arrow

म्याग्दीको कुइनेमङ्गलेमा अझै पुगेन सञ्चार सुविधा

logo
रासस
प्रकाशित २०७८ फागुन ३ मंगलबार
Telecom-Tower-2.jpg
फाइल तस्वीर

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ कुइनेमङ्गलेमा सञ्चार सुविधा विस्तार नहुँदा स्थानीयवासीलाई सूचना आदान-प्रदान गर्न समस्या भएको छ । कुइनेमङ्गलेवासी आधुनिक सूचना प्रविधिको सुविधा उपभोग गर्नबाट वञ्चित भएका हुन् ।

चौरखानी, मङ्गलेखानी, घ्यासीखर्क, पात्लेखर्क, दुवाडी, डाढ, खरिबोट, याङ्लेका बासिन्दा मोबाइलमा कुरा गर्नका लागि डाँडा र रुख चढ्नुपर्ने बाध्यता रहेको चौरखानीको रघुगङ्गा आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रमान छन्त्यालले बताए ।

“डाँडामा पुगेपछि अलि-अलि टावरले टिप्छ, त्यो पनि आवाज राम्रो आउँदैन”, उनले भने, “चिच्याइचिच्याई बोल्नुपर्छ । अहिलेको आधुनिक जमनामा आधारभूतजस्तै भएको सञ्चार सुविधाबाट वञ्चित हुनुपर्ने दुःखलाग्दो अवस्था छ ।” 

घ्यासीखर्कका रमेश तुलाचनले गाउँ बाहिर रहेका परिवारका सदस्य, आफन्त र साथीभाइसँग मोबाइलमा कुराकानी गर्न मोबाइलको टावरले टिप्ने चिमखोलाको गौडामुनी पुग्न एक घण्टा हिँड्नुपर्ने बताए । महत्त्वपूर्ण सूचना आदान-प्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै कोही रुखमा पनि चढ्ने गरेका छन् ।

अग्ला रुख र डाँडामा अलिअलि मात्र टावरले टिप्छ । सबैको हात-हातमा मोबाइल भए पनि त्यो गीत सुन्न, भिडियो हेर्न, तस्बिर, भिडियो खिच्नका लागि मात्र सीमित छ ।

पाखापानीको कमनाथमा नेपाल टेलिकमको बिटिएस टावर छ । कुइनेमङ्गलेको छिमेकी वडा चिमखोला गाउँमा पनि मोबाइल फोन सेवा सहज छैन । सबै ठाउँमा मोबाइलको टावरले भनेको समयमा टिप्दैन । विभिन्न बस्तीमा २५० भन्दा बढी घरधुरी रहेको कुइनेमङ्गलेमा निर्माणाधीन मङ्गले राहुघाट र ठूलोखोला जलविद्युत् आयोजनाका मजदुर, कर्मचारी र प्राविधिकलाई पनि सञ्चार असुविधाले समस्या बनाएको छ । 

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले मोबाइल सेवा विस्तारका लागि वर्षौँदेखि नेपाल टेलिकममा ताकेता गरिए पनि ढिलाइ गरेका बताए । कुइनेमङ्गले र चिमखोलामा मोबाइल सेवा विस्तारका लागि गाउँपालिकाले तीन वर्षअघि रु तीन लाख खर्च गरेर चिमखोलाको डाँडामा गार्डघर बनाइदिएको थियो । 

सञ्चार असुविधाका कारण सेवा प्रवाह र सूचना आदान–प्रदानमा धेरै दुःख भएको छ । एक मिनेट फोनमा कुरा गरे हुनेमा घण्टौँ हिँडेर सम्बन्धित व्यक्तिसँग भेट्नुपर्ने बाध्यता कायमै छ । सूचना प्रवाह गराउन अझै टोल-टोलमा परम्परागत कटुवाल प्रथाको सहारा लिनुपरेको कुइनेमङ्गलेका वडाध्यक्ष गमान छन्त्यालले बताए ।  

नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले भौगोलिक विकटता, विद्युत् अभाव र सामाजिक समस्याले ढिलाइ भएको सो टावर आगामी बर्खाअघि नै सञ्चालन गरिने बताए । चिमखोलाबाट टावर रहने ठाउँसम्म विद्युत् पुर्‍याउन नेपाल विद्युत् प्राधिकरणलाई रु १६ लाख बजेट उपलब्ध गराइसकेको उनले बताए । 

“कोरोनाको महामारीका कारण विदेशबाट उपकरण ल्याउन ढिलाइ गरेका ठेकेदारलाई पूर्वाधार बनाउन पठाउँदा स्थानीयवासीले आफैँ काम गर्छौँ भनेर फर्काए तर गरेनन्”, उनले भने “उपकरण आइसकेको छ । विद्युत् पुग्यो भने टावर सञ्चालन हुन्छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ