- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । माघको २० गते भैसक्दासमेत मौसममा सुधार आउन सकेको छैन । चिसो कायम छ । विशेषगरी काठमाडौं उपत्यकामा यसपालि तुलनात्मक रुपमा बढी नै चिसो भएको ज्येष्ठ नागरिकहरुको अनुभव छ ।
न्यूनतम तापक्रम शून्य मुनि नझरे पनि घाम नलाग्दा निरन्तरको चिसो भने कायमै रहेको छ । तुलनात्मक रुपमा हिजो भन्दा आज तापक्रम केही बढेको छ । तर अधिकतम तापक्रम नबढेसम्म न्यूनतमलाई पनि असर पारिरहेको हुन्छ ।
काठमाडौंमा हिजो न्यूनतम ३.२ तथा अधिकतम १५ डिग्री सेल्सियस रहेको थियो । आज भने न्यूनतम तापक्रम बढेर ४ डिग्रीमा पुगेको छ ।
त्यस्तै जुम्लामा हिजो न्यूनतम माइनस ४ तथा अधिकतम १६ डिग्री रहेको थियो । आज भने न्यूनतम तापक्रम एकैपटक बढेर ०.८ डिग्री पुगेको छ । हिजो अधिकतम सबैभन्दा बढी विराटनगरमा २१.८ तथा न्यूनतममा सबैभन्दा बढी जनकपुरमा १०.६ डिग्री सेल्सियस रहेको थियो ।
आज न्यूनतम सबैभन्दा धेरै सिमरामा ११.२ डिग्री सेल्सियस पुगेको छ । जनकपुरमा भने घटेर १०.४ डिग्री सेल्सियस पुगेको छ ।
आज न्यूनतम तापक्रम दिपायलमा ८, डडेलधुरामा ३.३, धनगढीमा १०.८, वीरेन्द्रनगरमा ८, नेपालगञ्जमा १०, घोराहीमा ८.९, पोखरामा ७.५, भैरहवामा १०.२, ओखलढुङ्गामा ४.२, ताप्लेजुङ्गमा ४.४ र धनकुटामा ६.५ डिग्री सेल्सियस रहेको छ ।
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशमा साथै अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
त्यस्तै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा गण्डकी र बागमती प्रदेशका केही स्थानहरुमा मेघ गर्जन–चटयाङसहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागहरुका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम, कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति पनिदेशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन–चटयाङ सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले सुदूरपश्चिम , कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा गण्डकी र बागमती प्रदेशका केही स्थानहरुमा मेघ गर्जन–चटयाङ सहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा देशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
चिसो पनि घट्न सकेको छैन । मौसम प्रतिकुल भएकाले घाम नलाग्दा चिसो नघटेको हो ।
शनिबारसम्मै मौसम प्रतिकुल रहने जनाउँदै महाशाखाले आइतबारदेखि सुधार आउने जनाएको छ ।