- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एमसीसीबारे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दोहोरो भूमिका खेलेको नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले टिप्पणी गरेका छन् ।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै गौतमले प्रचण्ड र माधव नेपालका पार्टीले अब सरकारमा बस्ने नैतिक अधिकार गुमाइसकेको बताए। उनले भने,‘उहाँहरूले अब सरकारमा बस्ने नैतिक अधिकार गुमाई सक्नुभएको छ । यो गठबन्धनमा रहने कुरा पनि गुमाउनुभएको छ।’ उनले भने,‘उहाँहरू सरकारमा पनि हुनुहुन्छ। क्याबिनेटमा झण्डा पनि हल्लाउनु भएको छ । अर्कोतिर सडकमा मुर्दावाद पनि भन्दै हुनुहुन्छ । यो भूमिका राम्रो होइन ।’
उनले एमसीसी सम्झौता हुँदासम्म माधव नेपाल, झलनाथ, प्रचण्ड प्रधानमन्त्री हुँदा पनि सम्झौताको प्रक्रिया अघि बढेको सुनाए । उनले भने,‘त्यसो हो भने उहाँहरू सबै राष्ट्रघाती हुन नि त । हिजो एमसीसी टेबुल भयो । एमसीसीको कारण मत विभाजन भएको छ। हामी पनि चिन्ता गरिरहेका छौं। राजनीतिक दलहरूले स्पष्ट बोल्नुपर्छ । एमालेले पनि स्पष्ट बोल्नुपर्ने हो । प्रचण्डजीको माओवादी केन्द्र पनि स्पष्ट रूपमा बोल्नुपर्ने हो । नेकपा एकीकृत समाजवादीले पनि स्पष्ट बोल्नुपर्ने हो । तर, यहाँ द्धेद्ध चरित्र देखियो । मुलुकले निकास पाउनको लागि राम्रो तवरले जानुपर्छ । सदनमा एमसीसीबारे छलफल हुन्छ । यो सदनको कुरा हो । पास हुन्छ कि फेल हुन्छ, त्यो अब सदनमा थाहा हुन्छ । तर, हामीलाई विश्वास छ–यो पास हुन्छ ।’
उनले अमेरिकालाई नेपालमा आउन एमसीसी नचाहिने पनि टिप्पणी गरे । उनले भने,‘एमसीसी पास गराउने कुरामा एमालेसँग हामी विश्वस्त छौं । उ सकारात्मक रूपमा आउँछ । एमसीसी पास गर्छ । एमसीसी पास गर्ने कुरा यो त कलङ्कको टिका होइन, यो समृद्धिको रातो टिका हो ।’
नेता गौतमले एमसीसी धेरै गिजोलिएको गुनासो पोखे । उनले भने,‘साथीहरूले एमसीसीलाई धेरै गिजोलिदिनुभयो । एमसीसीको अन्तर्वस्तुबारे जनतालाई स्पष्ट पार्नुपर्दथ्यो । एमसीसी त नेपालको हितमा छ । यसले नेपाललाई भलो गर्छ । पूर्वाधार विकास र प्रसारण लाइनको विकास हुन्छ । एमसीसीको कन्सेप्ट २००४ मा आयो। नेपालले सन् २०१७ मा सम्झौता गरेको छ । यो त नेपाल सरकारले मागेको हो । अमेरिकाले थोपरेको कुरा होइन । यो ऋण पनि होइन । यो अनुदान नेपालले मागेको हो । माधव नेपालको पालामा सुरु भएको हो । यसलाई अघि बढाउनको लागि माधव नेपालले पनि काम गर्नुभएको छ। त्यसपछि झलनाथले काम गर्नुभएको छ । भरतमोहनजी अर्थमन्त्री हुँदा एमसीसीको लागि कुरा गर्न जानुभएको छ। बाबुरामको पालामा थ्रेस होल्ड एक्सेप्ट भयो । खिलराज, प्रचण्ड, सुशील, केपी ओली सबैले काम गर्नुभयो । टोटल व्युरोक्रेसी संलग्न छ । प्रशासनिक संयन्त्र संलग्न भएका छन् । सन् २०१७ मा कांग्रेसका नेतृत्वमा सम्झौता भयो ।’
गौतमले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एमसीसी प्रस्ताव संसद्मा लैजाँदै गर्दा पनि कांग्रेस यसको पक्षमा उभिएको स्मरण गराए । उनले भने,‘हामी द्धेद्ध मनस्थितिमा छैनौँ। नेपाललाई अन्तर्राष्ट्रिय शक्तिको क्रिडास्थल बनाउन खोजियो । नेपालका कम्युनिस्ट पार्टीको भूमिका देखेर दुःखी छौं।’
उनले अहिलेको पाँच दलीय गठबन्धन आवश्यकताले बनेको पनि उल्लेख गरे । उनले भने,‘हामी प्रतिपक्षीमा हुँदा पनि रचनात्मक भूमिका खेल्यौँ। कम्युनिस्ट सरकारलाई सफल भएको हेर्न चाहेका थियौँ । दुई तिहाइ बहुमतको सरकार त बन्यो नि भनेर खुसी थियौँ । ओली सरकार अधिनायक बाटोमा जान थाल्यो, संवैधानिक प्रावधान कुल्चिन थाल्यो । ओलीले आफ्नो घर नै बचाउन सक्नुभएन । प्रचण्ड, माधव नेपालले सबै मिलेर देउवालाई प्रधानमन्त्री बनिदिनुहोस् भनेर आग्रह गर्नुभएको थियो । हाम्रो सभापति देउवाजी प्रधानमन्त्री बन्न लालायित हुनुहुन्थेन ।’