एमाले अहिले संसदीय प्रक्रियामा सहभागी हुने अवस्था छैन : शंकर पोखरेल
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
443
Shares
फाइल तस्बिर
काठमाडौं। एमाले महासचिव शंकर पोखरेलले यथास्थितिमा एमाले संसदीय प्रक्रियामा सहभागी हुने अवस्था नरहेको बताएका छन्। आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न शुक्रबार निर्वाचन आयोग पुगेका महासचिव पोखरेलले आफूहरुको माग सम्बोधन नभएसम्म संसदीय प्रक्रियामा एमाले सहभागी नहुने बताएका हुन्।
आफूहरु संसदीय प्रक्रियामा सहभागी हुने वातावरण बनेपछि मात्र एमसीसीसहितका विषयमा धारणा बनाउन उनको भनाइ छ।
सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारी निर्वाहमा दोहोरो भूमिका निभाएको भन्दै उनले सभामुखले गल्ती सच्याउनु पर्ने वा राजीनामा दिएर माग प्रशस्त नगरेसम्म एमाले संसदीय प्रक्रियामा सहभागी नहुने बताएका हुन्।
‘एमाले विभाजन गर्नेगरी सभामुखले पदीय जिम्मेवारी निर्वाह गर्नेक्रममा दोहोरो भूमिका निभाउनुभयो,’ महासचिव पोखरेलले भने, ‘सभामुखले गल्ती सच्याउनुपर्यो वा मार्गप्रशस्त गर्नुपर्यो। अनि मात्र एमाले संसदीय प्रक्रिया सहभागी हुन्छ।’
सभामुखबाट निकास ननिस्किए सत्तारुढ गठबन्धन वा सरकारले आफूहरुको माग पूरा गर्नुपर्ने महासचिव पोखरेलको माग छ।