arrow

एसपीको जिल्ला आगमनसँगै फरार अभियुक्त धमाधम पक्राउ

logo
रवीन्द्र यादव,
प्रकाशित २०७८ फागुन ९ सोमबार
nawalparasi-police.JPG

नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा विभिन्न मुद्दामा फरार रहेका २० जना अभियुक्तलाई आइतबार प्रहरीले एकै दिन पक्राउ गरेको छ । जिल्ला अदालतबाट २०५१ सालदेखि २०७२ सालसम्मका विभिन्न मितिमा फैसला भई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्लाको पाल्हिनन्दन गाउँपालिका अन्तर्गतको एरियाबाट कुटपिट मुद्दाका १३ जना फरार अभियुक्तलाई इलाका प्रहरी कार्यालय अमानीगंजले पक्राउ गरेको हो ।यसै गरी सरावल गाउँपालिका अन्तर्गतको एरियाबाट कुटपिट मुद्दामा ४ जना,कुटपिट अङ्गभङ्ग मुद्दामा २ जना र लागु औषध गाँजा चरेस मुद्दामा १ जनालाई प्रहरी चौकी भुजहवाले पक्राउ गरेको हो ।

१९ हजार २ सय ८० रुपैयाँ जरिवाना रहेको २० जना फरार अभियुक्तहरूलाई आवश्यक कार्यवाहीको लागि जिल्ला अदालतमा पेस गरिएको  र अदालतबाट लगत अनुसारको कार्यवाही अगाडि बढिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट मङ्सिर २८ गतेदेखि हालसम्म विभिन्न मुद्दाका १४२ जना फरार अभियुक्त जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कार्यवाहीको लागि जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रेम बहादुर शाहीले बताए ।

 प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार यादव असार २८ गते आएदेखि जिल्ला मातहतका इलाका प्रहरी कार्यालय , प्रहरी चौकी , अस्थायी पोष्ट र बिटहरूलाई कडा निर्देशन अनुसार भन्सार छली अवैध सरसामान ओसारपसार नियन्त्रण , चोरी तस्करीबाट राजस्व चुहावट नियन्त्रण , अदालतबाट फरार अभियुक्तहरूलाई पक्राउ गर्न कडा निर्देशन दिएको प्रहरी स्रोतको भनाइ छ । अहिले यादवको कडा निर्देशन अनुसार फरार अभियुक्त धमाधम पक्राउ हुन थालेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ