arrow

मन्त्रालयको तथ्यांकबाट ठूलो मात्रामा खोप गायब

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ९ आइतबार
health_ministry_1617956882.JPG

काठमाडौं। स्वास्थ्य तथा जनसंख्याम मन्त्रालयको शनिबारको तथ्यांक अनुसार नेपालमा ४ करोड ३ लाख ८८ हजार ८ सय ४० डोज खोप भित्रिएको छ । उक्त खोप मध्ये पहिलो, दोस्रो र थप मात्रा गरेर २ करोड ९२ लाख ५५ हजार ९ सय १२ डोज खोप लागिसकेको छ ।

भित्रिएको खोपमा शनिबारसम्म लागेको खोप संख्या हटाउँदा १ करोड ११ लाख ३२ हजार ९ सय २८ डोज खोप बाँकी रहन्छ।

यद्यपि केही मात्रा खोप खेर जाने हुँदा यो संख्यामा केही कमी हुन्छ । झन्डै ५ लाख मात्रा खोप खेर गएको मान्ने हो भने पनि मन्त्रालयसँग १ करोड ५ लाख खोप बाँकी रहनु पर्ने देखिन्छ ।

तर, मन्त्रालयका खोप शाखाका एक अधिकारीले झन्डै ७० लाखको हाराहारीमा खोप हुनसक्ने बताएका छन् । 'ठ्याक्कै संख्या थाहा भएन ७० लाखको हाराहारीमा हुनुपर्छ,' उनले भनेका छन् ।

स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्दै आएको तथ्यांकमा आधारित रहँदा १ करोड ११ लाख खोपको तथ्यांक मन्त्रालयसँग हुनुपर्ने देखिन्छ । यसमा खेर गएको खोप संख्यासमेत मन्त्रालयसँगै हुनुपर्छ ।

तर, ती अधिकारीले भने झैं करिब ७० लाख खोप मात्रै बाँकी रहेको छ भने, १ करोड ११ लाखमा बाँकी रहने करिब ४० लाख बढी खोपको विवरण गायब भएको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले यति धेरै मात्रामा तथ्यांक हराउन नसक्ने बताएका छन् ।

'केही खोप खेर जान्छ तर, यति ठूलो फरक हुनै सक्दैन,' उनले भने । अहिले खेर गएको र बाँकी रहेको खोपको तथ्यां कति छ भनेर हेर्न बाँकी रहेको उनले बताए ।

देशभरका ७५३ वटै स्थानीय निकायमा पठाइएको खोप र लगाइएको खोपको तथ्यांक नियमितरुपमा आउने क्रममा ढिलाचाँडो हुँदा पनि केही संख्या तलमाथि रहेको हुनसक्ने उनको भनाइ छ ।

यस्तै स्वास्थ्य मन्त्रालयले ताकेको मिति र वर्ग अथवा समुह बाहेक लुकेर तेस्रो डोज लगाएकाहरुको तथ्यांकबारे के गर्ने भन्ने पनि अहिलेसम्म टुंगो नलागेको उनले बताएका छन् । कतिपय व्यक्तिहरुले सरकारी नीति विपरित तेस्रो डोज लगाएका छन् ।

यसरी सरकारी नीतिविपरित तेस्रो मात्रा लगाएकाहरुको तथ्यांकका कारण पनि खोपको संख्या केही तलमाथि हुनसक्ने देखिन्छ ।

तर, मन्त्रालयका सहप्रवक्ता अधिकारीले भने त्यसरी तेस्रो मात्रा लगाएकाहरुको पनि तथ्यांक टिपने र त्यो पनि गणनामै आउने बताएका छन् । 'बुस्टर डोज लगाएको भन्ने नलेखे पनि, त्यो खोप लगाएको गणना त हुन्छ, त्यो तथ्यांक पनि कति खोप लाग्यो भन्नेमा समावेश हुन्छ,' उनले भने ।

अहिलेको अवस्थामा मन्त्रालयकै अधिकारीहरुको भनाइ अनुसार भिभित्रएको खोप, लागेको खोप र भण्डारणमा बाँकी रहेको खोपको तथ्यांकमा ठूलो तलमाथि देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ