्शमा यस्ता उद्यममा सहजै वित्तीयकरणका लागि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायत नियामक निकायलाई रचनात्मक सुझाव पेश गर्ने उल्लेख छ ।
 
समझदारीपत्रका देखिएको छ, ‘मुलुकमा आर्थिक समुन्नतिका लागि सबै नागरिकलाई आयआर्जनको सुनिश्चिचता गरिनुपर्छ र यो पवित्र कार्यमा सरकार, दातृ निकाय, निजी क्षेत्र लगायत सबैले हातेमालो गर्न आवश्यक छ । अगाडि बढ्ने क्रममा हामी समान उद्देश्य भएका संस्था र कार्यक्रमहरूसँग सहकार्य गर्नेछौं,’ समझदारीपछि कर्मभूमि समाजका अध्यक्ष माननीय विनोद चौधरीले भन्नुभयो, ‘युवाहरूमा रहेको नवीन सोच, नयाँ–नयाँ व्यवसायिक योजनालाई व्यवहारमा रूपान्तरण गर्न वित्तीय पहुँच, सीपयुक्त जनशक्ति तथा बजार पहुँच आवश्यक छ । यसका लागि दुई संस्थाबीचको समझदारी उद्यमशीलता विकासको अभियानमा कोशेढुंगा सावित हुनेछ ।’ 

समझदारीपछि सीबीफीनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता शाहले देशभर युवा तथा महिला उद्यमीहरुको उत्पादन गरी उत्पादनमूलक, रोजगारमूलक एवं आयात प्रतिस्थापन गर्ने उद्यम तथा व्यवसायहरुको विकास एवं विस्तारमा यो परियोजना राष्ट्रिय महत्वको परियोजना भएको बताउँदै दीगो बैंकिङ विकास, उन्नत अर्थतन्त्र र समृद्ध राष्ट्र निर्माणको आधारशिलासमेत निर्माण गर्ने बताए । 

उनले यस परियोजनाको सार्थक कार्यान्वयनमा सम्बन्धित मन्त्रालयहरु, नेपाल राष्ट्र बैंक, प्रदेश सरकार र स्थानीय सरकारको समेत सहयोग र सहकार्य आवश्यक रहेको बताउँदै सीबीफीन र कर्मभूमि समाजको पहलले उद्यमशीलता विकास तथा विस्तारमा ठोस टेवा पुग्ने विश्वास व्यक्त गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ