arrow

हुम्लामा नेपाली भूमिमा तारबार गरी चीनकाे कब्जा, यस्ता छन् प्रतिवेदनका खुलासा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
humla-11-no-pillar-hilsa.jpg

काठमाडौं। चीनले नेपाली भूमि अतिक्रमण गरेको सरकारी अध्ययन प्रतिवेदन लिक भएको छ । बीबीसी नेपालीले जनाए अनुसार लिक भएको उक्त प्रतिवेदनमा चीनले नेपाली भूमिमा तारबार गरेको उल्लेख गरिएको छ ।

यस्तै दुई देशको सीमामा पर्ने हुम्लाको किट खोला क्षेत्रमा दीर्घकालीन रूपमा पानीको मुहानमा चिनियाँ पक्षले नियन्त्रणको प्रयास गरिरहेको समेत उक्त प्रतिवेदनमा उल्लेख गरिएको बीबीसी नेपालीले जनाएको छ ।

उक्त अध्ययन प्रतिवेदनले चिनियाँ पक्षका कारण सीमामा कैयौँ समस्या रहेको उल्लेख गरेको छ ।

सीमा स्तम्भ नम्बर ५ (२) बाट किट खोलाको मध्यभाग नै दुई देशको सीमा हुने प्रोटोकलमा उल्लेख भएकाले उक्त भूभाग नेपालको समेत हुने भए पनि चिनियाँ पक्षले नेपाली भूभागमा तारबार लगाएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै चीनले किट डाँडाको पानी आफ्नो सीमाभन्दा करिब १४५ मिटर वर नेपालको भूभागमा पर्ने किट खोलाबाट स्थायी नहर बनाएर लिने प्रयास गरेको र सोही बमोजिम सडक र टङ्की निर्माण गरेकोमा सशस्त्र प्रहरीको तदारुकताका कारण निर्मित संरचना भत्काएर पुरेको पाइएको प्रतिवेदनले जनाएको छ ।

बीबीसीका अनुसार यस्ता छन् प्रतिवेदनमा उल्लेखित कुराहरु

  • नेपालको सीमामा पर्ने लोलुङ क्षेत्रको साबिक मानसरोवर दर्शन गर्ने स्थानसम्म चिनियाँ सुरक्षा फौजको निगरानीले नेपालीलाई धार्मिक गतिविधिमा निषेध भए गरेको पाइएको, आफ्नै सीमासम्म समेत पनि बेलाबेलामा जान नसकिएको,
  • नेपाली पूर्वाधार र विकास निर्माणको अभावका कारण लिमि लाप्चा र हिल्सा क्षेत्रका नागरिक चिनियाँ बजारमा निर्भर रहेका जसका कारण नेपाली नेपाली नागरिक सीमाको विषयमा बोल्न अनिच्छुक, यस्ता अध्ययनले सम्बन्ध बिग्रिन्छ भन्ने चिन्ता,
  • सीमा स्तम्भ नम्बर ५ (२) बाट पश्चिम किट डाँडाको बहुधार हुँदै गएको सीमा स्तम्भ नम्बर ४ क्षेत्र आसपासमा चिनियाँ पक्षले नेपालको चरिचरनमा अवरोध गर्ने गरेका भनाइ,
  • नेपाली भूभागमा रहेको सीमा स्तम्भ नम्बर ६ (१) देखि ५ (२) भित्र किट खोलाको पूर्व नेपाली भूभागमा उपस्थिति देखाउने प्रयास गरेको,
  • चिनियाँ क्षेत्रमा पर्ने सीमा स्तम्भ नम्बर ७ (२) स्थलगत रूपमा नदेखिएको र नेपाली सुरक्षा फौजले समेत खोजी गर्दा नभेटिएको,
  • नेपाल चीन साझा सीमा स्तम्भ नम्बर ९ (२) बाट करिब ३२ मिटर सीमा स्तम्भ नम्बर १० मा चिनियाँ पक्षले तारबार लगाएको, त्यसबाट सीमा स्तम्भबाट १० मिटर भित्र कुनै स्थायी संरचना बनाउन नपाउने सीमा प्रोटोकलको व्यवस्था उल्लङ्घन भएको, र
  • नेपालमा सीमा जस्तो संवेदनशील विषयमा राजनीतिक धारणा बनाउने र पक्ष विपक्षमा मत जाहेर गर्नाले कूटनीतिक अभ्यास र छिमेकीबीचको सम्बन्धलाई अनावश्यक उछाल्ने प्रयास हुने भएकाले सीमाको विषयलाई राज्यको नीतिमा स्थापित गर्नुपर्ने र दुई पक्षीय स्थायी संरचनाबाट सम्बोधन गर्नुपर्ने

यस बिषयमा परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित चिनियाँ दूतावासलाई प्रश्न गरिएको भए पनि कुनै जवाफ नमिलेको बीबीसीमा उल्लेख छ ।

गत वर्ष नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश नेपाली कांग्रेसका संसदीय दलका नेता एवं वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको टोलीले चीनले नेपाली भूमि कब्जा गरेको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले कुनै पहल नचाले पनि यस विषयमा अध्ययन गर्न पछि नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले गृह मन्त्रालयका तत्कालीन सहसचिव जयनारायण आचार्य संयोजकत्वमा सात सदस्यीय अध्ययन टोली गठन गरेको थियो ।

सोही टोलीले सरकारलाई बुझाएको अध्ययन प्रतिवेदनमा चीनले नेपाली भूमि कब्जा गरेको उल्लेख भएको पाइएको हो । यद्यपि, सरकारले उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन ।



नयाँ