- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौंको आकाशमा बिहानैदेखि बाक्लो तुवालो लागेकाले केही चिसो महसुस गरिएको छ । बिहान छिटफुट वर्षासमेत भएको छ । मौसम पूर्वानुमान महाशाखाले पनि वर्षा र हिमपातको सम्भावनाले चिसो थप बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्तु-कुहिरो लागेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शुक्रबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही हरेक प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौंको अधिकतम तापक्रम पाँच दशमलव दुई र अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहेको छ । रासस