कांग्रेस नेता शिवाकोटीको प्रश्न - चप्पल पड्काउँदै राजनीतिमा आएका कम्युनिष्ट नेता कसरी भए अर्बपति ?
पञ्चायतझैं बदनाम ३० वर्षे कम्युनिष्ट नेतृत्व फाल्न दोलखावासीलाई शिवाकोटीको आग्रह
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
730
Shares
दोलखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता अजयबाबु शिवाकोटीले चप्पल पड्काउँदै राजनीतिमा आएका कम्युनिष्ट नेता अर्बौंपति हुँदा जनताको अवस्था भने जहाँको त्यहीँ भएको बताएका छन् ।
गृहजिल्ला दोलखाको जिरी नगरपालिकामा आयोजित जनतासँग कांग्रेस कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीले विगत ३० वर्षदेखि दोलखामा एकलौटी शासन गरिरहेको कम्युनिष्ट पाटीका अधिकांश नेताहरु राजनीतिमा संलग्न भएयता अर्बपति भएर बिलासी जीवन बिताइरहँदा जनताको अवस्था भने जहाँको त्यहीँ हुनु दुःखद भएको बताए ।
राजनीति सेवाको कर्म भएको उल्लेख गर्दै केन्द्रीय सदस्य शिवाकोटीले कम्युनिष्ट नेताहरु सोझा सीधा जनताको मत लिएर व्यक्तिगत स्वार्थमा लागेको आरोप लगाए । उनले चुनौती दिँदै भने ‘हिजो चप्पल पड्काउँदै शहर छिरेर राजनीतिमा जोडिएका कम्युनिष्ट नेताहरुको सम्पत्ति हेर्ने हो भने कहालीलाग्दो छ । त्यो कहाँबाट प्राप्त भयो ?
जनताको नाममा जनतालाई गुमराहमा राख्दै ३० वर्ष शासन गरेका कम्युनिष्टलाई अब जनताले ३० वर्षे पञ्चायत शासन व्यवस्था जस्तै फाल्ने समय आएको शिवाकोटीले बताए । दोलखामा राजनीतिमा जकडिएको एमालेलगायत कम्युनिष्ट पार्टीको विकल्प खोज्न तमाम जिल्लावासीहरुलाई उनले आग्रहसमेत गरे ।
उनले भने, ‘पटक पटक नागरिकको मत कब्जा गरेको के नेताहरुलाई सम्पत्ति आर्जनका लागि मात्रै हो ?’ आम दोलखालीले गहिरो विष्लेषण गर्दै आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउनुको विकल्प नरहेको उनले बताए ।
शुक्रबार जिरी पुगेका केन्द्रीय सदस्य शिवाकोटीले जिरी नगरमा भएको मनपरी र अनियमितताविरुद्ध खुलेर प्रतिवाद गर्न आम कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए । उनले ऐतिहासिक महत्वको भन्दै भ्रष्टाचारको अखडा बनाउन खोजिएको मानवनिर्मित जिरी तालको डीपीआरमा गरिएको करौडौंको खर्च विवरण सार्वजनिक गर्न जिरी नगरपालिका नेतृत्वलाई चुनौतीसमेत दिएका छन् ।
सोही कार्यक्रममा केन्द्रीय सदस्य शिवाकोटीले विभिन्न पाटी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्ने ३ दर्जन भन्दा धेरै एमाले र माओवादीका नेता कार्यकर्ताहरुलाई कांग्रेसमा स्वागत गर्दै प्रवेश गराए । त्यसरी प्रवेश गर्नेहरुमा यस अघिको स्थानीय निर्वाचनमा जिरी नगरको वडा तथा नगरको निर्वाचनमा होमिएका उम्मेदवारहरु छन् ।
कार्यक्रममा नेपाली कांग्रेस दोलखाका प्रभावशाली नेता तारा कुमार खड्का , जिरी नगर सभापति शोनाम शेर्पा, लाक्पा शेर्पा, महिला नेतृ लिला जिरेल, आङपासाङ शेर्पा, विवेककुमार खत्री,संंजु शेर्पा लगायतका नेताहरुले शुभकामना मन्तव्य दिएका थिए ।
मन्तव्यका क्रममा अधिकांश नेताहरुले एमालेले नेतृत्व गरिरहेको जिरी नगरपालिकामा अनियमितता र भ्रष्टाचारले जरो गाडेको जनाउँदै आसन्न निर्वाचनमा कांग्रेसलाई मतदान गरी सिंगो नगरको विकास र समृद्धिमा सघाउन आम जिरीवासीलाई अनुरोधसमेत गरेका छन् ।