योगेश भट्टराई भन्छन् –एमालेले एमसीसीबारे आफ्नो धारणा सदनभित्रै राख्छ
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १४ शनिबार
494
Shares
तस्बिर– फाइल
उदयपुर । नेकपा एमालेका सचिव तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले एमसीसीबारे एमालेले औपचारिक धारणा संसदभित्र राख्ने बताएका छन् । जिल्ला सदरमुकाम गाईघाट बजारमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘पहिला संसद् सामान्य रूपमा सञ्चालन हुने वातावरण सरकारले बनाउनुपर्छ तब मात्रै एमालेले आफ्नो औपचारिक धारणा सदनमा राख्छ ।’
एमालेले एमसीसीको विषयमा सहयोग गर्नुपर्ने भए पहिला आफूहरूले सदन चल्नका लागि माग गरेका विषयलाई सरकारले सम्बोधनसहित संसद् सञ्चालन हुने वातावरण बनाउनुपर्ने र त्यसपछि मात्रै एमालेले आफ्नो धारणा स्पष्ट राख्ने भट्टराईले बताए ।
बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकिए पनि सरकारले निर्वाचन तयारीका लागि कुनै काम शुरु नगरेका कारण समयमा निर्वाचन सम्पन्न नहुने आशङ्का रहेका कारण एमालेले यसमा खबरदारी गरिरहेको धारणासमेत उनले राखे ।
उक्त कार्यक्रममा एमाले पोलिब्यूरो सदस्य तथा पूर्व सहरी विकास राज्यमन्त्री मन्जुकुमारी चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा र जिल्ला पार्टी अध्यक्ष परमेश्वर घिमिरेको उपस्थिति थियो ।