arrow

बुटवल–नारायणगढ सडकखण्ड नसकेको चाइना स्टेटलाई सिद्धबाबा सुरुङमार्गको टेण्डर

logo
नारायण वली,
प्रकाशित २०७८ माघ २८ शुक्रबार
siddha-baba-surung-china-gate.jpg

रुपन्देही । विभिन्न कारण देखाउँदै बुटवल–नारायणगढ सडकखण्ड तोकिएको समयसीमामा सम्पन्न गर्न नसकेको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ प्रालिले सिद्धबाबा सुरुङमार्ग निर्माण गर्न खोलिएको टेण्डर पाएको छ ।

बुटवल–पाल्पा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत पहिरोग्रस्त क्षेत्र सिद्धबाबास्थित सुरुङमार्ग निर्माणका लागि लागत कबोलमा अन्य कम्पनी भन्दा चाइना‌ स्टेटले सबैभन्दा कम कबोल गरेकाले टेण्डर हात पारेको पाइएको हो । सडक विभाग स्रोतले दिएको जानकारी अनुसार सिद्धबाबा सुरुङमार्ग निर्माणकार्य गर्न भएको ठेक्का आह्वानमा चाइना स्टेटले सात अर्ब ३४ करोड २१ लाख रुपैयाँ लागतमा कबोल गरेको जनाएको छ ।

प्राविधिक रुपमा आर्थिक प्रतिस्पर्धा चार वटा निर्माण कम्पनीबीच भएको थियो । जसमा सबैभन्दा कम रकम चाइना स्टेटले कबोल गरेकाले छनेटमा परेको बताइएको छ । सिद्धबाबा सुरुङमार्ग इन्जिनियरिङ प्रक्योरमेन्ट एण्ड कन्स्ट्रक्सन (ईपीसी) ढाँचामा निर्माण गरिने भएको छ । सुरुङमार्गको बनावटी ढाँचा सम्बन्धित निर्माण कम्पनीले नै गर्नुपर्ने उल्लेख छ ।

ठेक्का प्रतिस्पर्धामा चीनकै प्रतिद्वन्द्वी कोभेक सीआरईजीसी जेभीले ७ अर्ब ७९ करोड ९७ लाख, चीनकै सीसीईसीसी सीआरबीटी १४ सियुआन जेभीले ९ अर्ब ८० करोड १६ लाख, चाइना फस्ट हाइवे इन्जिनियरिङले ११ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ कबोल गरेको थियो । 

सबैभन्दा कम रकम कबोल गरेको चाइना स्टेटलाई नै टेण्डर स्वीकृत गर्न आयोजनाले सडक विभाग समक्ष सिफारिस गरेको हो । तर विभागले यसबारे निर्णय भने गरेको छैन । 

२७७ मंसिर १ गते बसेको मन्त्रिपरिषद बैठकले उक्त सुरुङमार्ग निर्माण कार्य सम्पन्न गर्न १० अर्ब १५ करोड बजेट विनियोजन सम्बन्धी निर्णय गरेको थियो ।

सडक विभागले २०७८ जेठ ९ गते ४५ दिने सूचना जारी गर्दै ग्लोबल टेन्डर आह्वान गरेको थियो । स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेशन (एसडीसी) ले गरेको अध्ययन प्रतिवेदनको आधारमा टेण्डर आह्वान गरिएको बताइएको छ ।

१.१२६ किलोमिटरको सुरुङमार्ग निर्माण हुनेछ । पहिरो रोक्नका लागि ३ हजार ५ सय मिटरको रकनेट (जाली) लगाइने भएको छ । ५ वर्षभित्र सुरुङमार्ग निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी सम्झौता हुने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ