arrow

गोरखामा छुट्टै जिल्ला बनाउन राजनीतिक कसरत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १६ सोमबार
Gorkha new district.jpg

गोरखा । उत्तरी गोरखामा क्रियाशील राजनीतिक दलले गोरखाको उत्तरी क्षेत्रका धार्चे र चुमनुब्री गाउँपालिकालाई छुट्टै जिल्ला बनाउन पहल गर्ने औपचारिक निर्णय गरेका छन् । 

धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकामा क्रियाशील नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माछाखोलामा सम्पन्न संयुक्त बैठकले यी दुई गाउँपालिकालाई समेटेर अलग्गै जिल्ला बनाउन पहल गर्न समन्वय समितिसमेत गठन गरेका छन् ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उत्तरी गोरखालाई अलग्गै जिल्ला बनाउनु पर्छ भनेर आवाज उठाएपछि यो अभियानले गति लिएको हो ।

छुट्टै जिल्लाका लागि चरणवद्ध पहल गर्न जसपा धार्चेका अध्यक्ष विशु गुरुङ संयोजक र नेपाली कांग्रेस चुमनुब्री गाउँ समितिका सभापति सूर्य गुरुङ सहसंयोजक रहेको १५ सदस्यीय सर्वदलीय समिति गठन गरिएको छ ।

भौगोलिक रुपमा बिकट रहेको उत्तरी क्षेत्रको समानुपातिक विकास हुन नसकेको भन्दै उत्तरी गोरखाका बासिन्दाले छुट्टै जिल्लाको माग गरिरहेका बेला सम्पन्न सर्वदलीय बैठकले अलग्गै जिल्लाका लागि चरणवद्ध अभियान सञ्चालन गर्ने निर्णय गरेको अभियन्ता गणेश कार्कीले जानकारी दिए ।

अभियान्ता कार्कीका अनुसार धार्चे र चुमनुब्री गाउँपालिकामा एउटा पनि स्वीकृत माध्यमिक तहको विद्यालय र अस्पताल छैन । दुर्गममा रहेकाले सरकारको नजर नपरेको र कर्मचारीहरु सदरमुकाम छाड्न नमानेका कारण समस्या भएको उनले बताए ।

उनले भने, ‘के पञ्चायतकाल, के प्रजातन्त्र, के गणतन्त्र । यहाँका जनताले सरकारको प्रत्याभूति पाएकै छैनन् । त्यसैले जिल्ला नै छुट्टै भयो भने त कम्तिमा कर्मचारी त बस्छन् । प्रतिनिधिसभा, प्रदेश सभामा प्रतिनिधित्व गर्ने स्थानीय जनप्रतिनिधि भयो भने यहाँको समस्याको संवोधन हुन्छ कि भन्ने आशाले छुट्टै जिल्ला माग गरिएको हो ।’ 

छुट्टै जिल्ला दावी गर्नका लागि तर्कसंगत आधार र कारणहरु पर्याप्त रहेको उनले स्पष्ट पारे । गोरखा जिल्लाको क्षेत्रफल ३६ सय १० वर्गकिलोमिटरमध्ये चुमनुब्री र धार्चेको मात्रै २२ सय वर्गकिलोमिटर अर्थात ६० प्रतिशत क्षेत्रफल छ’, उनले भने, ‘जनसंख्या हिसाब गर्ने हो भने मनाङ जिल्लाको ६५ सय छ । हाम्रो दुई गाउँपालिकाको जनसंख्या २१,३५२ छ । त्यसैले धार्चे र चुमनुब्रीको विकासका लागि छुट्टै जिल्ला बनाउनु जरुरी छ ।’

धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङका अनुसार यहाँका जनप्रतिनिधि सदन र सत्तासम्म नपुगेसम्म यस क्षेत्रको विकास नहुने बताए । 

दुर्गम क्षेत्र समेटिएको उत्तरी गोरखाको समानुपातिक विकासका लागि छुट्टै जिल्ला बनाउनु पर्ने बारे २०३३ सालदेखि आवाज उठेको थियो । तत्कालीन जनप्रतिनिधिले सदनमा यहाँको आवाज नपुर्याएकाले धोका पाइएको अभियन्ता गणेश कार्कीले गुनासो गरे । 

कृष्णबहादुर कार्की प्रधानपञ्च हुँदा सबै सामाजिक अगुवाहरुको हस्ताक्षर संकलन गरी छुट्टै जिल्ला बनाउनु पर्ने बारेमा राजा वीरेन्द्रसँग माग गरेका थिए । तर यहाँबाट प्रतिनिधित्व गर्ने सांसदले समर्थन नगरेपछि तुहिएको थियो । 

चुमनुब्रीको साम्दो, सामागाउँ, छेकम्पार लगायतका गाउँबाट सरकारी सेवा लिनका लागि हालको सदरमुकाम पुग्न सात दिनसम्म पैदल हिड्नु पर्ने बाध्यात्मक अवस्था भएकाले सरकारको सहज सेवाको पहुँच पु¥याउन अलग्गै जिल्ला बनाउनु जरुरी रहेको अभियान्ता सुनार गुरुङले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ