arrow

म्याग्दीमा रावणको मूर्ति बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ९ सोमबार
ravana-lanka.png

म्याग्दी। धार्मिक पर्यटक आकर्षित गर्न म्याग्दीको पौराणिकस्थल पछैमा २० फिट अग्लो रावणको मूर्ति स्थापना गर्न लागिएको छ । बेनी नगरपालिका–५ स्थित पछैमा निर्माण हुन लागेको रावणपार्कमा आकर्षक मूर्ति राख्न लागिएको हो । नगरपालिकाका इञ्जिनीयर बिमलरञ्जन कार्कीले दश वटा टाउको भएको २० फिट अग्लो रावणको मूर्ति राख्न लागिएको जानकारी दिए । 

“चार हजार किलो तौल भएको मूर्तिको बाहिरी भाग पित्तलले लेपन गरिएको हुनेछ,” उनले भने “कालिगढले मूर्तिको आकार तयार पारिसकेका छन् । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजारको शिरमा धेरै टाढाबाट देख्नसक्ने गरी ठूलो आकारको मूर्ति राख्न लागिएको हो । ”

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिकाले सुरु गरेको रावणपार्क निर्माणको काम धमाधम भइरहेको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए । “परिकल्पना भएको एक दशकपछि यो योजना कार्यान्वयन भएको हो,” उनले भने “काठमाडाँैमा मूर्ति तयार हुदैछ । पछैमा मूर्ति राख्ने ठाउँ र पार्कको संरचना बनाउने काम भइरहेको छ ।”

रावणपार्क बनाउन काठमाडौँको धर्मा एस कास्यप जेभीले गत भदौमा रु एक करोड ७६ लाख ७७ हजार ५६३ मा ठेक्का सम्झौता गरेको थियो । पहिलो चरणमा रावणको मूर्ति, बगैँचा, विश्रामस्थललगायत पूर्वाधार तयार पार्न लागिएको उनको भनाइ थियो । 

विसं २०७९ पुस महिनासम्ममा पार्क निर्माण गर्ने लक्ष्य राखिएको छ । चौध रोपनी क्षेत्रफलमा फैलिएको पुलह पुलत्स्य क्षेत्रको चार रोपनीमा रावणपार्क बनाउन लागिएको हो । हालको मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडेको ठाउँलाई यथावत् राखेर पूर्वाधार बनाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकालले बताए । रावणपार्क नगरपालिकाको गौरवको आयोजना हो । 

हिन्दू धर्मग्रन्थ रामायणको पाँचौँ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको रामायणमा उल्लेख छ । विसं २०६६ मा म्याग्दी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष प्रमोदकुमार श्रेष्ठलगायतले धार्मिक पर्यटकलाई लक्ष गरेर बेनीमा रावणपार्क बनाउने योजनाको परिकल्पना गर्नुभएको थियो । 

पछैमा पौराणिक महत्व झल्कने किसिमको रावणको आकर्षक मूर्ति राख्ने, बगैँचा निर्माण, नाभी गाडेकोलगायत ठाउँको संरक्षणका लागि पूर्वाधार निर्माण र २०० मिटर बाटो कालोपत्र गर्ने योजना छ । विसं २०७४ देखिनै बजेट विनियोजन गरे पनि ठाउँको विवाद र स्रोतको अभावमा रावण पार्कको योजना कार्यान्वयन हुनसकेको थिएन् । मुक्तिनाथ प्रवेशद्वार गलेश्वर, पुलाचौरको पछै, जगन्नाथ र टोड्के क्षेत्रलाई समेटेर धार्मिक कोरिडोर बनाउने योजना पनि अघि सारिएको छ । 

समुद्री सतहदेखि दुई हजार मिटरको उचाइमा अवस्थित पछैबाट धौलागिरि, अन्नपूर्ण, निलगिरि हिमशृङ्खलाका साथै सूर्योदय, बेनी बजारलगायत म्याग्दी, पर्वत र बागलुङको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । बेनी बजारदेखि गाडीमा ३० मिनेट यात्रा गरेपछि पछै पुग्न सकिन्छ । बेनीदेखि अर्थुङ्गेसम्मको सडक कालोपत्र भइसकेको छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ