- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काभ्रेपलाञ्चोक । ऐतिहासिक, धार्मिक-सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीको बाह्रवर्षे मकर मेलामा ५० लाखले स्नान तथा अवलोकन गरेका छन् । मकर सङ्क्रन्तिबाट सुरु भएको मेलाको मकर-स्नान तथा अवलोकन शनिबारसम्म एक महिना चलेको थियो ।
मेला समापनका दिन शनिबार राजधानी काठमाडौँको पूर्वतर्फ अर्थात् अरनिको राजमार्ग तथा बनेपा-पनौती सडकमा ‘ट्राफिक’ व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे नै परेको थियो । बिहानैदेखि सडक जाम हुँदा बनेपादेखि पनौतीसम्मको छ किलोमिटर सडकमा सवारी निषेधसमेत गरिएको थियो ।
काठमाडौँबाट पनौतीसँग जोडिएका अन्य वैकल्पिक सडकसमेत दिनभरजसो जाम नै थिए । मेला सुरुवातको हप्ता कोरोना सङ्क्रमणको जोखिमका कारण मकर-स्नान मात्र गर्न दिइएको थियो । त्यसयता कोरोना सङ्क्रमण मत्थर हुँदै जाँदा पनौती नगरपालिका- ६ र ७ को सङ्गमस्थल त्रिवेणीघाटमा भक्तजनको भीड लाग्दै गएको थियो ।
शनिबारसम्म करिब ५० लाख भक्तजनले मकर-स्नान तथा अवलोकन गरेको मकर मेला मूल व्यवस्थापन समितिले जनाएको छ । समितिका सचिवालय संयोजक ईन्द्रप्रसाद अधिकारीले एक महिनाको अवधिमा ५० लाख दर्शनार्थीले मेला अवधिभर पनौतीको अवलोकन, मठ-मन्दिरको दर्शन तथा स्नान गरेको जानकारी दिए ।
“कोभिडका कारण सुरुका दिन सुनसानजस्तै थियो, करिब १० दिनपछि दर्शनार्थीको घुइँचो लाग्दै गयो”, अधिकारीले भने । उनका अनुसार बिदाका दिन करिब दुई लाखसम्मले मेला अवलोकन गरेका थिए । त्रिवेणीघाटमा नुहाइ त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरीमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धार्मिक आस्था रहँदै आएको छ ।
राजा प्रताप मल्लले विसं १७२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्त रुपमा बहिरहेको मान्यता रहेको छ ।
भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरुपले सरस्वती मिसन नदी बगेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुयणमाता नदीलाई लीलावती र गुप्तरुपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्यमावती मानिँदै आएको छ ।
इन्देश्वर महादेवलगायत मन्दिरका कारण पनौती महत्वपूर्ण तीर्थस्थलका रुपमा मानिँदै आइएको छ । मेलामा काभ्रेपलाञ्चोकका अलावा राजधानीलगायत देशैभरबाट सहभागिता भएको नगरपालिकाले जनाएको छ । मेलामा नेपालका मात्र नभइ उत्तर भारत प्रयागबाट समेत तीर्थालु आएको नगरप्रमुख भीम न्यौपानले बताए ।
उनले भने, “भारतबाट समेत मेलामा सहभागिता जनाइएको छ, मेला सभ्य र भव्य बनाउन नगरपालिकाले विविध व्यवस्थापन गरेको थियो ।” अन्तिम दिन सार्वजनिक बिदाका दिनसमेत परेकाले ट्राफिक व्यवस्थापनमा निकै हम्मेहम्मे परेको उनले गुनासो गर्नुभयो । उनका अनुसार कोरोनाको जोखिम नभए ७० लाख भक्तजन तथा दर्शनार्थीले पनौतीको मेला अवलोकन गर्ने अनुमान गरिएको थियो । मेला व्यवस्थापनका लागि नगरपालिकाले रु आठ करोडभन्दा बढी खर्च गरेको थियो ।
नगरपालिकाले ट्राफिक व्यवस्थापन तथा पार्किङ, स्वयंसेवक, प्रदर्शनी, खानेपानी वितरण, स्नान-कुण्ड सरसफाइ एवं व्यवस्थापन, मन्दिर तथा मेलास्थलको सरसफाइ, झाँकी प्रदर्शनी, त्रिवेणीघाटलगायत ऐतिहासिक बजार क्षेत्र सजिसजाउ, प्राथमिक उपचार, खोज तथा उद्धार, सूचना केन्द्र सञ्चालनको काम गरेको थियो ।
हरेक बाह्रवर्षमा महिनाभर लाग्ने ‘मकर मेला’ सभ्य र भव्यरुपमा सञ्चालन गर्ने तयारीस्वरुप भौतिक पूर्वाधारका कामसमेत गरिएको थियो भने सँगसँगै मेला प्रवद्र्धनका कार्यक्रमसमेत भएका थिए । मेलालाई थप व्यवस्थित बनाउन नगरपालिकासँग जोडिएका सडक पूर्णरुपले सञ्चालनमा ल्याउन निर्माण एवं स्तरोन्नति गरिएका थिए ।
जिल्ला प्रशासन कार्यालयले गत पुस अन्तिम सातादेखि कोरोना सङ्क्रमण बढ्दै गएपछि मेला-महोत्सव स्थगन गरी स्वास्थ्य सुरक्षा-मापदण्ड अपनाएर २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा पनौतीस्थित त्रिवेणीघाटमा स्नान मात्रै गर्न दिएको थियो । मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो । पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटरको बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ ।
पनौतीका सबै प्रकारका विद्यालय एक महिनाका लागि बन्द गरिएको थियो । मेला अवधभिर मल्पी ड्यामबाट नियमित रुपले रोशी खोला तथा मल्पी-लीलावती बाँसडोल खोलामा स्वच्छ पानी बगाइएको थियो । यसका लागि खानी तथा खानीजन्य उत्खनन तथा पैठारी बन्द गरिएको थियो ।
मेला सम्पन्न गर्न गठित एक दर्जनभन्दा बढी उपभोक्ता समितिले त्रिवेणीघाट मात्र नभइ सिङ्गो पनौतीलाई ‘दुलही’झैँ सिँगारेका थिए । पनौतीभित्रका मठ-मन्दिर तथा पाटीमा रङरोगन तथा झल्लर-तोरणले झिलिमिली बनाइएको थियो । साथै पनौती प्रवेश गर्ने मुख्य नाकामा स्वागतद्वारसमेत निर्माण गरिएका थिए ।
मेलालाई थप व्यवस्थित गर्न श्रद्धालुलाई स्नानका लागि त्रिवेणीघाट वरिपरी बेलिब्रिज र मानेश्वरी बसपार्कदेखि त्रिवेणीघाटसम्म पुण्यमाता खोलाको दायाँबाँया पैदलमार्ग, विश्रामस्थललगायतका भौतिक संरचना निर्माण गरिएको थियो । नगरपालिकाले ढुङ्गेधारा मर्मत, थप धाराको व्यवस्था, फुटपाट मर्मत, ऐतिहासिक पाटीका जस्तापाता निकालेर झिँगटीले छाउने र रथको आवश्यक मर्मत गरेको थियो ।
पनौतीबाट चन्ले सबै प्रकारका सवारीसाधनमा ‘भिजिट मकर मेला-२०७८, पनौती’ लेखिएका स्टिकर तथा फ्लेक्स टाँगिएका थिए । नगरपालिकाको योजनाअनुसार त्रिवेणीघाटस्थित क्षेत्रमा रोशी खोलातर्फ सिँढी तथा रोशी खोलामा चार ड्याम तथा सोही क्षेत्रमा शौचालय मर्मत-सुधार, मानेश्वरी बसपार्क क्षेत्रमा शौचालय निर्माण तथा आवश्यकीय क्षेत्रमा अस्थायी शौचालय बनाइएको थियो । रासस