arrow

आज रातिदेखि वर्षा र हिमपातको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
weather-chakrapat.jpg

काठमाडौं । बुधवार रातिदेखि वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभाव बढ्ने भएकाले देशका केही स्थानमा वर्षा र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकामा आज रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना छ । प्रदेश नं १, बागमती, गण्डकी, मधेस प्रदेश र तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत विभागले अनुरोध गरेको छ । 

आज राति देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १ र गण्डकी प्रदेशका केही स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ । 

बिहीबार प्रदेश नं १, मधेस, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । आंशिक बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार मङ्गलवार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव चार डिग्री तथा अधिकतम तापक्रम १७ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।

 त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव शून्य तथा सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २२ दशमलव चार डिग्री सेल्सियस रहेको थियो । 

 



नयाँ