arrow

आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ५ बुधबार
Communist-Party-of-Nepal.png.png

काठमाडौं । कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र समाजवादी) ले जनतासँग कम्युनिष्ट कार्यक्रम अन्तर्गत ‘कम्युनिष्ट सम्मेलन’को आयोजना गर्ने भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त पार्टीले आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने जानकारी दिएको हो । 

वैज्ञानिक समाजवाद स्थापनाको लागि ऐतिहासिक कम्युनिस्ट सम्मेलनको आवश्यकता’ ‘क्रान्तिकारी कार्यदिशा, पार्टी, सत्ता र नेतृत्व निर्माणको लागि व्यापक जनसहभागिता’ भन्ने नारासहित समाजवादी कम्युनिष्ट सम्मेलनको आयोजना गर्न लागेको उक्त पार्टीले जनाएको छ । 

कार्यक्रममा बोल्दै अध्यक्ष कर्णजित बुढाथोकीले कम्युनिष्टहरुको पहिलो पटक सम्मेलनको आयोजना गर्न लागेको बताए । उनले कम्युनिष्ट सम्मेलन आयोजनाको लागि आयोजक समिति गठन गरिने जनाए । उक्त आयोजक समितिको संयोजक र सङ्ख्या निकट भविष्यमै सम्पूर्ण कम्युनिष्ट पार्टीहरूको बीचमा आपसी समझदारी कायम गरेर घोषणा गरिने उनको भनाई थियो । यसका साथै, उनले सम्मेलन सम्पन्न गर्न विभिन्न विभागहरू गठन गरिने पनि बताए । सम्मेलन आगामी २ वर्षभित्र गर्ने पनि उनले स्पष्ट पारे । 

नेकपा (एमाले) र नेपाली कांग्रेस, राप्रपालगायतको महाधिवेशन भर्खरै सकिएको भन्दै आफूहरूले नयाँ ढङ्गले कम्युनिष्टहरुको सम्मेलन गर्ने उनको भनाई थियो । बुढाथोकीले आफ्नो पार्टीको सम्मेलनको उद्देश्य सबै कम्युनिष्टहरुलाई एकै स्थानमा उपस्थित गराउने भएको पनि जिकिर गरे । नेकपा माओवादी र क्रान्तिकारी पार्टीहरूको शक्तिको भरमा आज देश अगाडि बढेको उनको भनाई थियो । 

अहिले समय परिवर्तन भएको भन्दै अध्यक्ष बुढाथोकीले पहिला नेताले भनेको सबै कुरा जनताले विश्वास गर्ने तर अहिले प्रत्येक जनताले आफ्नो पार्टीमा भूमिका खोज्न थालेको उनले सुनाए । नेकपा (माओवादी केन्द्र) र एमाले एकता गरेर असफल भएर विभाजन भएको उनको टिप्पणी छ । 

समाजवाद आफ्नो पार्टीको लक्ष्य हो भन्दै उनले समाजवादलाई तीन चरणमा विभाजन गरेर आफ्नो पार्टीले लैजान खोजेको सुनाए । जनविद्रोहको उल्टो अवस्था अहिले रहेको उनको भनाई थियो । नेपालको राजनीति अत्यन्तै जटिल अवस्थामा पुगेको भन्दै बुढाथोकीले आज प्रधानमन्त्री शेरबहादुर देउवाको कारण लिपुलेक, लिम्पियाधुरा भारतले आफ्नो भनेर दाबी गर्ने हिम्मत गरेको आरोप लगाए । 

सबै नेपाली जनताको अभिभावक हुनको लागि आफू र आफ्नो पार्टी अगाडी बढेको उनले जिकिर गरे । आफ्नो पार्टी सिंगो कम्युनिस्टलाई एकीकृत बनाएर देशकै ठुलो शक्ति र ताकत हुने समेत उनले जिकिर गरे । 

कार्यक्रममा बोल्दै पार्टीका सचिव अरुण घिसिङले नेपालमा क्रान्तिकारी पार्टीहरूलाई पहिलो पटक एकजुट गर्न कम्युनिष्ट सम्मेलन गर्न लागिएको बताए ।
सबै क्रान्तिकारीहरूलाई एक ठाउँमा थुपारेर वैज्ञानिक कम्युनिष्ट सम्मेलन गर्ने उनको भनाई थियो । कम्युनिष्ट सम्मेलनमा कम्युनिष्टहरुको अवधारणा प्रस्तुत गरिने उनले जानकारी दिए ।

 धेरै मानिसहरूले नेपालमा कम्युनिष्ट शासन व्यवस्था अपरिहार्य रहेको भन्दै आएको पनि उनले उल्लेख गरे । उनले कम्युनिष्ट सम्मेलनको अवधारणा आम मानिसहरूको मन-मनमा बस्ने र पुग्नेमा आफू आशावादी रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ