arrow

विवादको भूमरीमा नेताहरु

केपी ओलीको फोनले महेश बस्नेतको गयो सातो

११ औं महाधिवेशनको तयारी थालिएछ नि भन्दै युवा संघको विवाद नमिलाए आफैंले हस्तक्षेप गर्ने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ५ बुधबार
kp-oli-mahesh-basnet-phone.jpg

काठमाडौं । नेकपा एमालेको जनसंगठन युवा संघको विवादमा महेश बस्नेत हावी भएपछि अध्यक्ष केपी शर्मा ओली आफैं विवाद मिलाउन सक्रिय भएका छन् । ओलीले मंगलबार मोर्चा संगठन प्रमुख भानुझ ढकाललाई फोन गरेर पोखरा बैठकको सर्कुलर रोक्न निर्देशन दिएका छन् भने महेश बस्नेतलाई फोन गरेर ११ औं महाधिवेशनको तयारी थालिएछ नि भन्दै युवा संघको विवाद नमिलाए आफैंले हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । 

मंगलबार दिउँसो युवा संघका इन्चार्ज रहेका बस्नेतलाई फोन गरेर तुरुन्तै विवाद मिलाउन निर्दैशन दिएका हुन् । ‘महेशजी ११ औं महाधिवेशनको तयारी थालिएको रहेछ, के अब युवा संघले यसको तयारी थालेको हो ? तपाईहरुको टिममा चाहिँ को को हो नि ?’, ओलीले बस्नेतलाई भनेका थिए । 

ओलीको सो प्रश्नपछि बस्नेतले कुनै जवाफ फर्काउन सकेका थिएनन् । चितवनमा गत मंसिरमा सम्पन्नदशौं महाधिवेशनमा शंकर पोखरेललाई महासचिव दिनुहुन्न भन्ने पक्षमा रहेका बस्नेतले युवा संघभित्र महासचिवलाई निषेध गर्न खोजिरहेका छन् । 

सो कुरा पार्टी अध्यक्षले बुझेपछि मंगलबार आफैंले फोन गरेर निर्णय सच्याउन अन्य गतिविधि नगर्न निर्देशन दिएका थिए । 

‘‘देशभरका साथीहरुले महेश बस्नेतको व्यक्तिवादका विरुद्ध आवाज उठाएको मधेस प्रदेशले त समानान्तर कमिटी बनाउने घोषणा गरेको अवस्थामा पार्टी अध्यक्षले इन्चार्ज बस्नेतलाई फोन गर्नुभएको हो’, युवा संघका एक पदाधिकारीले भने । 

उनका अनुसार मंगलबार दिउँसोबाट ओली सक्रिय भएका छन् । पार्टी अध्यक्षको सक्रियतापछि युवा संघका नेताहरुले पोखरा बैठकमा भएका निर्णयहरु परिमार्जन हुने आशय पाएको बताएका छन् ।

‘पोखरा बैठकमा कोरम पुगेको थिएन, इन्चार्ज बस्नेत र युवा संघका अध्यक्ष किरण पौडेल बसेर बनाइएको निर्णयलाई फेसबुकमार्फत सार्वजनिक गरिएको थियो । अब सच्चिने दिशामा उन्मुख भएको छ’, स्रोतले भन्यो । 

युवा संघ पोखरा बैठकले तरंग उत्पन्न गराएको छ । पुस २७ र २८ गते भएको बैठकमा प्रमुख अतिथि र अतिथि लैजाने विषयमै मतमतान्तर भएपछि तरंग उत्पन्न भएको थियो । युवा संघका सदस्यहरुले प्रमुख अतिथि र अतिथि बनाउने विषयमै लफडा गरेका थिए । 

संघका इन्चार्ज बस्नेतले उपाध्यक्ष विष्णु पौडेललाई प्रमुख अतिथि र पदाधिकारी र सदस्यहरुले महासचिव शंकर पोखरेललाई प्रमुख अतिथि बनाउन खोजेका थिए । सोही विषयमा युवा संघ भित्र विवाद बढ्दै गएकाले त्यसको असर पार्टीमा पनि पर्ने संकेत देखिएको थियो ।  

युवा संघका इन्चार्ज महेश बस्नेतले एकलौटी ढंगबाट आयोजक कमिटी बनाएका कारण सचिवालय गठनलगायतका विषयमा असन्तुष्ट रहेका नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर निर्णय नसच्याए बस्नेतविरुद्ध समानान्तर आयोजक कमिटी बनाउने जानकारी गराइसकेपछि ओलीले बस्नेतलाई फोन गरेरै निर्णय सच्याउन निर्देशन दिएका थिए । 

उपाध्यक्षहरू अमित लामा, रोशन वस्नेत, उर्मिला सुनुवार, विष्णुप्रसाद घिमिरे (उज्वल), तिरण गौतम, रवीन थापा, कुमार हुमागाइँ, उपमहासचिव प्रकाश गौतम, राजन थापा, शिवचन्द्र सिंह, सुमित्रा बोगटी, बेगबहादुर पाण्डे, मिलन सिंह, राकेश लामालगायत तीन दर्जन नेताहरूले पोखरामा भएको बैठक बहिस्कार गरेर उनीहरूले पार्टी अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, संगठन विभाग प्रमुख खगराज अधिकारी, मोर्चा जन संगठन प्रमुख भानुभक्त ढकाललाई लिखित उजुरीसमेत दिइसकेका थिए ।

पोखरामा युवा संघको बैठकमा विवाद भएपछि पार्टी महासचिव शंकर पोखरेलले काठमाडौंबाट फोन गरेर सबैलाई मिलाएर बैठक सञ्चालन गर्न इन्चार्ज बस्नेतलाई निर्देशन दिएका थिए । 

तर सो  निर्देशनलाईसमेत महेश बस्नेतले बेवास्ता गर्दै महाधिवेशन आयोजक कमिटीको संयोजकमा किरण पौडेल, सहसंयोजक सञ्जीव झा, क्रान्ति बुर्लाकोटी कार्यालय सदस्यमा कृष्णहरि केसीलगायतन्को नाम घोषण गरेर आएपछि असन्तुष्ट रहेका युवा संघका नेताहरूले पार्टीका सबै नेताहरुलाई भेटेर समस्या बढ्दै गए समानान्तर कमिटी रोक्न नसकिने चेतावनी दिएका थिए ।

 ‘महासचिव पोखरेलले गरेको पहिलो फोन उठाएका बस्नेतले दोस्रो, तेस्रो फोन नउठाई आयोजक कमिटी घोषणा गरेर काठमाडौ आए’, युवा संघका एक पदाधिकारीले भने ।  

बस्नेतले एकलौटी गरेपछि युवा संघका अन्तुष्ट नेताहरुले केपी ओलीलाई भेटेरै लिखित रुपमा ध्यानाकर्षण पत्र बुझाएका थिए  । ‘हामीले पुस ३० गते बिहान भइरहेका गतिविधि र कोठे बैठकले संगठन घोषित निर्णयमा पुग्ने कुनै संकेत देखेनौं तथापि संघका इन्चार्ज र अध्यक्षलाई उक्त विषयवस्तु र विद्यमान सचिवालय कमिटीलाई नै स्वतः आयोजक कमिटीमा रूपान्तरण गर्नुपर्ने, त्यसमा एकता प्रक्रियाबाट आएका कमरेडहरूलाई थप्नुपर्ने विषयवस्तु हामीले प्रष्ट रूपमा राख्यौं, उक्त विषयमा कमरेड इन्चार्ज र अध्यक्षले कुनै चासो देखाउनु भएन,’ ओलीलाई बुझाएको ध्यानकर्षणपत्रमा उल्लेख छ ‘त्यसमा इन्चार्जले हप्ता–दस दिनअगाडि अमुक व्यक्तिहरूले तयार पारेको आयोजक कमिटीको नामवली, व्यक्तिगत सम्बन्धका आधारमा मनोमानी ढंगले संयोजक, सहसंयोजक, विभागीय प्रमुखहरू, प्रदेश इन्चार्ज, संयोजक, सहसंयोजक र जिल्ला इन्चार्ज र अध्यक्षहरू तोक्दै सानो महाधिवेशनको झल्को दिनेगरी, आगामी फागुन ११ गते हुने ऐतिहासिक ९औं महाधिवेशनअगावै उक्त महाधिवेशनलाई एकतर्फी प्रभावित पार्न खोजेको कुरा स्पष्ट देखियो, लामो समय संघमा योगदान दिँदै आएका पदाधिकारी र सचिवालय सदस्य कमरेडहरूलाई हटाउएर गठन गरिएको यो महाधिवेशन आयोजक कमिटी संघको विधि, प्रक्रिया, निर्णय र मर्म–भावनाविपरीत सांगठनिक अराजकता र व्यक्तिगत स्वच्छाचारिताको उपज भएको विषय जानकारी गराउन चाहन्छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ