arrow

अख्तियारमा उजुरी पर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २१ शुक्रबार
cia-subedi.jpg

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।  कोषाध्यक्ष सुवेदीले पदीय दुरुपयोग गरी पशुपतिलाई हानि गर्ने गरी कार्य गरेको र पशुपतिनाथ कोषमा राजनीतिक स्वार्थ राख्ने गरेको भन्दै काठमाडौं वडा नं ८ का स्थानीयवासीले उनीविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् । 

माघ १५ गते शनिबार कोषाध्यक्ष सुवेदीले पशुपति क्षेत्र विकास कोषलाई ८५ लाख भन्दा बढी रुपैयाँ तिर्न बाँकी रहेको तिलगंगास्थित प्राणनाथ क्याफेभित्र रहेका सामग्रीहरू गुपचुप बाहिर पठाएका थिए । कोषाध्यक्ष सुवेदीले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादीका नेता तथा बागमती प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले सञ्चालन गरेको क्याफेभित्र रहेका सामग्रीहरू गुपचुप दिएपछि सामान लगेको देख्ने प्रत्यक्षदर्शी तथा स्थानीयले बिहीबार अख्तियारलाई गुहारेका हुन् ।

स्थानीले अख्तियारसँग कोषाध्यक्षको व्यवहारले पशुपतिनाथको गरिमालाई आँच पुगेको गुनासो गरेका छन् । कोषका अनुसार लम्सालले गत कार्तिकसम्मकै ८५ लाख २४ हजार ४७ रुपैयाँ भाडा बापतको रकम तिर्न बाँकी रहेको छ । कोषाध्यक्ष सुवेदीले पदीय दुरुपयोग गरी कोषका सुरक्षाकर्मी र आफ्नो पार्टी निकट कर्मचारीको सहयोगमा क्याफेमा रहेको करिब ३५ देखि ४० लाख रुपैयाँ सम्मका भान्सा लगायतका सामग्रीहरू लम्साललाई विना मुचुल्का दिएका छन् ।  

उजुरीमा प्रत्यक्षदर्शी एक स्थानीयले भने, 'अरूले थाहा नपाउन् भनेर कोषाध्यक्ष सुवेदीले बिदाको दिन शनिबार साँझको समयमा सामानहरू क्याफेबाट निकाल्न लगाएको मैले देखेको थिएँ । करिब ३ घण्टा लगाएर सामान निकालिएको थियो । सामान सांसद लम्सालकै गाडीमा लोड गरी पठाइएको हो । जुन कुरा मैले प्रत्यक्ष रूपमा देखेको थिएँ भने कोषलाई के भएको भनी सोध्दा कसैले प्रतिक्रिया देखाएनन् र खिन्न भएको थिएँ । तर विभिन्न सञ्चारमाध्यममा यो विषयमा समाचार आउन थाल्यो । जुन कुराले गर्दा यो उजुरी दिने आँट गरेको छु ।' 

अख्तियारका सहायक प्रवक्ता तथा सूचना अधिकारी वेदप्रसाद भण्डारीले कोषाध्यक्षविरुद्ध उजुरी परेको बताए । उनले सी–०२६०६६ नम्बरमा हिजोको मितिमा बेनामे उजुरी दर्ता भएको बताए । अख्तियारले कारबाही प्रक्रिया अघि बढाउने आयोगका एक आयुक्तले बताएका छन् । उनले स्थानीयले गुनासो गरेकाले अख्तियारले एक्सन अघि बढाउने बताए । 

कोषाध्यक्ष सुवेदीले भने आफूलाई क्याफेसमेत कहाँ रहेको भन्नेबारे जानकारी नभएको बताए । उनले अनभिज्ञता प्रकट गर्दै भने, ‘म बल्ल यहाँ आएको छु । कहाँ कहाँ के के छ भन्ने कुरा थाहा हुँदैन । कसले के गर्‍यो बाहिर गयो कि गएन थाहा भएन सामाना थियो कि थिएन त्यो पनि थाहा भएन ।  म त भर्खर आएको हो नि । प्राणनाथ क्याफे भनेको मैले देखेको पनि छैन । अस्ति मन्त्री प्रेम आले निरीक्षणमा आउँदा म गएको हो । त्यो भन्दा बाहेक कहाँ हो पनि थाहा छैन भर्खर आएको म ।’ 

उनले अझ झुक्याउने बठ्याइँ देखाउँदै भने, ‘अख्तियारमा उजुरी परे पनि जहाँ उजुरी परे पनि त्यो थाहा हुन पर्‍यो अथवा त्यहाँको सामान हेर्ने काम मेरो हो कि होइन अरू धेरै कुराहरू हुन्छन् । उजुरी परे पनि तथ्य कुरा के हो आइहाल्छ । त्यहाँ सामान थियो कि थिएन पहिला कसले बुझेको हो, मलाई बुझाइयो बुझाइएन धेरै कुरा होलान् । सामान लगेको कुरा हो भने त कसैले चोरेको रहेछ भने त चोरेको मान्छेलाई कारबाही होला । मुख्य कुरा मेरो संलग्नता भएर काम भयो कि भएन भन्ने मुख्य कुरा हो ।'  

पदीय दुरुपयोग गरी संस्थागत घाटा लाग्ने कार्य र पशुपतिनाथमा राजनीति स्वार्थ राख्ने कोषाध्यक्ष सुवेदीले पशुपतिनाथको गरिमा र भक्तहरूको आस्थामा समेत चोट पुर्‍याएको भन्दै स्थानीयले छानबिन गरि आवश्यक कारबाही गर्न अख्तियारसँग अनुरोध गरेका छन् ।

कोषाध्यक्ष सुवेदीले कर्मचारी तथा कोषको आन्तरिक सुरक्षाकर्मीलाई मौखिक आदेश दिएको बुझिएको छ । उनले आफू निकट कर्मचारी कार्यकारी निर्देशक डा. घनश्याम खतिवडामार्फत उक्त सामान निकाल्न दबाब दिएको दाबीसमेत गरिएको छ ।  

पशुपति क्षेत्र विकास कोषसँग सांसद लम्साल र कृष्णप्रसाद रिजालसहितका व्यक्तिहरूले २०७२ साल साउन ३२ गते प्राणनाथ क्याफे सञ्चालनको सम्झौता गरेका थिए ।  कोषको स्वीकृत गुरुयोजना अन्तर्गत तीलगंगास्थित पर्यटन सूचना केन्द्रमा पर्यटकहरूका लागि प्रवेश टिकट बिक्री काउन्टरसहित सेवा सुविधा पुर्‍याउने उद्देश्यले निर्माण गरिएको भवनमा चिया कफीको सुविधासहितको शुद्ध शाकाहारी चमेना गृह एवं सोभिनियर पसल सञ्चालनमा थियो ।

त्यस्तै कोषाध्यक्ष बनेपछि सुवेदीले यसअघि नै पशुपति कोषमा ट्रेड युनियन छिराइसकेका छन् । धेरैजसो संस्थामा कर्मचारीको ट्रेड युनियनले गर्दा पदाधिकारी र सञ्चालकलाई काम गर्न गाह्रो हुने बताइरहेका बेलामा कोषाध्यक्षले नै ट्रेड युनियन खोल्न सक्रियता देखाएपछि  सो विषयलाई लिएर पनि स्थानीयले उजुरी दिएका छन् । 

कोषाध्यक्ष नियुक्त आएको एक महिना पनि नपुग्दै  सुवेदीले बदमासी गतिविधि  देखाउँदै आएको उनीहरूको आरोप छ । उनले कोषमा आफ्नो समाजवादी पार्टीको ट्रेड युनियन गठन गराई पण्डित र भण्डारीहरूलाई समेत स्वार्थ र लोभ देखाउँदै सदस्यता लिन प्रेरित गरिरहेका उनीहरूको आरोप छ  ।

कोषाध्यक्ष सुवेदीमाथि कोषको आफ्नो दायित्व भुल्दै राजनीति गरेर कोषको माहौल नै बिगार्न खोजेको अन्य कर्मचारी र परिषद् सदस्यहरूले आलोचना गर्दै आएका छन् ।  'पशुपतिनाथ मन्दिरमा यस्तो राजनीतिक हर्कत देखाउने व्यक्तिले कसरी सुधार्लान् ?' उनीहरूको प्रश्न छ ।

र यो पनि..



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ