arrow

मन्त्री यादव विवादमा, जनमत पार्टीको गम्भीर आपत्ति 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ६ बिहिबार
renu-yadav.gif

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव विवादमा आएकी छिन् । उनले बुधबार रौतहटको गौरको एउटा सभामा दिएको अभिव्यक्ति विवादित बनेको हो । उनको अभिव्यक्तिप्रति जनमत पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्री यादवले गौरको राइस फिल्डमा ‘नरसंहार हामीहरूले नै मच्याएको, किसान आन्दोलनकारीहरूमाथि फेरि त्यस्तै नरसंहार मचाइदिने र घेराउ हालेर डा. सीके राउतको हत्या गरिदिने खुल्लमखुल्ला घोषणा गरेपछि विवादमा आएकी हुन् । 

जनमत पार्टीका उपाध्यक्ष ई. दीपककुमार साहले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘देशकै संघीय मन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट आएको सो अभिव्यक्ति चरम आपराधिक अभिव्यक्ति रहेको र किसान आन्दोलन तथा आमजनताको विरूद्धमा रहेको हाम्रो पार्टीको निष्कर्ष रहेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘२०६३ साल चैत ७ गते भएको गौर नरसंहार, जसमा कम्तीमा २८ जनाको पाशविक तरीकाले हत्या भएको थियो, जनता समाजवादी पार्टी (तत्कालीन मधेशी जनअधिकार फोरम) ले नै घटाएको मन्त्रीज्यूले सगर्व घोषणा गरिसकेपछि यो गौरनरसंहारको स्वीकारोक्ति पनि हो । तसर्थ नेपाल सरकारले आपराधिक अभिव्यक्ति दिने, हत्या हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षड्यन्त्र रच्ने सो मन्त्रीलाई अविलम्ब बरखास्त गर्नु पर्दछ ।’

साहको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘गौर नरसंहारका फरार अभियुक्तहरूलाई सुरक्षाकर्मीहरूले विशिष्ठ सुरक्षा घेरामा राखेर सुरक्षा दिने हैन कि उनीहरूलाई तत्काल पक्राउ गरी नरसंहार पीडितहरूलाई न्याय दिँदै मधेशमा विद्यमान आपराधिक पार्टीको आपराधिक राजलाई समाप्त पार्नु पर्दछ भन्ने हाम्रो ठहर रहेको छ । स्मरणीय छ, यसभन्दा अगाडि २०७५ भदौ ७ गते पनि राममनोहर यादवले तत्कालीन उपप्रधानमन्त्री श्री उपेन्द्र यादवलाई बर्दिया जिल्लामा कालो झण्डा देखाएको अभियोगमा उहाँलाई पक्राउ गरी हिरासतमा नै हत्या गरेर करीव ६ महिनासम्म लाशसमेत दिइएको थिएन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ